ad

गण्डकी प्रदेशमा फस्टाउँदै कफी उत्पादन

विकास मगर

Nepal Live

पोखरा– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्दै आइरहेको कफी दिवसको १४ औं संस्करण शनिबार पोखरामा हुँदैछ। अहिलेसम्म काठमाडौं, ललितपुरलगायत जिल्लालाई मात्रै कफीको केन्द्र मानेर दिवस मनाइरहेको अवस्थामा पछिल्लो समय गण्डकी प्रदेशमा कफीको राम्रो उत्पादन भइरहेकाले दिवसका लागि कास्कीलाई छनोट गरिएको बोर्डका केन्द्रीय कार्यकारी निर्देशक शेषकान्त गौतम बताउँछन्। 

‘काठमाडौं सहरमा आएर कफी खेती गर्छु भन्ने सम्भव हुँदैन। पछिल्लो समय गण्डकीका प्रायः सबै जिल्लामा यसको राम्रो उत्पादन हुँदै आएको छ,’ गौतम भन्छन्, ‘गण्डकी प्रदेशमामात्रै वार्षिक २ सय मेट्रिक टन कफी उत्पादन भइरहेको देखिन्छ।’ उनी नेपालका अधिकांश जमिन कफी खेती गर्न उत्तम रहेको सुनाउँछन्। 

बोर्डले विभिन्न सर्वेक्षण र अध्ययन गरेर पश्चिमका ५ जिल्लालाई कफीको ‘सुपर जोन’ घोषणा गरेको छ। त्यसमा पाल्पा, प्युठान, अर्घाखाँची, स्याङजा र गुल्मी छन्।

‘सुपर जोन घोषणा गरिएका सबै जिल्लामा जुनसुकै खाली भू–भागमा पनि खेती गर्न सकिन्छ,’ गौतम भन्छन्।’

सुपर जोन घोषणा भएका जिल्लामा व्यावसायिक कफी खतीको प्रयास भइरहेको बोर्डको भनाइ छ। 

नेपालमा पहिले ठूला र उच्च घरानीयाँ र वर्ग भनिएकाले मात्रै कफी प्रयोग गर्थे तर अहिले सबैले प्रयोग गर्न थालेपछि माग पनि ह्वात्तै बढेको छ।

बोर्डका अनुसार कफीको नेपालमा हाल ६ देखि ७ सय मेट्रिक टन वार्षिक माग हुँदै आएको छ। तर उत्पादन भने ५ सय मेट्रिक टनमात्रै छ। गौतम भन्छन्, ‘कफी खेती नभइराखेको भने होइन। तर, वैज्ञानिक र प्रविधियुक्त नभएकाले प्रयाप्त हुन सकेको छैन।’

बार्डको तथ्यांक अनुसार नेपालमा अहिले ३२ हजार किसान छन्। उनीहरुले ससाना एवं घरायसी प्रयोजन गर्नमात्रै कफीको उत्पादन गरिरहेका छन्। गौतम भन्छन्, ‘पछिल्लो समय कफी पारखी बढिरहेका छन्। तर, कफीकै लागि ठूला लगानी भएको कतै पाइँदैन।’

उनले १४ औं कफी दिवस कफी उत्पादनमा ठूला लगानीकर्तालाई प्रेरित गर्नेबारे केन्द्रित रहने सुनाए। 

‘पूर्वको झापा, पाँचथर, इलामलगायत जिल्लामा ठूला व्यवसायी र उद्योगीले चियामा राम्रो लगानी गरेका छन्। त्यसैअनुसार चियामा राम्रो प्रतिफल आएको छ। कफीमा पनि ठूला लगानी भित्राउन सकियो भने देशको अर्थतन्त्रमा वृद्धि हुनेमा २ मत छैन,’ बोर्डको क्षेत्रीय कार्यालय प्रमुख लक्ष्मण पोख्रेल भन्छन्, ‘कफीमा लगानी गर्न चाहनेलाई सुरक्षाको प्रत्याभूति दिने पनि भनेका छौँ।’

पोख्रेलले कफी किसानका लागि इन्सोरेन्सको सुविधा ल्याउन लागेको पनि सुनाए।

उनले भने, ‘कफीमा विभिन्न समयमा सिन्दुरे र सेतो गवाँरो रोग लाग्न सक्छ। त्यसका लागि इन्सोरेन्सको सुविधा ल्याउन पनि हामीले प्रक्रिया सुरु गरेका छौँ।’ 

नेपालमा उत्पादन भएको कफीको विदेशमा माग उच्च भएको बोर्डको क्षेत्रीय कार्यालयका अधिकृत चन्द्र पुरीको अनुभव छ।

भन्छन्, ‘नेपालको कफी बाहिरी देशकोभन्दा दोब्बर मूल्य तिर्न पनि राजी छन्। अहिले उनीहरुले २ सय मेट्रिक टन माग गरे भने हामीले १६ मेट्रिक टनमात्रै निर्यात गर्न सक्छौं। त्यो पनि नेपालमा उपभोग नगरेर।’

क्षेत्रीय कार्यालयका अनुसार गण्डकीमा अहिले १० जातका कफी खेती सुरु गरिएको छ। पुरी भन्छन्, ‘गण्डकीमा केटिसिक, क्याटिमोर, टेकिसिस, क्याटुरा अमारिलो, एल्लो कटुरा, सेलेक्सन–१०, वोर्वाेन अमारिलो, पाकामारा, पाकस, सान रोमन प्रजातिका कफी खेती सुरु गरिएको छ।’ उनले नेपालभर गतवर्षको तुलनामा १० प्रतिशत कफी खेती बढेको जानकारी दिए। 

नेपालमा उत्पादन भएको कफी विदेशमा राम्रो निर्यात भइरहेको छ। त्यसमा पनि गुल्मीको कफी दक्षिण कोरियामा, ललितपुरको कफी जर्मनमा र सिन्धुपाल्चोकको कफी कोरियामा निर्यात भइरहेको बोर्डको भनाइ छ। 

कफी १ पटक रोपेपछि ५०/६० वर्षसम्म उत्पादन दिन्छ। प्राविधिक अधिकृत पुरी भन्छन्, ‘रोपेको ३ वर्षमा फल्न थाल्छ। रोग नलागेमा ६० वर्षसम्म एउटै बोटको कफी खान सकिन्छ।’

उनका अनुसार कफीमा रोग लागेमा सबै काटेर फाल्नु पर्ने भएको घामको सीधा प्रकाशबाट बचाउनु पर्छ। 

कफी विस्तार गर्न नेपाल सरकारले अहिले वार्षिक ९ करोड रुपैयाँ खर्च गरिरहेको सरकारी तथ्यांक छ। जसमा कफी सम्बन्धी १० कार्यालयका ९३ कर्मचारी समावेश छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अहिले नर्सरी व्यवस्थापन गर्नमात्रै वार्षिक ३० लाख खर्च गरिरहेको छ। ‘यसमा कफी उत्पादन, ट्रेनिङ तथा ढुवानी खर्च जोडिएको छ,’ बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम भन्छन्।

उनले कफी विस्तार गर्न सरकारले बोर्डलाई ४० लाख सहयोग गर्दै आइरहेको बताए।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने