काठमाडौं–नेपाल र इजरायलबीच बिहीबार ‘इम्प्लिमेन्टेशन प्रोटोकल’ मा हस्ताक्षर भएको छ।
प्रोटोकलमा बिहीबार नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायली राजदूत हनान गोडेरले हस्ताक्षर गरेका हुन्।
नेपाल र इजरायलबीच गत असोजमा इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदार लैजानेसम्बन्धी भएको सम्झौता कार्यान्वयनका लागि इम्प्लिमेन्टेशन प्रोटोकलमा हस्ताक्षर भएको हो। प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालीका लागि इजरायल रोजगारीको बाटो खुल्ला भएको छ। जसअनुसार केयरगिभर कामका लागि ५०० नेपाली युवा रोजगारीका लागि इजरायल जानेछन्। यसले केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्नेछ। नेपाली युवाले इजरायली श्रम कानुनअनुसार सेवा सुविधा पाउनेछन्।
इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन। दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली इजरायल जानेछन्। यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्नेछन्। वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रुपमा लिइन्छ। आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।