काठमाडौं–कोरोना भाइरस (कोभिड १९) का कारण खस्कँदो अर्थतन्त्रको प्रत्यक्ष प्रभाव मानिसको दैनिक जीवनमा परेको छ। जसका कारण विश्वभर गरिबीको संख्या बढ्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ। राष्ट्रसंघले गरेको ‘ग्लोबल क्राइसिसमा फाइनान्सियल एन्ड ह्युमन कस्टसम्बन्धी’ अध्ययनले कोरोनाका कारण विश्वभर आधा अर्ब मानिसलाई गरिबीमा धकेल्ने देखाएको हो।
पछिल्लो ३० वर्षयता उक्त दरमा गरिबी बढेको यो पहिलो पटक हो। सो अध्ययनको लेखन किङ्स कलेज लण्डन र अस्ट्रेलियन नेसनल युनिभर्सिटीले गरेको बीबीसीलाई उद्दृत गर्दै द टाइम्स अफ इन्डियाले लेखेको छ।
सो प्रतिवेदनमा कोरोनाको संकट सकिँदा विश्वभर ४ सयदेखि ६ सय मिलियन मानिस गरिबीमा धकेलिने उल्लेख छ। यसको प्रत्यक्ष प्रभाव संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यमा पर्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले २०३० सम्म दीगो विकास लक्ष्य प्राप्त गरि विश्वबाट गरिबी उन्मुलन गर्ने बताएको थियो।
‘विकासशील राष्ट्रहरूको सामाजिक सुरक्षाको अवस्था सुधार हुँदै गएको हाम्रो अध्ययनले देखाएको छ। तर अब सबैको ध्यान कोभिड १९ मा परेकाले त्यो छायाँमा पर्ने भएको छ। अब अन्तर्राष्ट्रिय समुदायले पनि के सहयोग गर्न सक्छन् हेर्दै जानु पर्नेछ,’ किङ्स कलेज लण्डनका प्राध्यापक एन्डी समरले भने।
उक्त अध्ययनको नतिजा भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र जी२० का अर्थ मन्त्रीहरूसँगको छलफलपछि सार्वजनिक गरिने छ। यी सबै छलफल अर्को साता भइसक्ने छ।
शुक्रबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या १६ लाख नाघिसकेको छ। त्यस्तै सो भाइरसका कारण ९५ हजार ५ सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।