पोखरा- पोखरा महानगरको दमकल शाखामा थोत्रा गाडीको चाङ छ। कुनै प्रयोग भइसकेर जीर्ण भइसकेका हुन् भने कुनै कहिल्यै प्रयोगमा नआइकनै थन्किएका छन्। त्यसरी थन्किएर बस्ने सवारीमा ह्यान्ड रोलर, सिफ्टेज कलेक्सनलगायत छन्।
_x000D__x000D_
दमकल शाखाको चौरमा ती गाडी थन्किएको वर्षौं भयो। यहाँसम्म कि महानगरकै ढड्डामा समेत त्यसबारे यकिन लेखाजोखा देखिन छाडिसकेको छ। जनप्रतिनिधि आउनुभन्दा धेरै वर्ष पहिले विभिन्न माध्यमबाट खरिद गरिएका ती गाडीका नम्बर प्लेटसमेत खुइलिसकेको छ। महानगरमा ती गाडीको स्वामित्व दाबी गर्ने प्रमाण भेट्टाउन मुस्किल छ।
_x000D__x000D_
‘हामी आउनुभन्दा अघिदेखि नै त्यहीं छन् ती गाडीहरु। पहिलेपहिले बनाए प्रयोग गर्न मिल्ने किसिमका थिए। अहिले त त्यो पनि सम्भव देखिँदैन,’ दमकल शाखामा लामो समयदेखि काम गर्दै आएका एक जना कर्मचारी भन्छन्, ‘कुनै-कुनै गाडी बेलाबेलामा बनाउन लैजाँदैछौं भने कति त लगेर फेरि यतै फर्काएर पनि ल्याएका छन्।’महानगरका नाममा रहेका ती गाडीले दमकल राख्ने ठाउँ भरिएको उनी सुनाउँछन्।
_x000D__x000D_
दमकल शाखामा ग १ झ २४६ नम्बरको खरानी रङको एउटा गाडी छ। महानगरको लेखा शाखाका अनुसार सो गाडी २० वर्ष पहिले किनिएको हो। ‘५५ सालभन्दा अघि नै किनिएको हामीसँग रेकर्ड छ,’ महानगर भण्डार शाखा प्रमुख किरण कोइरालाले भने, ‘त्यतिबेला राजश्व कट्टी गरेर १२ लाखमा किनिएको हो।’उनले उक्त गाडी ५० को दशकमा किनिएको बताए।
_x000D__x000D_
आर्थिक वर्ष २०७१/७२ सालमा सो गाडी मर्मत गर्न महानगरले साढे ३ लाख खर्चियो। तर २ महिना पनि नबित्दै गाडी पुरानै अवस्थामा पुगेपछि त्यसै थन्किएर बसेको कोइराला सुनाउँछन्। ‘पछि फेरि मर्मत गर्न खोजिएको थियो, त्यो बेला ५ लाख बजेट पनि छुट्ट्याइएको थियो,’ उनले भने, ‘झनै दोब्बर खर्च हुने र काम पनि नदिने देखिएपछि गाडी त्यसै रहेको छ।’
_x000D__x000D_
_x000D__x000D_
उक्त गाडीको मर्मतको जिम्मा निजी कम्पनी जेबी ट्रेडर्सले लिएको थियो। तीन लाख रुपैयाँ खर्चमा मर्मत गरिएको गाडी दुई महिना पनि चलेन। उक्त गाडी नचलेर बसेको मात्रै तीन वर्ष भइसकेको छ। बनाउनै धेरै खर्चिलो देखिएपछि मर्मत नगरिएको महानगरका कर्मचारी बताउँछन्।
_x000D_
_x000D_मूल्य १८ लाखः काम शून्य
_x000D_दमकल शाखाकै चौरमा जीर्ण अवस्थामा छ, बाटो सम्याउने एउटा रोलर। खाल्डा पुर्ने रोलर किनेको १२ वर्ष भइसकेको छ। महानगरको भण्डार शाखाका अनुसार त्यो हाते रोलर १२ लाख रुपैयाँमा किनिएको हो। महानगरले किनेर त ल्यायो, तर प्रयोग भने एक दिन पनि नभएको महानगरका पुराना कर्मचारी बताउँछन्।
_x000D__x000D_
‘पहिलेदेखि जसरी राखियो त्यस्तै छ। कहिले माथि देखि अरु सामानले पुरिन्छ र देखिँदैन केही समयपछि फेरि यस्तै हुन्छ,’ दमकल शाखाका एक कर्मचारीले भने, ‘खाल्डा पुर्ने भन्छन्। खै के काम गर्छ देख्या छैन।’उनले महानगरको सरसफाइ शाखाका नाममा सो रोलर रहेको सम्म जानकारी भएको बताए।
_x000D__x000D_
दमकल शाखाका सुपरभाइजर बसन्त गौतमका अनुसार रोलरमा दुई इन्जिन हुनुपर्नेमा एउटा मात्रै छ, जसका कारण रोलरले आफ्नै वजन पनि थेग्न सक्दैन। 'दुई सिलिन्डरमा बराबर वजन हुनुपर्छ । तर एउटा मात्रै भएकाले माटो राम्रोसँग दबाउनै सक्दैन,’ उनले भने, ‘चाहेर पनि काममा ल्याउन सकिएको छैन।’ अर्को इन्जिन थप्न सकिने भएपनि सुरुमै कम्पनीबाट त्यस्तै आएकाले आफूहरुले त्यतातर्फ काम नगरेको जानकारी गौतमले दिए।
_x000D__x000D_
पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले रोलर उपयुक्त नभएकाले ‘कामविहीन’ भएर थन्किएको बताए। ‘रोलरले माटोलाई आवश्यक प्रेसर दिन सकेन। त्यसपछि एक दिन पनि प्रयोगमा नआएर त्यसै बस्यो,’ सूचना अधिकारी सुवेदीले भने।
_x000D__x000D_
_x000D__x000D_
कामविहीन भएको हाते रोलरलाई व्यवस्थापन गर्न अब कार्यपालिका बोर्डले नै निर्णय गर्नुपर्ने जानकारी सुवेदीले दिए। ‘हामी सबै जनप्रतिनिधिलाई पनि सो बारे जानकारी दिन्छौं। यसका लागि कार्यपालिका बैठकले नै निर्णय गर्नुपर्छ,’ उनले भने।
_x000D__x000D_
त्यस्तो काम नलाग्ने उपकरण लिलामीमा लैजान सकिने सुवेदीले प्रस्ट्याए। उनले भने, ‘अन्य नगरपालिकाले मागेमा हामी सहयोग गर्न सक्छौं। त्यसो हुँदैन भने लिलामी प्रक्रियामै लैजानुपर्ने हुन्छ।’ सवारीजन्य वस्तुको लिलामी प्रक्रिया लामो र झन्झिटिलो हुने भएकाले यसबारे कार्यपालिका बोर्डले गर्ने निर्णय नै उत्तम हुने उनले सुनाए।
_x000D__x000D_
गाडी र रोलर जनप्रतिनिधि आउनुभन्दा पहिले नै खरिद गरिएको र धेरै वर्ष पुरानो भइसकेकाले यसबारे चाँडै उपाय खोजिने महानगर बताउँछ। ‘पुराना लेखा भएकाले धेरै पुराना सवारीको खास मूल्य नै भेटिएको छैन। हामी त्यसैमा लागेका छौं। मूल्यांकन भयो भने यो समस्या हट्दै जान्छ,’ लेखा विभागका एक कर्मचारी भन्छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।