विन्टरचोकको राजधानी चोकको अलिक भित्रपट्टिको महानगरीय चोकको क्याफे नाम दिइएको हरियो पर्दावाला रक्सीको वर्कसपमा बिहानै २ ट्वाक लगाएको एउटा आदिम मान्छेले आफूले किन चुनावमा भोट नहालेको भनेर कारण पेस गर्दै छ। वर्कसपकी प्रोप्राइटर भलाद्मी महिलाले बुझेको के मात्रै भने, ती ढलपल गर्दै गरेका भद्र पुरुष नागरिकताविहीन नागरिक हुन्। बाउले सही नगर्दिएर नागरिकता नपाएका रहेछन् भन्ने कुरा बुझ्न प्रोप्राइटरज्यूको न चेतनाले भ्यायो, न फुर्सदले।
वर्कसपको ठ्याक्कै बाहिर थ्याच्च बसिरहेकी अनुहार नपरेकी अधबैंसे महिला 'क्रान्ति'मा हराएको छोरा खोज्न विन्टरचोकमा आएकी हुन्। उनको निधार र गालामा देखिएका रेखाहरुले नै भन्छन् कि विन्टरचोकमा झरेको निकै साल भइसक्यो र अब छोरालाई होइन, उनले अब आफैंलाई भेट्ने छैनन्।
अब त्यहाँबाट थोरै बाहिर निस्किऊँ। गल्छेडोबाट निस्केर दायाँपट्टि मध्यमवर्गीयहरुको जुत्ता टल्काउँदै जुत्ताधनीलाई उच्चवर्गीय बनाइरहेको 'कफी वर्ण'को किशोरलाई उच्चवर्गीय बनिसकेपछि जुत्ता धनी ज्यालामा किचकिच गरिरहेको छ। यो र यस्ता केही लाख चित्रको बयान गरेर हजार शाखा भएका गैरसरकारी संस्थाका प्रमुखले त गर्न सक्दैनन् म के सकूँला?
तर यसका बाबजुद पनि विन्टरचोक गुलजार छ। हो, विन्टरचोक बडा गुलजार छ। गुलजार के अर्थमा भने विन्टरचोकमा अचेल गर्मी छ। यो हिउँदमा कसरी गर्मी?
चुनावको प्रचारात्मक स्वेटर ज्याकेटले गजधम्म मोटाएको विन्टरचोक कपडाको न्यानोले गर्मी भएको भने होइन। विन्टरचोकमा बिहानै जिब्रो पड्काउँदै उपस्थित हुने मुस्तण्डेहरुदेखि लिएर क्याम्पस हिंड्ने षोडसीहरुसम्म, पाइलट चुरोटको सर्कोले फुटपाथको हावालाई बिहानैदेखि कुइरीमण्डल बनाइरहेका नाम्लोकर्मीहरुदेखि 'ट्रिपल फाइभ'को गन्धले क्याफे-रेस्टुराँलाई नशालु बनाइरहेका एलिट किट्टी पार्टी बुद्धिजीवी महिलासम्म बहसमा छन् र समयको पारो तताउन आगो फुकिरहेका छन्।
पत्रिकामा गाली स्तम्भ बेचिरहेका नागरिक सचेतकहरुदेखि लिएर कलमको नीबले सत्तालाई चिथोरिरहेका कलमजीवीहरुले दाउरा जोहो गरिदिएकै छन्।
'फूलमालाको छोप'ले अमिलिएका जनप्रतिनिधिहरु त हिटर नै बोकेर हिंडेका छन्। विन्टरचोक यसैकारण तातेको छ।
रोचक त के भने यो गर्मीको रापबाट बच्न हो कि राप बढाउन, सबैले अजीवका तर सुन्दर चश्मा लगाएका छन्। कसैले समृद्धिको चश्मा लगाएका छन्, कसैले विकासको चश्मा लगाएका छन्, कसैले अधिकारको चश्मा लगाएका छन्, कसैले संविधानको चश्मा लगाएका छन्, कसैले सपनाको चश्मा लगाएका छन्। चश्माबाट लोकतन्त्र र गणतन्त्रको प्राइस ट्याग भने कसैले निकालेका छैनन्।
