काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफूले कागजात कीर्ते गरेको 'स्वीकार' गरेका छन्।
हालै एक पत्रिकासँगको कुराकानीमा दिएको विवरणअनुसार उनले कागजात कीर्ते गरेको स्पष्ट हुन्छ। क्षत्री र उनका दाजु मानार्थ उपरथी तथा राष्ट्रिय सेवा दलका निर्देशक रमीन्द्र छेत्री जुम्ल्याहा सन्तान होइनन्। तर सेनापति क्षत्रीकै अनुसार उनका दाजु रमीन्द्र जम्मा दुई दिन मात्र जेठा देखिन्छन्।
सेना प्रवेश गरेपछि उमेर सच्याएको भन्ने विवादमा फसेका क्षत्रीले कात्तिक १९ को कान्तिपुरको 'कोपिला'मा आफ्नो उमेर त खुलाएका छैनन् तर भनेका छन्, ‘एसएलसीपछि मैले ओभरसियरका लागि पुल्चोक इन्जिनियरिङमा आवेदन दिएको थिएँ। म मध्यमस्तरको विद्यार्थी भएकाले पहिलो सूचीमा नाम निस्केन। पछि निस्कँदा सरस्वती बहुमुखी कलेजमा आइकम (व्यवस्थापन) पढ्न थालिसकेको थिएँ। म मध्यमस्तरको विद्यार्थी भए पनि नियमित पास हुने केहीमध्ये (याद भएसम्म ६ जना) मा परेँ। त्यसपछि म सेनामा गएँ। त्यतिबेला म १७ वर्ष १० महिनाको थिएँ। पासआउट हुँदा १८ वर्ष ११ महिनाको हुने हुँदा मलाई भर्तीमा लिएका थिए। २०३५ कात्तिक ७ मा तत्कालीन शाही नेपाली सैनिक शिक्षालय, खरिपाटीबाट अधिकृत क्याडेट तालिममा राम्रो नतिजासहित राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्ति भएँ।’
सेनापति क्षत्रीले सैनिक मुख्यालयमा बुझाएको विवरणमा भने २०१७ मंसिर १ मा जन्मिएको उल्लेख गरेका छन्। सेनाको वेबसाइटमा भने उनले १९६० नोभेम्बर १५ उल्लेख गरेका छन्। तर सेना प्रवेशको मिति भने खुलाएका छैनन्। यस हिसाबले उनी २०१७ कात्तिक ३० मा जन्मिएको देखिन्छ। र, उनकै भनाइअनुसार २०३५ कात्तिकमा सहायक सेनानी बनिसक्दा उनी १८ वर्ष ११ महिनाका थिए। उनकै कुरा र विवरणलाई आधार मानी २०३५ कात्तिकबाट १८ वर्ष ११ महिना घटाउँदा क्षत्री २०१६ सालमै जन्मिएको देखिन्छ।
क्षत्रीका दाजु निर्देशक रहेको सेनाको सेवा दलको वेबसाइटमा रमीन्द्रले आफ्नो जन्ममिति १९५९ नोभेम्बर १५ उल्लेख गरेका छन्। यस हिसाबले उनी २०१६ कात्तिक २९ गते जन्मिएको देखिन्छ। वेबसाइटमा उल्लेख अंग्रेजी जन्ममिति अनुसार यी दुई भाई एक वर्षको अन्तरालमा एकै दिन जन्मिएको देखिन्छ। तर सेनामा बुझाएको विवरणमा भने राजेन्द्रले २०१७ मंसिर १ गते उल्लेख गरेका छन्। तर कोपिलामा उनले भनेको कुरालाई आधार मान्ने हो भने राजेन्द्र दाजु रमीन्द्रभन्दा दुई दिनले मात्र कान्छा देखिन्छन्।
प्रधानसेनापतिले आफ्नो उमेर एक वर्ष सच्याएको कुराको यसअघि नै प्रमाणसहित खुलासा भइसकेको छ। २०१६ मंसिर १ मा जन्मिएका क्षत्रीले तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको ‘मार्क रजिस्टर’ मै केरमेट गरी एक वर्ष उमेर सच्याएका हुन् (तस्बिर १)। जसमा २०१६ मंसिर १ लाई केरेर २०१७ मंसिर १ बनाएका छन्। क्षत्रीको उमेर सच्याइएको व्यहोरा ‘मार्क रजिस्टर’ को माथिल्लो भागमा पनि उल्लेख छ (तस्बिर २)।
परीक्षा नियन्त्रक कार्यालयबाट ल्याइएको मार्कसिट र प्रमाणपत्रको सक्कल प्रतिलिपिअनुसार क्षत्रीले शान्ति विद्या गृह, काठमाडौंबाट तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् (तस्बिर ३ र ४)। क्षत्रीको सिम्बोल नम्बर १४०५६ ‘पी’ छ। दुवै प्रमाणपत्रअनुसार उनले सच्याएकै उमेर अनुसार पनि १४ वर्षमै एसएलसी दिएर १५ वर्षमा उत्तीर्ण गरेको देखिन्छ।
शान्ति विद्या गृहका प्रधानाध्यापक शिवकुमारी घिमिरेका अनुसार क्षत्री २०३१ सालमा एसएलसीमा अनुत्तीर्ण भएका थिए। ‘पहिलो परीक्षा बिग्रिएपछि उहाँले दोस्रो प्रयासमा २०३२ सालमा एसएलसी पास गर्नुभएको रहेछ,’ उनले भनिन्।
उमेरअनुसार पहिलो पटक उनले १३ वर्षकै उमेरमा एसएलसी दिएको देखिन्छ। पहिलो पटकको नतिजा आउँदा उनी १४ वर्षका मात्र देखिन्छन्। क्षत्रीले विद्यालयको रजिस्टरमा पनि केरमेट गरेर उमेर सच्याएका छन्। विद्यालयको डायरीमा उनको रजिस्ट्रेशन नम्बर २५६५/०३१ उल्लेख छ।
उमेर सच्याएसँगै सेनापति क्षत्रीको सेना प्रवेशको मिति पनि विवादित बनेको छ। सेनाको सिट रोल (सैनिक व्यक्तिको व्यक्तिगत विवरण रहने डायरी) अनुसार २०३५ कात्तिक ७ मा उनी सहायक सेनानी रुपमा सेना प्रवेश गरेको देखिन्छ (हेर्नुस् तस्बिर ५)। जुन कुरा उनले कोपिलासँगको कुराकानीमा पनि स्वीकारेका छन्। सच्चाइएको उमेरसँग सेवा प्रवेशको मितितुलना गर्दा क्षत्रीले १८ वर्ष नपुग्दै सेनामा जागिर खाएको देखिन्छ।
सच्याएको उमेर उनकै भनाइअनुसार १३ महिनाको तालिम सकिवरी क्षत्री १८ वर्ष पुग्नुभन्दा करिब २४ दिनअघि नै सेनामा भर्ना भएको देखिन्छ। यस हिसाबले त उनले १७ वर्ष पनि नपुग्दै सेनामा आवेदन दिएको देखिन्छ। त्यसबेला १७ वर्ष पूरा नभई सेनामा आवेदन दिन पाइँदैन थियो। अहिले त्यो उमेर हद १८ वर्ष कायम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।