ad

'हामी अपराधी होइनौं'

नेपाल लाइभ

Nepal Live

तिजुआना– संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन्। अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ।

मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ। उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा पुगेका थिए। अमेरिकी सीमासुरक्षा बललाई देख्नासाथ उनीहरु पुनः मेक्सिकोतर्फ फर्किएका थिए।

‘हामी अपराधी होइनौं,’ उनीहरुमध्ये केहीले ठूलो स्वरमा चिच्याएका थिए। उनीहरुको आवाज राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा आइपुग्नै लाग्दा सीमामा करिब ६ हजार थप सैनिक परिचालन गर्न आदेश दिएका थिए।

अर्को मुख्य समूहमा करिब ४ हजार सहभागी छन्। उनीहरु पनि केही दिनभित्रै सीमामा आइपुग्ने बताइएको छ। आफ्नो देशमा व्याप्त गरिबी र हिंसाका कारण देश छाडेको बताउने यी मानिसहरु अमेरिकामा आप्रवासी हुन चाहन्छन्।

कम्तीमा पनि ९ जना आप्रवासी अमेरिकी भूमिमा प्रवेश गरिसकेका छन् र उनीहरुलाई सीमासुरक्षा बलले पक्राउ गरेको छ। यीमध्ये ४ बालबच्चासहित एक आमा र १९ वर्षकी गर्भवतीसमेत रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। उनीहरु होन्डुरसका नागरिक हुन्।

‘उनी अमेरिका गइसकिछन्। मलाई थाहै थिएन।,’ उनका १७ वर्षे पति मोजेज हर्नान्डेजले भने, ‘मैले बुझेको छु, उनी नयाँ जीवनको खोजीमा छिन्। हामी हाम्रो देशमा व्याप्त गरिबीबाट आजित भइसकेका थियौं।’

गत साता राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कानुनी विधि अनुसरण नगरी अमेरिका प्रवेश गर्नेलाई शरणार्थीको मान्यता नदिने उल्लेख छ। त्यस्ता व्यक्तिलाई स्वदेश फर्काइने छ।

तिजुआनमा भेला भएका धेरैजसो आप्रवासीहरुले सीमा पार गर्नुअघि समूहका अरु सदस्यलाई पनि पर्खिने बताएका छन्।

सीमाको अर्कोतर्फ अमेरिकाको टेक्सास भ्रमणमा रहेका रक्षामन्त्री म्याटिसले अमेरिकी सीमासुरक्षा बललाई सहयोग गर्न सैनिक परिचालन आवश्यक रहेकोमा जोड दिएका छन्। तर, रिपब्लिकन पार्टीकै कतिपयले राष्ट्रपति ट्रम्पको यो योजनाको आलोचना गरेका छन्।

तिजुआनाका लागि मेक्सिकोका विभिन्न स्थानबाट आप्रवासीहरु हिँडिसकेका छन्। कतिपयलाई बस, ट्रकको व्यवस्था पनि गरिएको छ।

होन्डुरसका यी आप्रवासीहरुले अक्टोबर १३ मा आफ्नो यात्रा सुरु गरेका थिए। उनीहरु करिब ३ हजार किलोमिटरको यात्रा गरी मेक्सिको–अमेरिका सीमामा पुग्ने अभियानमा छन्।

शुक्रबारसम्म अमेरिकी सीमामा करिब ५ हजार आप्रवासी पुगिसक्ने अनुमान गरिएको छ। रासस/एएफपी

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने