काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमणको आशंकामा ६ सय जनाको नमुना परीक्षण गरेकोमा ५ सय ९८ जनामा नेगेटिभ देखिएको छ। मंगलबारसम्म गरिएको परीक्षणमा जम्मा २ जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
नेपालमा पहिलो पटक माघ ८ मा एक जनामा कोरोना पुष्टि भएकामध्ये एक जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। एक जना १९ वर्षीया किशोरी शुक्रराज सरुवा रोग टेकुमा उपचाररत छिन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार मंगलबार ५० जनाको परीक्षण रिर्पोट आएको थियो। उनीहरू कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएन। मंगलबार थप ६० जनाको नमुना संकलन भएको छ। गुप्ताका अनुसार उनीहरूको रिर्पोट बुधबार आउने छ।
'अहिलेसम्म प्रयोगशालाले ६ सय ६० जनाको नमुना परीक्षण गरेको छ,’ उनले भने,‘त्यसमध्ये ६० जनाको मात्र आउनु बाँकी हो।’
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणले विश्वव्यापी प्रभाव विस्तार गरिसके पनि नेपालमा आत्तिनुपर्ने अवस्था नरहेको परीक्षण प्रतिवेदनले देखाएको छ।
नेपालमा गरिएका कोरोना परीक्षणको अधिकांश नतिजा नेगेटिभ आउँदा प्रयोगशालाको क्षमतामाथि शंका उब्जिने गरेको थियो। तर विश्व स्वास्थ्य संगठनले पठाएको आधिकारिक प्रतिनिधिले बुझाएको प्रतिवेदनमा प्रयोगशालाको उपकरण र परीक्षणमा संलग्न जनशक्ति दक्ष भएको उल्लेख छ। संगठनले परीक्षण क्षमता बढाउन भने सिफारिस गरेको छ।
दैनिक ९ सय जनाको परीक्षण गर्न सक्छौं : प्रयोगशाला
कोरोना भाइरसको शंकास्पद बिरामीको परीक्षण गर्नेको संख्या बढेसँगै प्रयोगशालाले आफ्नो क्षमतासमेत विस्तार गरेको छ। परीक्षणका लागि प्रयोगशालाले चार वटा ल्याब प्रयोगमा ल्याएको सूचना अधिकारी गुप्ताले जानकारी दिए। चार वटा ल्याब प्रयोगमा आएसँगै प्रयोगशालाले दैनिक ९ सय जनासम्मको नमुना परीक्षण गर्न सक्ने उनले बताए।
'यसअघि हामीले एउटा ल्याबमा मात्र परीक्षण गर्थ्यो। अहिले प्रयोगशालामा रहेको चार वटै ल्याबमा काम सुरु गरेका छौं,’ उनले भने,‘अब हामीले दैनिक ९ सय नमूना परीक्षण गर्न सक्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।