दिनभर कम्प्युटरमै झुम्मिएर बस्दा अलिक धेरै नै आँखा र मष्तिस्कले पट्यार मानिसकेको अवस्था थियो। कोठाभित्र बसेको पनि लगातार एकसाता बित्न थालिसक्योे। पहिलो दिन त अलिकति उकुसमुकुस नै भयो। त्यसपछि अलि–अलि बानी परे जस्तो भएको छ। तर, बाहिर अलिकति आवाज आउनेवित्तिकै सुरसुरुमा त बार्दलीमा जान मन लागिहाल्थ्यो। अहिले भने जति आवाज आउँदा पनि बाहिर निस्कन झर्को लाग्न थालिसकेको छ।
म लगातार कम्प्युटरमै व्यस्त भइरहेको जीवनसंगिनीलाई भने मन परिरहेको थिएन। बेला–बेला उनको मुखाट ‘कति कम्प्युटरमै आँखा च्यातेर हेरिरहको? आँखाको कमजोरी भएकाले एकछिन त नहेरेपनि हुँदो हो नि?’ भान्साको काम सँगसँगै, दैनिक गृहकार्यमा व्यस्त जीवन संगिनीका मुखबाट अलिअलि रिस मिसिएको मायाका शब्दहरु बेला–बेलामा सुनिरहन्छन्।
म ती शब्दहरुको प्रवाह नै नगरिकन आफ्नै धुनमा हुन्छु। उनी भने घरीघरी मुर्मुरिएझैं गर्थिन्। म चुपचाप आफ्नै गतिमा अघि बढिरहन्थे। कोठामा हामी दुईजना मात्र छौं। बुवा–मुवा, बहिनीसँग कान्छो छोरा रेडियो नेपाल नजिक बस्छ। ठूलो छोराचाहिँ मामाघरमा बस्छ। स्कुल विदा भएपछि दुवै जना हामी सँग छैनन्। उनीहरु मसँग भएपछि कम्प्युटर चलाउन नपाउने भएकाकारण दुवै जना आ–आफ्नो व्यवस्थापनका लागि हजुरबुवा–हजुरमुवासँग बस्ने गरेका छन्। दुवै भाई एकठाउँमा लडाभाती गर्ने भएकाले पनि उनीहरुलाई छुट्टा–छुट्टै बस्न पठाउने सल्लाह भए बमोजिम उनीहरु त्यसैगरी नै बसेका छन्।
यसकारण पनि हामी दुई जनामात्र कोठामा भएकाकारण कोठा प्रायः सुनसान नै हुन्छ। बाहिर सानो आवाज आए पनि अलिक बढी नै टाठो सुनिन्छ। यस्तै–यस्तै परिवेशमा मेरो दिनचर्या बितिरहेको छ।
घरी निदाउने, घरी उठ्ने, अनि कम्प्यु्टरमा झुम्मिने गर्दागर्दै घरभित्र बस्न थालेको चौथो दिनको विहान भइसकेको थियो। भान्सामा कुकरले सिट्ठी मारिहेको थियो। म भने विछ्यौनामा लमतन्न परिरहेको थिएँ। बाहिर आँगनको हल्ला मेरो कानमा ठोक्कियो।
‘ए साग राख्नुहोस् साग, ताजा–ताजा खोले साग’
मेरो छिमेकी हरिशंकरजी र किराना पसलको साहुजी ‘खै यता ल्याउनुहोुस्, त खै’ भन्दै थिए। मैले झ्यालबाट चिहाएर हेरें। डोकाभरी साग बोकेकी, खुट्टामा चप्पल समेत नभएकी एक अधवैंशे महिला बाटोमा उभिएको देखें। त्यो सँग–सँगै वरीपरीका छिमेकीहरु पनि उनी भएतर्फ लम्कदै थिए।
त्यतिबेला नै मञ्जु (मेरो जीवन संगीनी)ले आवाज दिइन्, ‘ओ हलो, साग खाने हो?’
मैले जवाफ फर्काइनँ। जवाफ नपाउँदा उसले फेरि सोधिन् –‘साग खानेहो कि नाइँ?’
मैले फेरि पनिजवाफ फर्काइनँ। उनले फेरि भनिन् –‘कस्तो आटो खाई ढाड्या जस्तो केही नबोलेको?’
