गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मान्ने हो भने प्रदेश नम्बर ६ मा शीर्ष तीन दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसको करिब समान हैसियत देखिन्छ। यहाँका ७९ स्थानीय तहमध्ये एमालेले २७ तथा कांग्रेस र माओवादीले समान २५ स्थानीय तहमा जित हात पारेका थिए। दुई वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भए।
जितेको सिट संख्याको आधारमा मात्र नभई नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले पाएको मतका आधारमा पनि यो प्रदेशमा तीन दलबीचको मतान्तर खासै धेरै छैन। तीन वटै दलले करिब दुई लाखको आसपासकै संख्यामा मत प्राप्त गरेका थिए।
तर, स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिनापछि भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको परिणामलाई हेर्ने हो भने कांग्रेस यो प्रदेशमा प्रत्यक्षतर्फ नतिजा शून्यको अवस्थामा पुग्यो। प्रदेशसभा सदस्यमा एउटा मात्रै सिट जितेको कांग्रेसले प्रतिनिधिसभातर्फ कुनै पनि क्षेत्रमा जित हात पार्न सकेन। समानुपातिकतर्फको मतका आधारमा पाएको ६ सिट र प्रत्यक्षतर्फ जितेको एक सिटसहित ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका ७ जना मात्रै प्रतिनिधि हुने भएका छन्।
६ महिनामै कांग्रेस यति कमजोर भएको हो त? कांग्रेसभित्र र बाहिर अहिले यो प्रश्नमाथि चर्चा भइरहेको छ।
गुमेको छैन जनमत
जितेको सिट संख्याका आधारमा कांग्रेस निकै कमजोर देखिए पनि प्राप्त मतका आधारमा कांग्रेस निराशाजनक अवस्थामा पुगिसकेको भने छैन। जिल्लागत रुपमा वा निर्वाचन क्षेत्रअनुसार प्राप्त मतको अवस्था हेर्दा कांग्रेसको मत स्थानीय चुनावभन्दा घटेको पाइँदैन। स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखहरुले प्राप्त गरेको मत र ती स्थानीय तह रहेको अहिलेको निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारहरुले पाएको मत करिब समान छ। थोरै संख्यामा धेरै वा थोरै भए पनि ठूलो अन्तर भने देखिँदैन।
त्यसैगरी समानुपातिकतर्फ पनि कांग्रेसले उल्लेख्य मत प्राप्त गरेको छ। प्राप्त मतका आधारमा समानुपातिकतर्फ प्रदेश नम्बर ६ मा कांग्रेस दोस्रो स्थानमा रह्यो। पहिलो स्थानमा रहेको एमालेले एक लाख ६९ हजार सात सय ५५ मत प्राप्त गर्दा कांग्रेसले एक लाख ६२ हजार ३ मत प्राप्त गर्यो । मतसंख्यामा पहिलो भएको एमालेभन्दा सात हजार सात सय ५२ मतले पछि परेको कांग्रेसले मतअनुसार प्राप्त हुने सिटमा भने एमालेसँग बराबर गर्यो। दुवै दलले समानुपातिकतर्फ यो प्रदेशमा समान ६ सिट प्राप्त गरे।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले चार सिट मात्र पायो। यसरी प्राप्त मतको विश्लेषण गर्दा प्रदेश नम्बर ६ बाट कांग्रेसको जनमत गुमेको देखिँदैन। स्थानीय चुनावमा कांग्रेसको जनमत जे थियो, अहिले पनि त्यो घटेको छैन। यद्यपि स्थानीय चुनावमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही प्रतिशत कम मत खसेकाले सबै दलले प्राप्त गरेको मत अघिल्लो पटकको भन्दा यसपटक केही कम छ।
किन पछि पर्यो कांग्रेस ?
निर्वाचनको सम्मुखमै आएर दुई ठूला दल एमाले र माओवादीबीच चुनावी गठबन्धन भयो। समान तीन पार्टीबीच प्रतिस्पर्धा हुने क्षेत्रमा दुई पार्टी एक ठाउँमा भएपछि अर्को पार्टी नतिजाविहीन हुनु स्वाभाविकै थियो। यद्यपि गठबन्धनभन्दा पछि पर्ने बुझे पनि कांग्रेसले यो स्तरको परिणाम आउने आकलन भने गरेको थिएन। प्राप्त परिणामले कांग्रेसवृत्तमा व्याप्त निराशा प्रस्ट देखिन्छ।
अहिले कांग्रेसका नेता तथा कार्यकर्ताबीच आरोप–प्रत्यारोप चलिरहेको छ। कतिपयले नेतृत्वको अक्षमताले पराजित हुनुपरेको भनिरहेका छन् भने कतिपयले पार्टीभित्र मौलाएको गुटगत लडाइँ र नेताहरुबीचको आपसी अन्तरद्वन्द्वलाई कारण देखाइरहेका छन्। तर, परिणामको तथ्यगत समीक्षा र विश्लेषण गर्नेतर्फ भने खासै ध्यान पुगेको देखिँदैन।
प्रदेश नम्बर ६ मा कांग्रेस विगतको भन्दा कमजोर भएको होइन, विगतको भन्दा बलियो हुन नसकेको भने हो। ६ महिनाअघि सम्पन्न स्थानीय तहको चुनाव र अहिलेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले पाएको मतको विश्लेषणले नै यो पुष्टि गर्छ। एकातर्फ समान शक्ति र जनमत भएका दुई पार्टीबीच गठबन्धन हुनु र अर्कोतर्फ कांग्रेसले थप जनमत आफूतर्फ आकर्षित गर्न नसक्नु नै प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसको हारको प्रमुख कारण हो।
कांग्रेसभित्र अहिले जे जस्ता आरोप–प्रत्यारोप वा घात–प्रतिघातको कुरा उठे पनि चुनावी परिणाममा त्यसको प्रभाव परिणाम नै उल्टाउने गरी भने थिएन। स्थानीय चुनावमा प्राप्त मतकै आधारमा पनि एमाले र माओवादी गठबन्धनले यो चुनाव जित्ने आकलन सहजै गर्न सकिन्थ्यो। चुनावको परिणाम पनि त्यो भन्दा फरक आएन। एमाले र माओवादीका कार्यकर्ता तथा शुभेच्छुकहरुले इमान्दारीपूर्वक गठबन्धनको पक्षमा मतदान गरे, जसले गर्दा कांग्रेसले जित हासिल गर्न सकेन। चुनावको मुखैमा आएर भएको गठबन्धन दिगो नहुने र दुवै पार्टीका सबै कार्यकर्ताले यो गठबन्धनलाई स्वीकार नगर्ने कांग्रेसको आकलन थियो। यसको प्रत्यक्ष फाइदा आफूलाई पुग्ने कांग्रेसको पूर्वानुमानले फेल खायो।
गठबन्धन गरेका दुवै पार्टीका कार्यकर्ता गठबन्धनप्रति इमान्दार बनिदिए, यस्तै गठबन्धनले प्रमुख एजेन्डाको रुपमा अघि सारेको स्थायित्व र समृद्धिको नाराले कार्यकर्ताभन्दा पर रहेका आम मतदातालाई पनि आकर्षित गर्योथ। जसले कांग्रेसको पराजयमा सघाउ पुर्यानयो। आफ्नै नेतृत्वमा संविधान बनेको र अब त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्न पाउनुपर्ने नारालाई प्राथमिकता दिएर चुनावमा होमिएको कांग्रेसले भने आफ्ना कार्यकर्ताभन्दा थप मतदातालाई आकर्षित गर्न नसक्नु पनि उसको पराजयको अर्को कारण हो।
कांग्रेसलाई आगामी अवसर
निर्वाचनको परिणामले कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा राखेको छ। वाम गठबन्धनबीच कुनै दरार उत्पन्न नभएमा गठबन्धनकै सरकार बन्नेछ। सम्भवतः अब संघीय सरकार र प्रदेश सरकारमा कांग्रेसको सहभागिता हुनेछैन। तर, स्थानीय सरकारमा भने कांग्रेसको सहभागिता पाँच वर्ष रहनेछ। सोही स्थानीय सरकारमा भएको आफ्नो सहभागितालाई सदुपयोग गर्न सक्नु कांग्रेसको आगामी अवसर हो।
स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने सबैभन्दा तल्लो र महत्वपूर्ण तह हो। जसबाट जनताको पक्षमा देखिनेगरी थुप्रै काम गर्न सकिन्छ। कांग्रेसले जुन–जुन स्थानीय तहमा जित हात पारेको छ, ती स्थानीय सरकारको गतिविधिलाई जनतासँग जोडेर लैजानु उसका लागि फाइदाजनक हुनेछ। यसले स्थानीय नागरिकलाई कांग्रेससँग जोडेर राख्नेछ। कांग्रेसप्रतिको भरोसा र विश्वास मजबुत बनाउन मद्दत पुग्नेछ। किनभने जुन स्थानीय तहमा जसको नेतृत्व छ, त्यहाँ भएका कामको जस पनि उसैले पाउने पक्का छ।
त्यसैगरी केन्द्रीय र प्रदेश सरकारमा नभए पनि कांग्रेस दुवै तहका सदनमा भने हुनेछ। सदनमा उसले आफ्नो उपस्थितिलाई बलियो बनाउन सक्ने पर्याप्त ठाउँ छ। देश हित र जनताका पक्षमा नीति निर्माण गर्नका लागि आवाज उठाउने, पहल गर्ने काम कांग्रेसका प्रतिनिधिहरुले गर्न सक्छन्। मुलुकमा सरकारको मात्र होइन सदनमा प्रतिपक्षीको भूमिका पनि महत्वपूर्ण हुन्छ। लोकतान्त्रिक अभ्यासमा प्रतिपक्षीको भूमिका अझ विशेष हुने गरेको छ। त्यसैले आगामी निर्वाचनबाट आफूलाई पुनरागमन गराउन कांग्रेसले सदनमा रहेको आफ्नो उपस्थितिलाई अवसरमा बदल्न सक्नेछ।
संघीय र प्रदेश संसदमा जुन संख्यामा भए पनि आफ्नो भएको उपस्थिति र आफूले नेतृत्व गरिरहेको स्थानीय सरकारलाई सदुपयोग गर्न सक्ने हो भने आगामी पाँच वर्षपछि हुने निर्वाचनमा कांग्रेसले आफ्नो नतिजामा सुधार गर्न नसक्ला भन्न सकिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।