काठमाडौं- प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको निर्णयको विरोध गरेका छन्।
काठमाडौं उपत्यकामा बसोबास गर्ने सार्वसाधरणलाई आ–आफ्नो जिल्ला जान दिने निर्णयको उनले विरोध गरेका हुन्। उक्त निर्णयको विरोध गर्दै व्यङ्गात्मक रुपमा फेसबुकमा लेखे, 'काठमाडौंबाट बाहिर जान दिन तर बाहिरबाट काठमाडौं प्रवेश गर्न नदिने निर्णय सत्य होइन होला।'
उनले मनलाग्दी निर्णय भएकोतर्फ संकेत गरेका छन्। लकडाउनको अर्थ लकडाउन नै भएकाले उक्त निर्णय सही नरहेको जनाएका छन्।
उपत्यकामा बसोबास गर्ने गरिब विपन्न ज्यालामजदुरी गर्ने व्यक्तिलाई बस्न कठिन भएपछि आ आफ्नो गृहजिल्ला जान दिने निर्णय गरेको समितिल जनाएको थियो। तर उनले वेखर्चीलाई खर्च दिएर भएपनि लकडाउन कायम राख्न सुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।