काठमाडौं- कोरोना भाइरस संक्रमणको शंका गरिएका शिवशंकर रुंगटाको परिवारका १४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। भारतको पटनामा उपचाररत रुंगटालाई कोरोनाको संक्रमणको सम्भावना देखिएपछि उनको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको हो।
रुंगटाको परिवारका १० जना सदस्य र ४ जना सहयोगीलाई होम क्वारेन्टाइनमा राखिएको छ। भारतबाट कोरोना संक्रमणको सूचना आएपछि नारायणी अस्पतालका चिकित्सक रुंगटाको घर गई उनीहरुलाई होम क्वारेन्टाइनमा राखेको थियो।
जानकार स्रोतका अनुसार उनको परिवारका सदस्यले नै रुंगटालाई कोरोना संक्रमण देखिएको स्थानीय प्रशासनलाई जानकारी गराएका थिए। रुंगटाको परिवारका सदस्यलाई घर बाहिर निस्कन नदिन स्थानीय प्रहरीले उनको घरलाई निगरानीमा राखेको छ।
'परिवारका सदस्यबाट सूचना आएपछि होम क्वारेन्टाइनका लागि प्रहरीले जे जस्तो व्यवस्था गर्नुपर्ने हो सो व्यवस्था गरिएको छ,' जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले भनिन्।
* हेडलाइन संशोधन गरिएको
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।