काठमाडौं- धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ। नेपाल विद्युत प्राधिकरणले सरकारको लगानीमा संचालित ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०/१३२ केभी र ३ सय १५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरेको हो।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३ सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिए।
अहिले ढल्केबर सबस्टेसनमा २२०/१३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन्। जसको क्षमता ३ सय २० एमभीए छ। क्षमता वृद्धिपछि अब सबस्टेसनको क्षमता ६ सय ३५ एमभीए पुगेको छ। ग्रिड सबस्टेसन क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३ सय १५ एमभीएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्च गरिएको हो। बाँकी एउटा ट्रान्सफर्मरको भने अहिले जडान भइरहेको छ।
‘३ सय १५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब एक सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत माग धान्न आपूर्ति गर्न सकिन्छ,’ शाक्यले भने। ‘त्यस्तै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिक रुपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ।’
केही महिनाअघि संचालनमा आएको ४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३ सय १५ एमभीए क्षमताका तीनवटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्। जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्ने क्षमता राख्दछ।
प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठकाअनुसार अब आवश्यक परेमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप करिब एक सय मेगावाट विद्युत् आयात गर्न सकिनेछ। ‘अहिले हाम्रो संरचनाले नधान्ने हुँदा त्यहाँबाट करिब २ सय ७० देखि २ सय ८० मेगावाट विद्युत् आयात भइरहेको थियो,’ श्रेष्ठले भने‚ ‘भारतीय पक्षले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत थप एक सय मेगावाट विद्युत् दिन सकिने बताएको छ। अब ३ सय १५ एमभीएको ट्रान्सफर्मर चार्ज भएकाले आवश्यक परेमा थप विद्युत् ल्याउन सकिन्छ।’
प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभिभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत् जुलाईदेखि नोभेम्बरमा २ सय ५० मेगावाट, डिसेम्बरदेखि अप्रिलमा ३ सय ५० मेगावाटसम्म र मे देखि जुनमा २ सय मेगावाटसम्म विद्युत खरिद–बिक्री (पिपिए) सम्झौता भएको छ। पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ।
ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४ सय केभी क्षमतामा चार्ज भइसकेको छ। नेपालभित्र विद्युत् प्रवाहका लागि ४ सय केभी र २ सय २० केभीको संरचना तयार भइनसकेकाले ४ सय केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १ सय ३२ केभीमा कन्भर्ट गरी प्रवाह भइरहेको छ।
हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारण लाइन १ सय ३२ केभीमा मात्रै संचालनमा छ। खिम्ती–ढल्केबरलाई २ सय २० केभीमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पुर्याइने छ।
आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ। २ सय २० केभी प्रसारणलाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोसीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिनेछ।
त्यस्तै, वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत् भारतमा सिधै निर्यात गर्न सकिनेछ। हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिनेछ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्नेछ। नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।