विन्टरचोकमा प्राइस ट्यागसहितको चश्मा ढल्काउँदै गफ चुट्नु युगीन फेसन हो। फेसनको विरोध गर्नेहरुका लागि यो संस्कार हो। परम्परा र रुढीवादका विरोधीहरुका लागि यो क्रान्ति हो। सशस्त्र क्रान्तिका विरोधीहरुका लागि भने यो प्रोग्रेसिभ लाइफस्टाइल अर्थात् प्रगतिशील जीवनशैली हो।
अब विन्टरचोकमा फैलिएको यो उखरमाउलो गर्मी कति समय टिक्छ, त्यो कसैले भन्न नसक्ला, विधि र शासनको बडेबडे विश्वविद्यालय पुस्तकबाट फोटोकपी गरेर बसेका नन-डिफिटेबल कानुनवेत्ता र तर्कशास्त्रीले पनि भन्न सकिरहेका छैनन् कि विन्टरचोकको यो तापक्रम कहिले घट्छ, न त हरेक दिन बिहान मौसमको पूर्वानुमान गर्ने कपाल फुलेका टिभी स्टारहरुले भन्न सकिरहेका छन् न ट्विटर/फेसबुकमा देशको भविष्यवाणी गर्ने स्वनामधन्य ज्योतिषशास्त्रका वेत्ताहरुले।
निष्कर्ष के मात्रै भने विन्टरचोकमा गर्मी छ। तर, यो गर्मी रमाइलो छ। विन्टरचोकले अब अग्रगामी छलाङ मार्छ भन्ने आशा र विश्वास जो छ। यहाँ अब सडक नपुगेका गल्ली हुने छैनन्, कतै नाम दर्ता नभएको सुकुम्बासीको सिमेन्टको छाप्रोमा अनुदानमा आधारित धारोमा समेत चौबीसै घन्टा पानी आउनेछ, बिजुलीको कुरा त पुरानो भइसक्यो बरु अब फ्री वाइफाइ जोनको प्रभावले घर-घरमा दाल-भात पाक्नेछ, श्रीमान्-श्रीमतीहरुलाई त वाइफाइ चाहिएन। विन्टरचोकमा दुर्गमबाट आप्रवासनमा आएकाहरु स्वाभिमानको घर फर्केर गौरवको उद्यम गर्नेछन् आफ्नै दैलामा।
अधिकार र स्वशासनको लाली पाउडरले मान्छेहरुको अनुहारको रङ बदलिन अब कुनै आइतबार कुर्नपर्ने छैन। अभाव र गरिबी जस्ता पुरातन र पश्चगामी शब्द लोप हुनेछन्। विन्टरचोकको प्रतिव्यक्ति आय कति पुग्छ भन्ने विश्व बैंकले अनुमान लगाउन अब विश्व बैंकका अर्थ वेत्ताहरुलाई माइग्रेन हुनेछ। राष्ट्रियताको टोपीको व्यापार अन्तरदेशीय हुनेछ, अन्तरदेशीयभन्दा पनि विश्वस्तरीय हुनेछ। यस्ता अनेक कुरा पो छन् त विन्टरचोकमा । यत्तकै कहाँ गर्मी हुन्छ?
मान्छेहरुको दैनिकीमा कहाँ फरक पर्ला त? निधार खुम्च्याएर समृद्धिको चश्माको डिलमाथिबाट सोध्ने वैद्यलाई कसैले जवाफ दिएको सुनेथेँ- '३ घर पर भएकी गर्लफ्रेन्डहरुसँग ब्वाइफ्रेन्डहरुले भर्चुअल्ली सेक्स गर्न पाउनेछन्, प्राकृतिक चरम आनन्दसहित।‘ विज्ञापनमा पनि त्यस्तै सुनिन्छ। क्याम्पस हिंडिरहेका ती षोडसीहरु उत्तेजित छन्। मुस्तण्डेहरु अराजक हुन्छन् कि भन्ने डर नभएको होइन।
बटम लाइनमा विन्टरचोक गर्मीले पग्लिएर हिलोमा विलय होला कि भन्ने चिन्ता मात्रै बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।