काठमाडौं- पश्चिम सेती जलविद्युत आयोजनाको तल्लो तटीय (कासकेड) आयोजनाका रुपमा अगाडि बढाउने भनिएको सेती रिभर–६ (एसआर–६) आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम अन्तिम चरणमा पुगेको छ।
विद्युत विकास विभागकाअनुसार एसआर-६ आयोजनाको उत्पादन क्षमता (इन्स्टल्ड क्यापासिटी) ३०८ मेगावाट रहने र साढे ५ सय मिटरसम्म अग्लो बाँध निर्माण गर्नुपर्ने गरी सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लागिएको छ।
विभागका सिनियर डिभिजनल इन्जिनियर गोपी साहका अनुसार आयोजनाको भौगोलिक अध्ययन, इन्टेरियल डिजाइन, ड्रिलिङ, लेआउटलगायतका काम सकिसकेको र वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ।
‘अब चार–पाँच महिनाभित्रमा सबै काम सकिएर अन्तिम प्रतिवेदन नै तयार पारिसक्छौं,’ साहले भने, ‘समयमा काम सम्पन्न हुन नसक्नुमा कोभिडका कारण त एउटा छँदै थियो। ड्रिलिङका क्रममा दुई–तीन वटा दुर्घटना भए। जसकारण पर धकेलियो।’
एसआर-६ को सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनको काम सक्न विद्युत विकास विभागलाई २०७६ असोज सम्मको समयसीमा दिइएको थियो। तर लक्षित समयमा काम नसकेपछि विभागले थप ७ महिना मागेर २०७७ बैसाखभित्रमा प्रतिवेदन बुझाउने भनेको थियो।
अधिकांश स्थलगत काम भएकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि चैत ११ पछिको लकडाउनदेखि मंसिरसम्मै आयोजनामा काम हुन नपाएको विभागले जनाएको छ।
सरकारले २०७५ चैतमा आयोजना गरेको लगानी सम्मेलनका क्रममा पश्चित सेती जलविद्युत आयोजनासँग एसआर–६ जोडेर सोकेसमा राखिएको थियो। पश्चिम सेतीका तुलनामा एसआर–६ निकै कम मात्र अध्ययन भएको आयोजना हो।
लगानी बोर्डको कार्यालयले लगानी सम्मेलनका क्रममा तयार पारेको प्रोजेक्ट बैंकसम्बन्धी विवरणअनुसार एसआर–६ जलविद्युत आयोजना आजभन्दा २७ वर्ष अगाडि जापान सहयोग नियोग (जाइका)ले सामान्य अध्ययन गरेको थियो।
जाइकाले सन् १९९३ मा गरेको मास्टरप्लान स्टडी गरेपछि यो आयोजना पहिचान हो। जाइकाको अध्ययनअनुसार यो आयोजनाबाट ६०३ मेगावाट देखि ६६९ मेगावाटसम्म विद्युत उत्पादन गर्ने सकिने सम्भावना देखिएको थियो। तर विद्युत विभागले अहिले गरिरहेको सम्भाव्यता अध्ययन अनुसार आयोजनाको उत्पादन क्षमता ३०८ मेगावाट रहने देखिएको छ।
त्यस्तै जाइकाको अध्ययनअनुसार आयोजना बनाउँदा अछाम र डोटी जिल्लाका विभिन्न स्थान डुबान पर्ने देखिएको थियो। सिनियर डिभिजनल इन्जिनियर साहका अनुसार यो आयोजनाका लागि साढे ५ सय मिटर अग्लो पर्खाल बनाएर जलाशय बनाउन सकिने देखिएको छ। जाइकाले तयार पारेको अध्ययन १ सय २० मिटर भन्दा कम हो।
‘जलाशयको बाँध अग्लो बनाउँदा अछामको साँफेबगर र डोटीको दिपायल ढुबानमा पर्ने देखिएपछि जाइकाले तय गरेको भन्दा १ सय मिटर बाँध घटाइएको छ। जसले गर्दा यी दुवै स्थान डुबानमा पर्दैन,’ साहले भने।
विभागले मानवबस्ती कम डुबानमा पर्ने र जग्गा अधिग्रहण तथा मुआब्जा प्रकृया झन्झटिलो नहोस् भन्नका लागि बाँध र उत्पादन दुवै घट्ने गरी सम्भाव्यता अध्ययन गरेको हो।
एसआर–६ आयोजना कर्णाली चिसापानीभन्दा माथि र पश्चिम सेती जलविद्युत परियोजनाभन्दा तल पर्ने जलाशययुक्त आयोजना हो। धनगढी विमानस्थलभन्दा १ सय ८० किलोमिटर टाढा र दिपायल बजारबाट पनि सोही दुरीमा आयोजना बन्ने भनिएको छ।
आयोजना निर्माण गर्ने भनिएको ठाउँसम्म सडक पूर्वाधार बनेको छैन। उक्त आयोजनाको विद्युत गृहबाट राष्ट्रिय प्रशारणलाइन ३० किलोमिटर टाढा छ। यो आयोजना बनाउँदा त्यसलाई प्रशारणलाई निर्माण कसले गर्ने भन्ने विषयमा भने लगानी बोर्डले कुनै निर्णय गरिसकेको छैन।
सार्वजनिक–नीजि साझेदारीमा बनाउने भनिएको आयोजनामा सरकारले जग्गा अधिग्रहण, मुआब्जा वितरण तथा आयोजनाको सुरक्षा सरकारले गर्ने कुरा उल्लेख गरेको छ।
त्यसैगरी नीजि क्षेत्रले आयोजनाको योजना, अध्ययन, लगानी, निर्माण र सञ्चालनको जिम्मा लिनुपर्ने उल्लेख छ। सन १९९३ मा जाइकाले गरेको अध्ययनअनुसार यो आयोजनाका लागि १ अर्ब १७ करोड ५० लाख अमेरिकी डलर अर्थात १ खर्ब ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।