पिताजीको निधनपछि बिपी बनारसमा पढिरहेका गिरिजालाई भेट्न पटनास्थित कालीबाबुको घर पुगे। एउटै कोठामा दुइटा खाट राखेर बिपी र गिरिजाका लागि सुत्ने प्रबन्ध मिलाइएको थियो त्यहाँ।
_x000D__x000D_
त्यो दिनको स्मरण गर्दै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसँग भनेका छन्, 'लामो समयपछि सान्दाजुसँग भेट भएको थियो। राति कुरा गर्दै जाँदा मैले कम्युनिस्टले प्रयोग गर्ने भाषा बोलेछु क्यारे! बनारसमा विश्वविद्यालय पढ्दा मनमोहन अधिकारीहरूको सङ्गतले म फेडरेसन (कम्युनिस्ट) तिर आकर्षित भएको थिएँ। उहाँले थाहा पाइहाल्नुभयो (नेपाल, २०६७)।'
_x000D__x000D_
बिपी र गिरिजाबीच त्यो रात भएको वार्तालाप यस्तो थियो-
_x000D_बिपीः भारतमा यत्रो स्वतन्त्रता आन्दोलन चलिरहेको छ। गान्धीजी कहाँ छन्?
_x000D_गिरिजाः जेलमा, अरु कहाँ?
_x000D_बिपीः जवाहरलाल नेहरू, जयप्रकाश नि?
_x000D_गिरिजाः जेलमा।
_x000D_बिपीः गान्धी र नेहरूहरू जेलमा छन्। तेरा नेताहरु को हुन् र ती कहाँ छन्?
_x000D_गिरिजाः मेरा नेता श्रीपद् अमृतपद डाँगे (नेता, भाकपा) हुन् उनी बम्बैमा छन्।
_x000D_बिपीः गान्धी, नेहरू, जयप्रकाश जेलमा, डाँगेचाहिँ किन बाहिर? ल अब धेरै राति पनि भयो सुत।
_x000D__x000D_
चर्का नारा र भाषण गरे पनि भारतका वामपन्थीहरू अङ्ग्रेजसँग मिलेका थिए। त्यसैले गान्धी, नेहरूलगायत सबै नेता जेलमा हुँदा कम्युनिस्ट पार्टीका महासचिव डाँगे भने बम्बैमा ठाँटसँग बसिरहेका थिए। दाजुको प्रश्नले गिरिजा रातभरि सुत्नै सकेनन्। बिपीका हरेक प्रश्न उनको दिमागमा घुमिरहे।
_x000D__x000D_
त्यसो त विद्यार्थीकालमा बिपी आफैं कम्युनिस्ट थिए। आइए परीक्षा दिएर बसेका बेला उनी व्यापार बढाउने अभियानमा रहेका पिताजीसँग रेलमा बम्बै गए। फर्किने बेला बम्बैदेखि इलाहावादसम्म उनले कम्युनिस्ट पार्टीका नेता डाँगेसँग रेलयात्रा गरे। त्यही यात्राले उनलाई कम्युनिज्मप्रति आकर्षित गर्यो।
_x000D__x000D_
बनारस आएपछि वामपन्थीहरूसँगको सङ्गत बढ्दै गयो। त्यो बेला बिपी साथीहरूका साथ भूमिगत रूपमा मस्को रेडियोका अङ्ग्रेजी प्रसारण सुन्थे। डाँगेलाई भेटेपछि कम्युनिस्ट विचारधारातर्फ आकर्षित भएका उनी 'बिएचयूमा पढ्दा देवकान्त बरूवालगायतका साथीहरूसँग मिलेर खोलिएको विद्यार्थी सङ्गठनका सचिव थिए, पछि अध्यक्ष भए।'
_x000D__x000D_
तिनताका बिपी सहपाठी देवेन्द्रप्रसाद सिंह र राजेश्वरप्रसाद मार्फत् जयप्रकाश नारायणको सम्पर्कमा पुगे। राजेश्वरप्रसाद जयप्रकाशका आफ्नै भाइ थिए। समाजवादी नेता जयप्रकाशले उनलाई समाजवादी बन्न प्रेरित गरे। भाइ गिरिजाप्रसादलाई उनले सोधेकै प्रश्न जयप्रकाशले बिपीलाई सोधेका थिए।
_x000D__x000D_
जयप्रकाश र बिपीबीच भएको वार्तालापको अंश यस्तो थियो-
_x000D_जयप्रकाशः बिपी, तिमी त कम्युनिस्ट रहेछौ। यत्रो स्वतन्त्रता सङ्ग्राम चलेको छ। तिम्रा एउटै नेता पक्राउ परेका छैनन्। ल भन त, तिम्रा नेताको को हुन् र कहाँ छन्?