अब मलाई बोल्नैपर्ने बाध्यता भयो। ‘होइन घरबाट बाहिर ननिस्कने भनिरहेको बेलामा फेरि किन साग किन्न जानु पर्यो? जे छ त्यही खाए भइहाल्यो नि।’
उनको प्रतिउत्तर थियो– ‘अब यस्तो होला भन्ने थाहा पनि भएन, मसँग पसलमा पनि पैसा थिएन, पसलमा ग्राहक जो चल्दैनथे, अनि पैसा पनि होस् कसरी आफुले ल्याउने होइन? भएको दाल चामल पनि सकिएला जस्तो भइसक्यो? ग्याँस पनि धिप–धिप गरिहेको छ। अलिदिन चलाउनलाई जोहो त गर्न प¥यो नि भनेर भन्या हो।’
मैले उनको जवाफ नदिएर हेरिनै रहें। अनि उनले फेरि थपिन्, ‘छोराहरु छैनन्, उनीहरु खाइहाल्छन्। जेसुकै होस त मलाई पनि के खाँचो? ल्याए पकाइदिन्छु। नल्याए मपनि भोकै बसिदिन्छु।’
यति भनेर उनी फन्किदै बाथरुम तर्फ धुनुपर्ने कपडाको बाटा बोकेर गइन्। म केही पनि बोलिनँ। बोलेको भए निकास उनले पनि निकाििल्थन् होला तर म बोलिन। अनि मलाई झन् तनाव भयो। एकातिर सामल सकिएको पीडा। अर्काेतिर खल्ती रित्तिएको बेला। अलिअलि व्यापार हुने पसल पनि बन्द छ। रुपैयाँ आउने स्रोत सबै बन्द। एक्कासी बन्दको घोषणा हुँदा पूर्व तयारी पनि केही गर्न सकिएको थिएन। अव कसरी चलाउने होला दैनिकी भन्ने चिन्ता बढ्यो।
अब यस्तो संकटमा कसरी ऐंचो–पैंचोको कुरा के गर्नु? कसले पैंचो दिन तयार भएर बस्या होला र भन्ने पनि लाग्यो। सबैलाई यस्तै त होला।
अब कसो गर्ने होला भनेर सोचिरहेको थिएँ। मेरो मानसपटलमा अनेक चित्रहरु देखापरे बाहिर किटनाशक औषधी छर्किदै घरबाहिर नाउन माइकिङ गरिरहेको सुनियो। मलाई यस्तो लागिरहेको थियो कि, रंगमञ्चको पर्दापछाडीबाट कोही अदृष्य भएर बोलिरहेको छ। रंगमञ्च खाली छ। त्यत्तिकैमा मेरो मानसपटलमा त्यही अघिको आवाज घुम्यो –‘साग राख्नुहोस् साग’।
मलाई यति बेला आफ्नो भन्दा पनि ध्यान अन्यत्रै मोडियो। अनि मनमनै गम्न थालें।
अलिअलि हामी जागिर गर्ने र व्यवसाय गर्नेको हालत त यस्तो छ। झन् दिनभर मजदुरी गरेर जीवन गुजारा गर्नेहरुको हालत के भएको होला? उनीहरुले कसरी जीवन गुजारा गरिरहेका होलान्?
यी र यस्तै प्रश्नहरु मनमा खेलिरहे।
मैले अनुमान गरें, बिहानै डोकामा साग बेच्न आउने ती अधवैंशे उमेरकी महिला त्यसै साग बेच्न आएकी होइनन्। तिनलाई पनि मेरो भन्दा कम्ता समस्या भएर डोकोमा साग बेच्न आएकी होइनन् होला?
कमसेकम म र मेरो परिवार घर भित्रै त छ, मनमनै गमें। तर उनी सडकमा हाँक हाल्दै हिँडिरहेकी छन्।
‘यस्तै समस्या भएर नै आएकी होलिन्,’
‘मेरो जस्तै होइन, मेरो भन्दा बढी समस्या भएर आएकी हुन्।’
हुने खानेहरुका लागि घरमै बार रेष्टुरेन्टहरु छन्। दिनभर ज्याला मजदुरी गर्नेहरुका लागि त उही दश नङग्रा न खियाएसम्म त केही पनि छैन। मजदुरी गरे पेट भरिन्छ, नत्र भोकै।
हुने खानेहरुलाई मास्क र स्यानिटाइजर प्रयोग गरेर एक मिटरको दूरीमा घरभित्रै बसे पनि रोग नसर्ने कुराको ग्यारेन्टी नै छ।
विडम्वना खुट्टामा चप्पल धरी लाउन नपाएकी कि ती अधवैंशे महिलाका लागि ढाक्ने पर्ने अंग ढाक्नलाई कपडाको जोहो छैन।
के को मास्क?
