जनकपुर– जयनगर–जनकपुर–कुर्था रेल्वेमा पुस ३ गतेसम्ममा रेल सञ्चालन गर्ने तयारी थालिएको छ।
_x000D__x000D_
जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर लामो लिक बिछ्याएर रेल चलाउने तयारी अनुसार काम तीव्र गतिमा भइरहेको छ। तर तत्काललाई जनकपुरदेखि कुर्थासम्म ३४ किलोमिटर खण्ड भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने याेजना छ। उक्त रेल्वे खण्डको निर्माण काम लगभग सकिएको रेल विभागले बताएको छ।
_x000D__x000D_
अहिले रेल्वे स्टेसन र ‘प्लेटफर्म’ निर्माणलाई अन्तिम रूप दिने काम भइरहेको छ। भारत सरकारको लगानीमा उक्त रेल्वे खण्डमा ब्रोडगेज ट्रयाक निर्माण गरिएको छ। भारतको निजी कम्पनीसँग ‘वेटलिज’ मा रेल्वेको इन्जिन र डब्बा लिएर सञ्चालन गर्न लागिएको विभागले बताएको छ। इन्जिन र डब्बाका साथै प्राविधक कर्मचारी भारतीय कम्पनीबाट लिजमा लिइने र प्रशासनिक कार्य भने नेपालका कर्मचारीले गर्ने गरी यस खण्डमा रेल सञ्चालनको तयारी भइरहेको छ। यो नेपालको दोस्रो रेल्वे लाइन हुनेछ।
_x000D__x000D_
भारतको क्यार्सियल संस्थान र राइट्स रेल्वे कम्पनीसँग इन्जिन र डब्बा वेटलिजमा लिने प्रस्ताव रेल विभागले अगाडि बढाएको छ। विभागले इन्जिन सहित ६ देखि १५ डब्बासम्मको एउटा रेल वेटलिजमा लिने प्रस्ताव गरेको छ।
_x000D__x000D_
रेल विभागले भारतीय कम्पनीसित रेल वेटलिज र खरिद गर्ने दुवै विषयमा कुराकानी गरिरहेको छ। रेल विभागका महानिर्देशक बलराम मिश्रले छिटो उपलब्ध गराए रेल खरिद गर्ने योजना रहेको बताए। ‘हाम्रो पहिलो प्राथमिकता रेल खरिद गर्ने नै हो,’ उनले भने, ‘छिटो उपलब्ध नभए वेटलिजमा रेल्वे सञ्चालनमा ल्याइन्छ।’
_x000D__x000D_
भारतीय कम्पनीले एक सेट रेल्वेको करीब ५० करोड भारतीय रुपैयाँ पर्ने जानकारी गराइसकेको छ।
_x000D__x000D_
‘वेटलिजमा भारतीय कम्पनीसँग रेलको इन्जिन र डब्बा लिने सहमति यसै साता हुँदैछ,’ नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाले भने। उनका अनुसार त्यस सम्बन्धमा दुवै मुलुकका उच्च तहमा छलफल भइरहेको छ।
_x000D__x000D_
सीमित समयका लागि भारतीय कम्पनीसँग वेटलिजमा इन्जिन, डब्बा र प्राविधिक सहयोग लिने सम्झौता हुने उनले बताए। त्यस समयसम्म मुलुकभित्रै जनशक्ति तयार पार्ने र नेपाली जनशक्ति तयार भएपछि भारतीय कम्पनीसँगको वेटलिज सम्झौता नवीकरण नहुने उनले बताए।
_x000D__x000D_
हाल भारतको रक्सौलदेखि वीरगन्जको सिर्सिया बन्दरगाहसम्म वेटलिजमै मालवाहक रेल चलिरहेका छन्।
_x000D__x000D_
भारतको कंकर ग्रुपको साझेदारीमा नेपालको हिमालय ट्रमिनलले रक्सौलदेखि सिर्सियासम्मको ८ किलोमिटर दुरीमा मालवाहक रेल सञ्चालन गरेको १० वर्षभन्दा बढी पुगेको छ।
_x000D__x000D_
भारतमा ब्रिटिस शासनको समयमा जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेल्वेको ‘न्यारोगेज’ ट्रयाक निर्माण गरिएको थियो। निरन्तर नोक्सानी भएको र सञ्चालन खर्च बढेको भन्दै नेपाल सरकारले ७ वर्षअघि न्यारोगेज रेलको सञ्चालन बन्द गरेको थियो। भारत सरकारले त्यही न्यारोगेज रुटमा ब्रोडगेजको निर्माण गरेको हो।
_x000D__x000D_
यात्रु र मालवाहक दुवै रेल चल्न सक्ने जयनगर–जनकपुर–कुर्था रेल्वेको शुभारम्भ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने इच्छा व्यक्त गरेको बताइएको छ। तर, अहिलेसम्म उनको नेपाल भ्रमण निश्चित भई नसकेकाले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रेल्वेको उद्घाटन गर्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।