मुम्बई (एजेन्सी)– बलिउडका दिग्गज निर्माता/निर्देशक महेश भट्टले सन् १९९१ को हिट फिल्म ‘सडक’को सिक्वेल बनाउने भएका छन्। उनी यो फिल्म सञ्जय दत्तसँग मिलेर बनाउँदैछन्। यसअघि पनि दुवै मिलेर फिल्म बनाएका थिए। उनीहरु २७ वर्षपछि पुनः एकसाथ देखा पर्नेछन्। महेश र सञ्जयले ‘नाम’ (१९८६) र ‘कारतुस’ (१९९९) मा काम गरिसकेका छन्। जसलाई दर्शकले निकै मन पराएका थिए।
‘सडक–२’ को घोषणापछि अभिनेत्री पूजा भट्ट निकै खुसी भएकी छिन्। उनले भर्खरै सञ्जय र बुबा महेशको संयुक्त तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन्। पूजाले एउटा अन्तर्वार्तामा आफ्नो भूमिका सार्वजनिक गरिसकेकी छिन्। उनको भूमिका केही भिन्न छ। फिल्म सुरुदेखि अन्त्यसम्म सञ्जय दत्तको वरिपरि घुम्नेछ। फिल्मलाई महेश र मुकेश भट्टले निमार्ण गर्नेछन्।
फिल्मको कहानी महेशले नै लेखेका छन्। फिल्मको सिक्वेल ३१ अगस्ट २०१८ मा रिलिज हुने बताइएको छ। १९९१ मा पहिलो पल्ट सार्वजनिक भएको ‘सडक’ मा सञ्जय दत्तले ट्याक्सी ड्राइभर रवीको भूमिका निर्वाह गरेका थिए। उनले निकै जोखिम मोलेर पूजा (पूजा भट्ट) लाई बचाएका हुन्छन्। निकै रुचाइएको सडकको सिक्वेललाई दर्शकले रुचाउँछन् कि रुचाउँदैनन्, त्यो भविष्यले बताउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।