काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा उपचारमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सरकारले भत्ता दिने भएको छ। चैेत १६ गतेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।
मन्त्रिपरिषद्को उक्त निर्णय आएसँगै देशभरका प्रहरी कार्यालयमा यसबारे बिहीबार परिपत्र गरिसकिएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले नेपाल लाइभलाई जानकारी दिए।
मन्त्रिपरिषद्ले सुरक्षाकर्मीलाई तीन किसिममा बाँडेर दैनिक तीनसयदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ। प्यासेन्ट रिसिभिङ टिम (पिआरटी) मा रहेर पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पिपिई) लगाएर खटिने सुरक्षाकर्मीलाई खाइपाई आएको तलबको शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ।
त्यसैगरी, पिपिई नलगाई पिआरटीमा खटिनुपर्ने सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता र कोरोना रोकथामका लागि पिआरटी र पिपिई नलगाई खटिएका अन्य सुरक्षाकर्मीलाई दैनिक तीन सय भत्ता दिने निर्णय गरेको हो।
यो निर्णयसँगै लकडाउनमा खटिएका सुरक्षाकर्मीले समेत दैनिक ३ सयका दरले भत्ता पाउनेछन्। यसका लागि सम्बन्धित कार्यालय प्रमुखले कोरोना रोकथाममा खटिएको भन्ने पत्र बनाइदिनु पर्ने हुन्छ।
पिआरसी संक्रमित तथा आशंका गरिएका व्यक्तिलाई अस्पताल लैजाने प्रयोग गरिन्छ। उनीहरुले पिपिई लगाउँछन्। त्यस्तै पिपिई नलगाई पिआरसीमा काम गर्नेहरुले क्वारेन्टाइन व्यवस्थापनमा खटिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।