खानलाई एक चिम्टी त छैन, केको धुन लाई स्यानिटाइजर?
अरुको हातमा साग नपुर्याई बिक्दैन केको एक मिटरको दुरी कायम गरी बस्नु।
अब कसरी सम्भव छ?
घरमै बसेर रोग विरुद्ध संघर्ष गर्न?
यहाँ भोक विरुद्ध संघर्ष गर्न हम्मे–हम्मे भएका बेला कसरी रोग विरुद्ध संघर्ष गर्नु? यो नै हाम्रो समाजको यथार्थ हो।
घरमै बसेर रोग विरुद्ध लड्नका लागि सरकारले ‘लकडाउन’ गरिहेको छ । पूरै सहर सुनसान छ। सुकिला मुकिलाहरु सडकमा देखिँदैनन्। बरु उनीहरु सामाजिक सञ्जालका भित्तामा देखिन्छन्। जो दैनिक ज्यालादारी गरेर खाने किसान र मजदुरहरु हुन उनीहरु रित्ता सडकमा देखिन्छन्। उनीहरु रोग विरुद्धको संघर्षमा होइन, भोक विरुद्धको संघर्षमा भौतारिरहेका छन्। यस्तो चित्र देखिन्छ, अहिलेको लकडाउनको अवस्थामा। अनि कसरी हामी ‘लकडाउन’मार्फत् कोरोना भाइरस विरुद्धको युद्ध जित्न सक्छौं?
०००
सडकमा घर, परिवार र आफ्नो ज्यानको प्रवाह नगरेर सुरक्षकर्मीहरुले घर भित्र बस्न आह्वान गरिरहेका छन्। हाम्रा नागरिकहरु अन्तर्राष्ट्रिय समाचार एजेन्सीका प्रतिनिधिहरुझै सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिहरेका छन्। यसरी प्रसारण गर्दा उनीहरुलाई भाइरसले ज्वाइँसाप मान्छ भन्ने ठानेर पो हो कि? सञ्चारमाध्यम भन्दा पहिला अपुष्ट समाचारहरु सामाजिक सञ्जालमा छापेर झ्न भ्रमित पारिरहेका छन्। जिउज्यानको प्रवाह नगरेर ड्युटीमा खटिरहेकाहरुको मनोवल गिराउने परिस्थितिको सिर्जना गरिरहेका छन्। यो कति सुहाँदो हुन्छ? सरकारले घर भित्र बस भनेको बेला लखरलखर सडकमा डुलिहिँड्नु?
मलाई यहाँनेर नागरिकहरुले यसो महशुस गरे जस्तो लागिरहेको छ। सधैं बन्द हड्तालको मार खेपिरहेकाहरुलाई सरकारका विपक्षमा रहेका राजनैतिक दलहरुले आव्ह्वान गरेको नेपाल बन्द जस्तै भान भइरहेको छ। साँझ पाँच बजेपछि खुल्ने। बन्द खुलेपछि ह्वार–ह्वार्ती सडकमा सवारी कुद्ने र मान्छे जम्मा हुने। वेतुकका भाषण छाँट्ने। हामी नेपालीको बानी पनि त्यही त हो नि, सित्तैमा अर्काको खिसिट्युरी गर्न पाएपछि आफै बेवकुफ भएको पनि पत्तो नपाउने बानी।
प्रायः न्यायप्राप्तिका लागि आयोजना गरिएका बन्दहड्तालमा पत्रकारहरुलाई समाचार संकलनका लागि छुट हुने गर्छ। यो बन्दलाई पनि सर्वसाधरण नागरिकहरुले त्यही प्रकृतिको बन्द ठानेर हामी पनि सामाजिक सञ्जालका पत्रकार भन्दै सडकमा क्यामेरा बोकेर सेल्फी खिचिरहेका छन्। प्रत्यक्ष प्रशारण गरिरहेका छन्। यसो गर्नुपर्ने बाध्यता किन पर्यो?
