काठमाडौं- कोरोना भाइरस संक्रमणबाट बेलायतमा नेपाली नागरिकको मृत्यु भएको छ। बेलायती सेनाका पूर्व कर्मचारीसमेत रहेका बेलायतको लन्डनमा बस्दै आएका लिलबहादुर राई कोरोना भाइरसको संक्रमणका कारण लन्डनमा नै मृत्यु भएको हो।
६६ वर्षीय राईको मंगलबार नै उपचारका क्रममा निधन भइसकेको भए पनि शनिबार मात्र उनको शव परिवारलाई हस्तान्तरण गरिएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का महासचिव दशरथ राईले जानकारी दिए।
यता परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने यस विषयमा कुनै पनि जानकारी नभएको बताएका छन्। अवकाशप्राप्त गोर्खा सैनिक राई लन्डनस्थित साउथ ह्यारोमा बस्दै आएका थिए। हाल उनको परिवारका सदस्यलाई आइसोलेसनमा राखिएको छ।
राईको स्थायी घर भने संखुवासभाको खाँदबारी नगरपालिका-१० भएको गेसोका महासचिव राईले नेपाल लाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।