_x000D_बिपीः श्रीपद् अमृत डाँगे बम्बैमा छन्।
_x000D_जयप्रकाशः डाँगे त अङ्ग्रेजहरूसँग मिलेर बम्बैमा बसेका छन्। तिमी डाँगेको कार्यकर्ता कसरी महात्मा गान्धीले सञ्चालन गरेको स्वतन्त्रता सङ्ग्राममा होमियौं?
_x000D__x000D_
बिपीले जवाफ दिन सकेनन्।
_x000D__x000D_
कम्युनिस्टहरूले भारतीय स्वतन्त्रता सङ्ग्रामबाट हात झिकेका मात्र थिएनन्, अङ्ग्रेजलाई सहयोग गर्दै गान्धी नेतृत्वको 'भारत छोडो' आन्दोलनको निन्दा गरिरहेका थिए।
_x000D__x000D_
दोस्रो विश्वयुद्ध जारी रहँदा बेलायत र रूसबीच सैन्य सहयोगसम्बन्धी सन्धि भएको थियो। त्यही आधारमा भारतका वामपन्थीहरू अङ्ग्रेजको विरोध नगर्ने बरु उनीहरूबाट लाभ लिएर बस्ने रणनीतिमा थिए। तिनले भारतीय स्वाधीनता आन्दोलनको विरोध गरिरहेका थिए।
_x000D__x000D_
त्यही विषयलाई लिएर 'भारतीय स्वाधीनता सङ्ग्राम'का योद्धाहरूको कम्युनिस्टसँग कटुता बढेको थियो। काङ्ग्रेस सोसलिस्ट पार्टीका कार्यकर्ता धमाधम पक्राउ परिरहेका थिए। समाजवादीहरू कम्युनिस्टलाई गद्दार भन्न थालेका थिए। यस्तै परिस्थिति र मनस्थितिमा बिपीको राजनीतिक प्रशिक्षण भएको थियो (दुलालः २०७२, ३४ र ३५)।'
_x000D__x000D_
त्यही बेला जयप्रकाशले बिपीसँग भनेका थिए, 'तिमी १८ वर्षका छौ र कम्युनिस्ट छैनौ भने सोच्नुपर्छ, तिम्रो हृदय छैन। तर तिमी २८ वर्षमाथिका छौ, तैपनि कम्युनिस्ट छौ भने बुझ्नुपर्छ, तिम्रो दिमाग छैन।'
_x000D__x000D_
वामपन्थी विचारधाराबाट प्रभावित बिपीलाई त्यही कुराले प्रजातान्त्रिक समाजवादी कित्तामा उभ्यायो।
_x000D__x000D_
बिपीले भनेका छन्, 'सन् १९२९ को सत्ता लडाइमा स्टालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएको समाचार आउँदा मलाई ठूलो चोट पुग्यो। अनि मैले कम्युनिस्ट पार्टी त्यागें (गिरि, २०६६ ३१७)।'
_x000D__x000D_
कम्युनिस्ट विचार छोड्दाको घटना उनी आफ्नो परिवारका सदस्यहरूलाई सुनाउने गर्थे।
_x000D__x000D_
राजनीतिमा सक्रिय हुन थालेपछि सन् १९२९ मा राममनोहर लोहियामार्फत पहिलो पटक बिपीले महात्मा गान्धीलाई भेटे। त्यो बेला उनी मात्र १५ वर्षका थिए। उनीहरूबीच संवाद भयो।
_x000D__x000D_
गान्धीः कसको प्रेरणाले राजनीतिमा लाग्यौ?
