काठमाडौं– करछली मुद्दामा ‘रेड कर्नर’ नोटिस जारी भएपछि फरार भएका क्यासिनो सञ्चालक रिचर्ड डोयल टटलले ताहचलस्थित होटल सोल्टीसँगै टाँसिएको ३ रोपनी १ पैसा जग्गामा आफ्नो स्वामित्व दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
नेपाल रिक्रिएसन सेन्टर (एनआरसी) का सचालकसमेत रहेका अमेरिकी नागरिक टटलमाथि सरकार र कर्मचारीको गरी कुल १ अर्ब ३६ करोड रुपैयाँ बक्यौता छ। उनले नेपाल सरकारको ४० करोड राजस्व बाहेक कर्मचारीको ९६ करोड तलब तिर्न बाँकी छ। ५ वर्षअघि एनआरसीमा आबद्ध कर्मचारीले पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालयमा उजुरी दर्ता गरेपछि उनी फरार भएका थिए।
त्यतिबेला एनआरसी अन्तर्गत काठमाडौं र पोखरामा गरी ८ वटा क्यासिनो सञ्चालनमा थियो। एनआरसीले होटल सोल्टीमा क्यासिनो नेपाल, होटल अन्नपूर्णमा क्यासिनो अन्ना, एभरेस्ट होटलमा क्यासिनो एभरेस्ट, होटल याक एन्ड यतिमा रोयल क्यासिनो, होटल र्याडिसनमा क्यासिनो र्याड, होटल सांग्रिलामा क्यासिनो सांग्रिला, होटल हयातमा क्यासिनो तारा र पोखराको फुलबारी होटलमा क्यासिनो पोखरा सञ्चालन गर्ने अनुमति पाएको थियो।
०५० सालमा स्थापना भएको एनआरसीले २०६७ सालको असार मसान्तसम्मको सरकारलाई तिर्नुपर्ने कर ४० करोड रुपैयाँ हालसम्म चुक्ता गरेको छैन। राजस्व नतिरी फरार भएपछि राजस्व अनुसन्धान विभागले २०६८ साल असार १७ गते गोरखापत्रमा टटलको नाममा रहेको सम्पत्ति लिलामी गर्न विज्ञापन प्रकाशित गरेको थियो।
‘देशको विडम्बना, कर्मचारीको ९६ करोड पारिश्रमिक नदिई भाग्ने, राज्यले रेड कर्नर नोटिस जारी गरेको र देशको राजस्व नतिरी भागेको व्यक्ति खुल्लम खुल्ला हिडिँरहेका छन्,’ एनआरसीका कर्मचारी प्रेम खनाल भन्छन्, ‘जेलमा हुनुपर्ने व्यक्ति अदालतमा सम्पत्ति खोज्दै हिँडिरहेका छन्।’
राजस्वले टटलको सम्पत्ति लिलाम गर्न सूचना प्रकाशित गरेपछि एनआरसीमा आबद्ध करिब १२ सय कर्मचारीले कम्पनीको नाममा रहेको १६ वटा गाडी र जग्गा नियन्त्रणमा राखेका थिए। अहिले पनि जग्गा र गाडी कर्मचारीको नियन्त्रणमा रहेको खनाल बताउँछन्।
‘हामी आफ्नो पारिश्रमिक नपाउँदासम्म एक इन्ची पनि जग्गा छोड्ने छैनौं,’ उनले भने।
७६ वर्षीय टटलले काठमाडौं वडा नम्बर–१० मा बस्ने ४३ वर्षीय जीवनकुमार पोखरेललाई अख्तियारी दिँदै गत पुस १ गते जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।
होटल सोल्टीसँगै जोडिएको दुईवटा कित्तामा रहेको १ रोपनी ५ आना र १ रोपनी ११ आना १ पैसा जग्गा दाबी गर्दै टटलले मुद्दा हालेका हुन्। उनले जग्गाबाट थप आर्थिक लाभ लिन मुद्दा दायर गरेको एनआरसीका पूर्व कर्मचारीहरु बताउँछन्।
नेपाल पर्यटन होटल क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक संघका अध्यक्ष गंगा दाहाल भन्छन्, ‘यहाँको जग्गा आनाको ५० देखि ६० लाख रुपैयाँसम्म सहजै बिक्री हुन्छ। आफ्नो राजनीतिक र कानुनी प्रभाव देखाएर जग्गा फुत्काउने र बेचेर फेरि भाग्ने दाउँमा छन् टटल।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।