काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका झन्डै डेढ दर्जन केन्द्रीय सदस्यले विभिन्न माग राखी पार्टीलाई पत्र बुझाएका छन्।
_x000D__x000D_
बुधबार पार्टी महासचिव विष्णु पौडेललाई बुझाइएको पत्रमा अविलम्ब केन्द्रीय समितिको बैठक बोलाउन माग गरिएको छ। ‘केन्द्रीय कमिटीको सघन र अन्तर्क्रियात्मक संवाद गर्ने तथा पार्टीले गर्ने हरेक महत्त्वपूर्ण निर्णयहरु केन्द्रीय कमिटीबाट पारित गराएपछि मात्रै लागू गर्ने पद्धतिको पालना गरियोस्,’ पत्रमा भनिएको छ।
_x000D__x000D_
उनीहरुले पोलिटब्युरो कमिटी तत्काल गठन गर्न र नियमित रुपमा बैठक बोलाउन, सचिवालयलाई सर्वेसर्वा नबनाउन, निश्पक्ष ढंगले क्षमताअनुसार जिम्मेवारी वितरण गर्न, छरितो प्रक्रियाबाट पार्टी एकीरकणको काम टुंग्याउन, सरकार र संसदीय दल सञ्चालनबारे छलफल गर्न माग गरेका छन्।
_x000D__x000D_
‘पत्र बुझाउँदा हामी २२ जना थियौं। तर, यो आम पार्टी सदस्यको भावना हो’, पत्र बुझाउने मध्येका एक ठाकुर गैरेले भने।
_x000D__x000D_
एमाले र माओवादी मिलेर गत जेठ ३ गते नेकपा बनेको थियो। ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको बैठक ६ महिनामा बस्ने विधानमा व्यवस्था गरिएको छ। सो समितिको अघिल्लो बैठक गत जेठ १० गते बसेको थियो। सो बैठकमा एकीकरणको प्रयोजनका लागि हस्ताक्षर गर्न, छुटेकालाई सपथ खुवाउन बोलाइएको बैठमा अध्यक्षद्वयले सदस्यहरुलाई भ्रष्टाचार विरोधी विशेष निर्देशनहरु पनि दिएका थिए।
_x000D__x000D_
तर, सदस्यहरुबीच छलफल हुन पाएन। सोही बैठकमा पार्टी एकता गर्न विधान अनुसारको नियमावली बनाउन गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएपछि व्यवस्थित रुपमा अर्को बैठक बस्ने अध्यक्षद्वयले प्रतिवद्धता जनाएका थिए।
_x000D__x000D_
तर, ६ महिना पुग्नै लाग्दा पनि बैठकको कुनै सुरसार नभएको भन्दै रामकुमारी झाँक्रीले असन्तुष्टि पोखिन्। उनले वर्षमा दुई पटक मात्रै बैठक बस्ने प्रावधान नै गलत भएको बताइन्।
_x000D__x000D_
‘जेठ ३ गते एकता भयो। तर यो एकता किन भयो? त्यसको राजनीतिक आवश्यकता, सांगठनिक महत्व, चुनावबाट पाएको जनमत र सरकारको दायित्वजस्ता विषयमा छलफल गर्ने ठाउँ केन्द्रीय कमिटी हो। तर, बैठक बस्ने सुरसार नै छैन’, झाँक्रीले ज्ञापनपत्र बुझाउनुको कारण बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।