_x000D_बिपीः पिताजी (कृष्णप्रसाद)। म तीन वर्षको हुँदा हाम्रो सिङ्गो परिवार प्रवास आउनुपर्यो। हाम्रो परिवारका सबै सदस्यलाई पक्राउ आदेश छ। हाम्रो सबै सम्पत्ति रोक्का छ। १२ वर्षदेखि भारतमा निर्वासित जीवन बिताइरहेका छौं।
_x000D__x000D_
पिताजीबाट बिपीले राजनीतिक प्रशिक्षण पाएका थिए। पिताजीको बुझाइ थियो, 'पहिला अङ्ग्रेजको पन्जाबाट भारत मुक्त हुनुपर्छ। त्यसपछि नेपालबाट राणाशाही हटाउन सहज हुनेछ।' त्यही मान्यताका आधारमा बिपीसहित धेरै नेपाली भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय थिए।
_x000D__x000D_
काङ्ग्रेस नेता भीमबहादुर तामाङलाई दिएको अन्तर्वार्तामा बिपीपत्नी सुशीलाले भनेकी छन्, 'पिताजीले बिपीलाई टीकोटालो, फूलमाला लगाई खुसीका साथ बिदा गर्नुभयो र यस शुभयात्राको घडीमा कसैले पनि एक थोपा आँसु नचुहाउनू भनी परिवारका सदस्यहरूलाई सचेत गराउनुभएको थियो (कोइराला, २०७०, २६१ र २६२)।'
_x000D__x000D_
कलिलो उमेरमै भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रुपले लागेका बिपीको लोकप्रियता बढ्दै थियो। दोस्रो विश्वयुद्धताका उनी 'बिहारमा समाजवादी पार्टीको सहायक सचिव भए। उनलाई काङ्ग्रेस समाजवादी पार्टीको भारतभर विद्यार्थी आन्दोलन हेर्ने जिम्मा थियो (चटर्जी, २०६३, ७१)।' त्यसै बखत ब्रिटिस सरकारले उनलाई जबर्जस्ती सेनामा भर्ना गर्यो। अनि 'ब्रिटिस गोर्खा सैनिकलाई भड्काएको आरोपमा २९, नोभेम्बर १९४२ मा पटनाबाट पक्राउ गरियो (अधिकारी, २०७१, ५७)।'
_x000D__x000D_
बाँकेपुरमा केही दिन राखेपछि भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादसँगै बिपीलाई हजारीबाग जेल सारियो। चार वर्ष भारतीय जेलमा बस्दा उनले जयप्रकाश नारायण, जगजीवन रामलगायत भारतीय नेताहरूसँग सङ्गत गर्ने अवसर पाए (गिरि, ३९४)।'
_x000D__x000D_
प्रवासमा रहेका नेपालीहरूबीच बिपीको प्रभाव बढ्दो थियो। राणा शासक उनको त्यो सक्रियता र प्रभावका कारण भयभीत र सशङ्कित थिए। त्यसैले भारतीय जेलमा रहेका बिपीलाई सुपुर्दगी गर्न राणाहरूले ब्रिटिस सरकारमाथि दबाब बढाए। ब्रिटिस सरकारले नेल र हतकडी लगाएर बिपीलाई रक्सौल पठाउने मिति तय गरी नेपाल सरकारलाई पत्राचारसमेत गरिसकेको थियो। उनलाई लिन रक्सौलतर्फ राणाको विशेष सुरक्षा टोली खटिइसकेको थियो।
_x000D__x000D_
'राजनीतिक कारणले पक्राउ परेका उनलाई सुपुर्दगी गर्न नमिल्ने भन्दै कानुनविद् कालीप्रसाद उपाध्यायले सङ्घीय अदालतमा रिट दायर गरे। अदालतले सुपुर्दगी गर्ने ब्रिटिस भारत सरकारको निर्णयलाई गैरकानुनी ठहर गरेपछि अन्तिम समयमा उनलाई नेपाल पठाइएन (गौतम, २०५५, ४)।'
_x000D_
_x000D_केही समयपछि हजारीबाग जेलबाट छुटेपछि घाँटीको क्यान्सर उपचारका लागि बिपी ६ महिना टाटा क्यान्सर अस्पताल बम्बैमा बसे। त्यसपछि नेपालमा
_x000D_प्रजातन्त्र स्थापनाबारे प्रवासमा रहेका नेपालीहरूसँग परामर्श गर्न थाले।
_x000D__x000D_
राणाको दमन, अन्याय र अत्याचारले सीमा नाघे पनि महाराजलाई विष्णुको अवतार ठान्ने समाज बिस्तारै चेतनशील हुँदै थियो। दोस्रो विश्वयुद्धमा युरोपसहित विभिन्न मूलुकमा लडेर बिदामा घर आएका गोर्खा सैनिकहरूले बाहिरी संसारमा आफूले देखेका, जानेका कुराहरू गाउँगाउँमा सुनाइरहेका थिए। प्रजातन्त्र र नागरिक अधिकार थाहा पाउँदा दूरदराजका नेपाली जनता छक्क पर्थे। युरोपमा भएको राजनीतिक अभ्यासका कुरा नेपाली समाजका लागि नितान्त नयाँ विषय थिए। गान्धीको अहिंसात्मक आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाली समाजमा बढिरहेको थियो।
_x000D__x000D_
भारतीय स्वतन्त्रता सङ्ग्रामका क्रममा जेल परेपछि बिपीको ख्याति नेपाल र भारतमा चुलिएको थियो। भारत छोडो आन्दोलनको नेतृत्व गरिरहेका गान्धीसम्म आन्दोलनका हरेक रिपोर्ट नपुग्ने कुरै भएन। उनी बिपीबाट पनि निकै प्रभावित थिए।
_x000D__x000D_
( पत्रकार जगत नेपालको पुस्तक बिपीको विद्रोहबाट। बाह्रखरी बुक्सले बजारमा ल्याउन लागेको पुस्तक मंसिर ७ गते सार्वजनिक हुँदैछ। )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।