काठमाडौं- नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा छैठौं कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पाँचौ संक्रमित, दोस्रो संक्रमित र छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा काठमाडौं आएका व्यक्ति हुन्।
उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एकै फ्लाइटमा चैत ४ मा काठमाडौं उत्रने ३ जना कोरोना संक्रमित भएको जानकारी दिए। पछिल्लो संक्रमितको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।
उनका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ। ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको छ।
बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। आज संक्रमितको संख्या थपिएसँगै यो संख्या बढेर ६ पुगेको हो।
यसअघि संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।