सरकार र आन्दोलनकारीहरु बीचको बन्द त मानव– मानव बीचको बन्द हो। त्यहाँ आन्दोलनकारी र सरकार बीचमा निश्चत एजेन्डाहरु रस्साकस्सी चलिरेहको हुन्छ। त्यो रस्साकस्सीका बीचमा झडप पनि हुन्छ। सरकार आन्दोलन नगर भन्छ। सुरक्षाकर्मी परिचालन गरी आनदोलन मत्थर पार्न कोशिस गर्छ। आन्दोलनकारीहरु सरकारलाई आफ्ना माग पुरा गर भन्छ। त्यसक्रममा सडकमा देखिने आन्दोलनकारीहरुलाई सुरक्षाकर्मीहरुले तितिरवितर पार्छन्। तर, यो नेपाल बन्द ‘लकडाउन’ त सरकार र नागरीक मिलेर कोरोना भाइरस विरुद्ध संघर्षको आन्दोलन हो। यो आततायी भाइरसका विरुद्धको बन्द हो। जसले विश्वलाई नै आज संकटमा धकेलिरहेको छ। भाइरसले आन्दोलन गर, नगर भन्दैन सोझै आक्रमण गर्छ। यसले थाहै नदिइकन आक्रमण गर्छ। त्यसैले यतिवेला सरकारले सुरक्षाकर्मीहरु मार्फत् घर भत्रै बस्न आग्रह गरिरहेका ेछ । यसलाई वेवास्ता गरी बडो बहादुरीका साथ सुरक्षाकर्मीलाई छलेर घरबाहिर कुदिरहेकाछौं।
हामीले विश्वको इतिहासमा अनेक खालका आन्दोलनहरु देखेका छौं। कतिपय सशस्त्र र कतिपय निःसशस्त्र। ती आन्दोलनहरुले विश्वलाई आमूल परिवर्तनको दिशामा अगाढी बढाएका छन्। चाहे त्यो रुसको औद्यागिक क्रान्ति होस्, या चीनको ग्रामीण वर्ग संघर्षमा आधारित जनक्रान्ति होस् या नेपालको सशस्त्र संघर्ष होस् या जनआन्दोलन। यी आन्दोलन र संघर्षहरुको महत्व आफ्नै प्रकारको छ। यी आन्दोलन मानवजाती भित्रकै आन्दोलन र संघर्षहरु थिए। यी संघर्षहरु वर्गविभेदका विरुद्ध थिए। र ती आन्दोलन र संघर्षका कार्यक्रमहरु बेग्लै थिए।
मलाई लाग्छ, अहिले हामी पनि एउटा आन्दोलनमा छौं। यो आन्दोलन विगतका आन्दोलन भन्दा भिन्न छ। यो आन्दोलन सम्पूर्ण मानवजातिको रक्षाका लागि, त्यो आततायी कोराना भाईरसका विरुद्धको आन्दोलन हो। यस आन्दोलनमा हामीले ठूलो बलिदानी केही दिनुपर्ने छैन। यसका विरुद्ध हामीले शान्तिपूर्ण तवरबाट संघर्ष गर्नुपर्ने छ। हामीले हतियार बोक्नु पर्ने छैन। हामीले सडकजाम गर्नुपर्ने छैन। यस विरुद्धको विजयकालागि हामीले घरमै अनशन बस्नु पर्नेछ।
यदि हामीले यसो ग¥यौं भने। हाम्रो आन्दोलनले विजय हासिल गर्नेछ। कोभिड–१९ कोरोना भाइरसले हामीबाट पराजय भोग्नेछ। हामीले त्यसका विरुद्ध आयोजना गरेको हड्तालको अन्त्य हुने छ। अनि हामी हर्षका साथ पुरानै दिन चर्यामा फर्किेन छौं। यसकालागि आन्दोलनको नेतृत्व गरिरहेको हाम्रो सरकारलाई सहयोग गर्नुपर्दछ। सरकारले दिएको निर्देशनको हामीले पालना गर्नु पर्दछ।
०००
यी हरफहरु लेखिरहँदा यो आततायी भाइरसका कारण ३४ हजार २६ जनाले मृत्यवरण गरिसकेका छन्। ७ लाख भन्दा बढी संक्रमित छन्। जसमध्ये हाम्रो मुलकमा ५ जनालाई संक्रमण फेला परेको छ र एकजना निको भएका छन्।
