काठमाडौं-सरकारले मध्यपहाडी जिल्लाहरुलाई समेट्ने गरि पूर्वपश्चिम सडक बनाउने निर्णय गर्यो। आर्थिक वर्ष २०६४/०६५ बाट निर्माण सुरु भएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल) को हालसम्मको भौतिक प्रगति ५४.५० प्रतिशत रहेको छ। यो आयोजना आर्थिक वर्ष २०७९/८० सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको यो राजमार्ग पाँचथरको चिवाभन्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटसम्म पुग्छ।
अबको तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजनासहित यो आयोजनाको काम भइरहेको छ। २६ वटा जिल्लालाई समेट्ने गरि सरकारको आन्तरिक स्रोतबाट बन्ने यो राजमार्ग निर्माणपछि यस क्षेत्रका करिब १ करोड नागरिकहरुको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।
१ हजार ८ सय ७९ किलोमिटर लामो राजमार्गको पछिल्लो लागत अनुमान १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ रहेको सडक विभागले जनाएको छ। यो आयोजना सुरु गर्दा प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रुपैयाँ अनुमान गरिएको थियो। आयोजना निर्माण सुरु गर्दा आव २०७४/७५ अर्थात् १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर समयमै निर्माण सम्पन्न नहुँदा आयोजनाको लागत १ खर्ब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
आयोजनाअन्तर्गत ३ सय २१ किलोमिटर सडक निर्माणको ठेक्का व्यवस्थापन नै हुन बाँकी रहेको सडक विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार कुल १ हजार ८ सय ७९ किलोमिटरमध्ये आयोजनाले ४ सय ६६ किमि सडक कालोपत्रे गरेको छ।
त्यस्तै ४ सय ६२ किलोमिटर अन्य निकायबाट कालोपत्रे भएको छ। आयोजनाअन्तर्गत १ सय २९ वटा पुल निर्माण गर्नुपर्नेमा (आर्थिक वर्ष २०७७/०७८को पहिलो चौमास) हालसम्म ८४ मात्र निर्माण सम्पन्न भएको छ। ३ सय २१ किमि ठेक्का व्यवस्थापन हुन बाँकी छ भने ६ सय ३० किलोमिटर सडक निर्माणाधीन रहेको विभागले जनाएको छ।
मध्यपहाडी लोकमार्गको वित्तीय प्रगति ५६.११ प्रतिशत भएको छ अर्थात् आयोजनाले हालसम्म ५६ अर्ब ९६ करोड रुपैयाँ खर्च गरिसकेको छ। मध्यपहाडी क्षेत्रका २६ जिल्ला र दुई सय १५ बस्ती जोड्ने गरी यो राजमार्ग निर्माण गरिरहेको छ। यो राजमार्ग दुई लेनको हुनेछ। यो आयोजनाको कुल लम्बाई १८ सय ७९ किलोमिटरमध्ये अहिलेसम्म ९ सय २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
मध्यपहाडी राजमार्ग निर्माणमा साना/ठूला गरी १ सय ३० भन्दा धेरै ठेकेदार कम्पनी संलग्न रहेका छन्। १ सय २९ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ८४ वटा तयार भइसकेको छ भने ४५ वटा निर्माणाधीन छन्। आयोजनाले चालु आवमा १४ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ भने १६ वटा पुलको ठेक्का लाग्नै बाँकी छ।
चौमासिक प्रगति न्यून
चालु आवको चौमासमा ५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो। यो अवधिमा १४ किलोमिटरमात्रै सडक कालोपत्रे भएको छ। पहिलो चौमासमा १० किलोमिटर सडक ग्राभेल र दुईवटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा साढे दुई किलोमिटर मात्रै ग्राभेल भएको सडक विभागले जनाएको छ।
चौमासिकको अवधिमा ५१.९४ प्रतिशत भौतिक प्रगति र ५७.६१ प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजनाले चालु आवमा २ सय ८० किलोमिटर सडक कालोपत्रे, १५ किलोमिटर सडक गाभ्रेल र १५ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। तर पहिलो चौमासको प्रगतिका आधारमा उक्त लक्ष्य पुरा हुन निक्कै कठिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।