काठमाडौं- फलामे डन्डीजन्य सामग्रीको मूल्यवृद्धि र नदीजन्य सामग्रीको अभावमा विकास निर्माणको काम प्रभावित हुन थालेको छ। सरकारले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराएको र डन्डी उद्योगीहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि गरेकाले आयोजनाको काम प्रभावित भएको हो।
निर्माण सामग्रीहरु डन्डी, सिमेन्ट, गिटी र बालुवा लगायतको मूल्य बढ्दा त्यसको असर विकासे आयोजनामा परेको हो। निर्माणका लागि प्रयोग हुने अधिकांश सामग्रीको मूल्य बढ्दा आयोजना लागत बढेको छ भने काम पनि सुस्त हुन थालेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार देशभर निर्माणाधीन अधिकांश आयोजनामा काम रोकिएको छ। खर्बौंका ५/६ हजार साना/ठूला आयोजनामा मूल्यवृद्धि र नदीजन्य सामग्रीको अभावले प्रभाव पारेका उनको भनाइ छ।
‘गिटी, बालुवाको अभाव त छँदै थियो। अहिले डन्डी तथा सिमेन्टको मूलय बढ्दा आयोजनाको लागत बढ्ने देखिएकाले निर्माण व्यवसायीहरु पर्ख र हेरको अवस्थामा छन्,’ सिंहले भने। राष्ट्र बैंकको मूल्यवृद्धि सूचक हेरेर निर्णय गर्ने अवस्थामा रहेको सिंहले बताए। ‘राष्ट्र बैंकको मूल्यवृद्धि सूचक ६/७ प्रतिशतसम्म होला,’ उनले भने, ‘निर्माण सामग्रीको मूल्य ४० प्रतिशतसम्म बढेको छ। अनि कसरी काम गर्न सकिन्छ?’
बहुवर्षीय आयोजनाले त मूल्यवृद्धि अनुसार समायोजन गर्न पाउने भएपनि एक वर्ष अवधि भएको आयोजनाले त्यो पनि नपाउने अवस्था रहेको उनको भनाइ छ।
क्रसर अवैध भनेर बन्द गर्दा सीमित क्रसर मात्र चलेकाले गिटी बालुवा महँगो भएको छ। अर्को तर्फ बन्द भएका क्रसर उद्योगले प्रशासनसँगको मिलेमतोमा उत्पादन गर्दा त्यसको पनि लागत बढेको सिंहले बताए।
गिटी-बालुवामा २०/२५ प्रतिशत र ग्याबियन वायरमा पनि ३५/४० प्रतिशतसम्म मूल्य बढेको निर्माण व्यवसायीहरूको भनाइ छ।
‘एक वर्षभन्दा कममा सक्नुपर्ने काम लाई समस्या पर्यो। १२ महिनामा सक्नुपर्ने काममा मूल्यवृद्धि पाउँदैन। यस्तो अवस्थामा कि गुणस्तरमा सम्झौता गर्नुपर्यो या त काम छोड्नु पर्यो,’ उनले भने, ‘यस्तोमा सरकारले उचित रुपमा समस्याको सम्बोधन गर्नुपर्यो।’
महालेखा परीक्षक कार्यालयका अनुसार चालु आर्थिक वर्ष ६ महिनामा १४ प्रतिशत विकास खर्च भएको छ। अहिले निर्माण कामको मुख्य समय हो यस्तोमा निर्माणको काम नदीजन्य र रडको मूल्य बढ्दा समस्या भएको सिंहको दाबी छ।
उद्योग संरक्षणका नाममा सरकारले डन्डी उद्योगको एकाधिकार राक्नु पर्ने उनको जिकिर छ। डन्डीको भन्सार दरबन्दी ३० प्रतिशत छ र डन्डी बनाउन प्रयोग हुने ब्लेडमा ५ प्रतिशत भन्सार लगाएको छ। यस्तोमा सरकारले नियन्त्रण गर्नलाई तयारी डन्डीको भन्सार १५ प्रतिशत कायम गर्दा मूल्यको अनावश्यक वृद्धि रोकिन सक्ने उनले बताए।
गृह मन्त्रालयले अवैध खानी र क्रसर उद्योग सञ्चालन बन्द गर्ने भन्दै सर्कुलर जारी गरेको छ। यसले गर्दा ७७ वटै जिल्ला प्रशासन कार्यालयले क्रसर उद्योग बन्द गराएका हुन्। एक साथ क्रसर उद्योगहरू बन्द गरिएका कारण गिटी र बालुवाको मूल्यसमेत बढेको हो।
पूर्वाधारका ठूला आयोजनाहरु हाइड्रोपावर, विमानस्थल, सडक, सुरुङमार्ग र खानेपानीदेखि भवन, पुलसम्मका निर्माण प्रभावित भएका छन्। देशभरमा निर्माणाधीन करिब ६ हजार आयोजनामध्ये १५ सय सडक पुल, हजारभन्दा बढी भवन, बाँकी हाइड्रो, सडकलगायतका आयोजना छन्।
निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण एक तिहाइ आयोजनाहरु प्रत्यक्ष रुपमा प्रभावित भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। ‘निर्माण सामग्रीमा हुने मूल्यवृद्धिको प्रभाव निर्माणाधीन आयोजनाहरुमा पर्छ,’ उनले भने, ‘कुन आयोजनाको कति प्रभाव भन्ने यकिन नभएपनि १ तिहाइ आयोजनाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।’ तथापि मूल्यवृद्धि र सामग्री अभावको प्रत्यक्ष वा परोक्ष प्रभाव सबै आयोजनामा पर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।