काठमाडौं (एजेन्सी)– राम्रो देखिने बहानामा इंग्ल्यान्डकी एक युवतीले २ सय पल्ट कस्मेटिक सर्जरी गरेकी छिन्। ‘बार्बी डल’ बन्ने चक्करमा उनले २५ करोड ६० लाख रुपैयाँ खर्च गरिसकेको बेलायती मिडियाले जनाएका छन्।
इंग्ल्यान्डको स्टानफोर्डसायरमा बसोबास गर्ने मेरी डेल्गुडिसले ‘बार्बी’ बन्न यति धेरै सर्जरी गरेको बताइएको छ। उनको आइडल भने जेनिफर लोपेज हुन्। इंग्ल्यान्डबाट प्रकाशित हुने ‘मिरर’ पत्रिकाका अनुसार हरेक दृष्टिकोणबाट राम्री देखिन उनले यति धेरै सर्जरी गरेकी हुन्। मिररसँगको अन्तर्वार्तामा उनले भनिन्– ‘सानोमा मेरो बुवा–आमा मलाई नराम्री भनेर बोलाउनु हुन्थ्यो। १७ वर्षको उमेरमा मैले आफूलाई परिवर्तन गर्नुपर्ने सोच राखें।’ उनले राम्री देखिन ब्रेस्ट सर्जरी, चिउँडोको सर्जरी, गालाको सर्जरी, हेयर ट्रान्सप्लान्टदेखि धेरै प्रकारका कस्मेटिक सर्जरी गरेको बताइन्।
सानोमा उनको नाम स्टेसी थियो। तीन वर्ष अगाडि उनले आफ्नो नाम परिवर्तन गर्दै स्टार राखेकी छिन्। उनले भनिन्, ‘मैले १० पल्ट स्कुल परिवर्तन गरिसकेको छु। कोही पनि मेरो असल मित्र बन्न सकेनन्। मेरो बुवा–आमा निकै कडा हुनुहुन्थ्यो। मलाई बाहिर जान दिनु हुँदैन थियो। यतिसम्म कि हामीले कहिल्यै क्रिसमस मनाउन पाएनौं। मलाई आफ्नो बाल्यकालसँग घृणा छ।’
कस्मेटिक सर्जरीका क्रममा कुनै बेला यस्ती थिइन् मेरी डेल्गुडिस
उनी १० वर्षको हुँदा उनका बुवा–आमाको पारपाचुके भएको थियो। यसपछि उनी आमासँग बसोबास गर्थिन्। १७ वर्षको उमेरमा उनलाई आमाले घरबाट निकालिदिएकी थिइन्। घरबाट निकँल्दा उनीसँग दुई जोडी कपडा मात्र थियो। यसपछि उनले जागिर खान सुरु गरिन्। उनी पहिले पोल डान्सर बनिन्। त्यसपछि उनले सर्जरी गर्ने पैसा जुटाउन थालिन्। उनले ६ वर्षको अन्तरालमा घर किनिसकेकी थिइन्।
मिररका अनुसार उनले १७ वर्षको उमेरमा ओठको पहिलो सर्जरी गरेकी हुन्। पछिल्लो १० वर्षमा उनले २ सयभन्दा बढी सर्जरी गरेको बताइन्छ। सोसल मिडियामा सर्जरीपछिका आफ्ना तस्बिर पोस्ट गर्दा धेरैले उनलाई चिन्न सकेको थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।