काठमाडौं- बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको अवस्था र सरकारको तयारीबारे जानकारी दिन मिडिया ब्रिफिङ गरे। ब्रिफिङका क्रममा उनले थप एक युवामा कोरोना भाइरसको संक्रमण भएको बताए।
३२ वर्षीय युवालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उनले संचारकर्मीहरूलाई दिए। उनको ब्रिफिङअनुसार ती युवा कतारबाट नेपाल आएका थिए। मंगलबार अस्पताल भर्ना भएका थिए।
संक्रमित युवाबारे मिडिया ब्रिफ्रिङका क्रममा मन्त्री ढकालले दिएको जानकारी नै गतल थियो। उनले कोरोना संक्रमित ती युवा कतारबाट आएको बताएका थिए। तर उनी कतारबाट नभई युएईबाट नेपाल आएका हुन्।
ती युवा एयर अरबियाको फ्लाइट नम्बर जी-९५३७ नम्बरबाट युएईको सारजहाँ विमानस्थलबाट नेपाल आएका हुन्। उनी चैत ६ गते (मार्च १९) नेपाल आएका थिए। उक्त दिन सो विमान बेलुका १० बजेर ९ मिनेट जाँदा विमान त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो।
यस्तै मन्त्री ढकालले दिएको अर्को जानकारी पनि गलत निस्कियो। उनका अनुसार कोरोना संक्रमित ती युवा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका हुन्। तर सरुवा रोग अस्तपालले दिएको जानकारी अनुसार उनी मंगलबार नभई सोमबार मात्र भर्ना अस्पतालमा भएका हुन्। मन्त्रालयले सच्याएको सूचनामा देशबारे उल्लेख गरे पनि भर्ना भएको मिति गलत भएकाेबारे भने केही उल्लेख गरेकाे छैन।
चैत ६ गते नेपाल आएका उनी १० गते मात्र उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका हुन्। मंगलबार राती प्रयोगशालामा उनको नमुनाको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। हाल अस्पतालको आइसोलेसनमा उनको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।