काठमाडौं- बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले शुक्रबार र शनिबारभित्र उपत्यकाबाहिर जाने सर्वसाधारणलाई जान दिने निर्णय गरेको छ।
काठमाडौंमा बसेर अध्ययनअध्यापन, विभिन्न पेशा व्यवस्था गर्दै आएका सर्वसाधरणलाई सम्बन्धित जिल्ला जान दिने निर्णय गरेको रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ।
लकडाउन भएपनि काठमाडौंमा थुनिएका सर्वसाधरणलाई सुरक्षा व्यवस्था गरी सम्बन्धित जिल्ला पुगेपछि सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने भएका छन्।
सबै यात्रुको लगत संकलन गरी बाहिर पठाउने व्यवस्था गर्न लागिएको छ। को कहाँ जाने हो त्यसको सबै तथ्यांक लिएपछि सम्बन्धित स्थानीय तहमा पठाइने छ। धेरै मानिस रातीराती भागेर उपत्यका छोड्नेको लर्को लागेपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको हो।
यसरी, उपत्यकाबाहिर जाने सर्वसाधरणलाई निजी वा सार्वजनिक गाडीको व्यवस्था गरी आफैं जान दिने निर्णय गरेको हो। बैठकमा रक्षामन्त्रीसहित गृहमन्त्री, स्थायीय विकास मन्त्री, कृषिमन्त्री र पर्यटनमन्त्री मात्रै सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।