काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरिबोधिनी एकादशीका अवसरमा आजदेखि चढाइने भएको छ।
_x000D__x000D_
२०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले २ हजार ५ सय किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए। पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गरेको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।
_x000D__x000D_
सोमबारदेखि भित्र र बाहिर एकै किसिमको चन्दन वितरण गरिने पनि उनले बताए।
_x000D__x000D_
यसअघि भित्र र बाहिर फरकफरक चन्दन वितरण भएको गुनासो भक्तजनबाट आउने गरेको थियो। वर्षमा २५० किलो चन्दन भक्तजनलाई वितरण गर्ने कोषले जनाएको छ। वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ।
_x000D__x000D_
पशुपतिनाथ मन्दिरमा चढाउन हाल गुठी संस्थान र कौशीतोषाखानाले अढाई/अढाई किलो गरी मासिक ५ किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले सुनाए। त्यसले नपुग्ने भएकाले महिनामा एक किलो मोदीले दिएको चन्दनबाट पशुपतिनाथ मन्दिरलाई थपिनेछ। १२ किलो चन्दन पशुपतिनाथलाई वार्षिक रुपमा थपिनेछ। वासुकीनाथलाई वार्षिक ६ किलो गरी ४ सय १८ किलो चन्दन वर्षमा खर्च हुनेछ। यो चन्दन ६ वर्षसम्मलाई पुग्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।