विश्वका महाशक्ति राष्ट्रहरुलाई यसले हम्मेहम्मे पारेको छ। विश्वकै सबैभन्दा शक्तिशाली ठान्ने मुलुक अमेरिका कोरोना भाइरसको सबैभन्दा ठूलो केन्द्र बनेको छ। अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या सबैभन्दा प्रभावित मुलुक चीन र इटाली भन्दा बढी भएको छ। इटलीले आफ्नो मुलकमा कोरानाको प्रभावलाई ध्यान नदिँदा ठूलो क्षति व्यहोर्नु पर्याे। यसर्थ पुँजी र प्रविधिले सम्पन्न राष्ट्रलाई र्याख–र्याख पारि रहेको बेला हाम्रो जस्तो ‘भगवान भरोसे’ देशमा हामी आफैले सरकारको निर्देशनलाई पालना गरेनौ या हामी आफै सजग भएनौं भने यो भाइरसले नरसंहार मच्चाउने छ।
हाम्रो कोराना विरुद्ध संघर्षको आन्दोलनको मुख्य कार्यक्रम भनेको लकडाउन हो। यसलाई सफल पार्नको लागि बोलेर मात्र हुँदैन। काम गरेर पनि देखाउने गर्नुपर्छ। आज जनताहरु रोगले भन्दा पहिला भोकले मर्ने समस्या देखिएको छ। ‘मर्नु भन्दा बहुलाउनु वेश’ भनेझैं दैनिक चुल्हो चलाउने. सामाग्रीका लागि समस्या भएकाहरु लकडाउनको वेवास्था गरेर सडकमा छन्। घरभित्र होइन, घर बाहिर छन्। एठाउँमा मात्र सिमित होइन, सयौं ठाउँमा डुलेकाछन्। यसको मुख्य कारण भनेको रासनको समस्या हो। ‘खाउँ भन्या खुर्सानी छैन, बजारको डेरा’ भन्ने उखानझैं भएको छ। पकाउन लाई रासन छैन, रासन किन्न पैसा छैन। यस्तो अवस्थामा भएकाहरु कसरी घरभित्र भोकै बस्न सक्छन्? यसर्थ जनतालाई घरमै राशन पुर्याउने व्यवस्था गरेर अगाडी बढ्ने हो भने यस महामारी विरुद्धको संघर्षमा सफलता प्राप्त गर्न कठिन छैन। अन्यथा यो निकै ठूलो चूनौतीका रुपमा खडा हुनेछ।
यस बखतमा हुने गरेका दैनिक जीवनयापनको समस्या भएकाहरुको लगत संकलन गरी स्थानीय सरकारका जनस्तर सम्म पुग्ने निकाय मार्फत् बाँच्नका लागि चाहिने खानाको व्यवस्था गरेमा लकडाउन पूर्णरुपमा सफल हुनेछ र हाम्रो कोरोना विरुद्धको संघर्षले पनि सार्थकता पाउने छ। यसो भयो भने मेरो परिवारमा उत्पन्न भएको समस्या जस्तै हजारौं परिवारको समस्या हल हुने छ। डोकोमा साग बेच्न हिँड्ने ती अधवैंशे महिलाको समस्या पनि समाधान हुने छ । यी र यस्तै समस्याको समाधान भएमा लकडाउनले सार्थकता पाउनेछ । मुलुकले कोरोना विरुद्धको संघर्षमा विजय प्राप्त गर्नेछ।
सकारको समस्या नागरिक, नागरिकको समस्या सरकारले बुझेर कोरोना विरुद्धको संद्धर्षमा सँग–सँगै अघि बढ्यौं भने हाम्रो मुलुकले सफलता प्राप्त गर्नेछ। हिजो चिनियाँ सरकार र त्यहाँका नागरिकहरुको एकरुपताले संसारले ध्वस्त भयो भनेको मुलुकल आज तंग्रिसकेको छ। ऊ ध्वस्त भयो भन्नेहरु आज आफैं ध्वस्तै हुँदैछन्। सामान्य लापरवाहीले आज इटलीले ठूलो क्षति व्यहोर्नु परेको छ। आज सिंगो विश्व आक्रान्त बनेको छ। त्यसैले सरकारको निर्देशनलाई पालना गर्दै, उसका सकरात्मक क्रियाकलापको अनुसरण गर्दै, कमजोरीहरुमा खबरदारी गर्दै आउनुहोस् कोरोना विरुद्ध घरभित्र बसेर संघर्ष गरौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।