काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकरको गल्ती भारतीय विदेशमन्त्रालयले सच्याएको छ। विदेशमन्त्री जयशंकरले भगवान् गौतम बुद्ध भारतका नागरिक भएको विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसको तीव्र विरोध भएपछि मन्त्रीको गल्ती मन्त्रालयले सच्याएको हो।
'नेपालमा पर्ने लुम्बिनीमा गौतम बुद्ध जन्मिएकोमा कुनै शंका छैन,' मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्।
शनिबार कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा बोल्दै भारतीय विदेशमन्त्री एस जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध पनि एक भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।
भारतीय विदेशमन्त्रीको बुद्धबारेको पछिल्लो अभिव्यक्तिका विषयमा नेपालमा तीव्र विरोध भइरहेको छ। आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।
नेकपा विदेश विभाग प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्रीले विदेशमन्त्रीको सो अभिव्यक्ति तथ्यहीन र आपत्तिजनक भएको बताएका थिए। नेपाली कांग्रेसले पनि भारतीय विदेशमन्त्रीको बुद्धसम्बन्धी अभिव्यक्तिबारे आपत्ति जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।