ad

राजसंस्थाबारे सूत्र निस्किसकेको छ, एकता हुने बेला धेरै नकोट्याऊँ [अन्तर्वार्ता]

नेपाल लाइभ

Nepal Live

राप्रपा समूहबीचको एकता र विभाजनको प्रयास नयाँ कुरा होइन। २०४७ सालमा औपचारिक रुपमा पार्टी बन्नुअघि नै विभाजन भएको राप्रपा चुनावी पराजयपछि जुट्ने र सत्ताको अवसर आउँदा फुट्ने गरेको लामो इतिहास छ। यसबीचमा राप्रपाबाट फुटेर राप्रपा राष्ट्रवादी, राप्रपा नेपाल, जनशक्ति पार्टी, राप्रपा प्रजातान्त्रिक, एकीकृत राप्रपा राष्ट्रवादी जस्ता अनेक पार्टी बने। केहीले नेताको थरको पुच्छर समेत झुन्ड्याए। कति कायम रहे, कति हराए। प्रजातन्त्रमा होस् वा लोकतन्त्र र गणतन्त्रमा; राप्रपाले फुट्ने र जुट्ने विरासत कायम राखिरह्यो।

पछिल्लो समय कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता प्रक्रिया सुरु भएको थियो। अन्तिम चरणमा पुगेको भनिएको सो एकता हाललाई भाँडिएको राप्रपाका नेताहरुले बताइरहेका छन्। डेढ वर्षअघि कमल थापा नेतृत्वको पार्टीलाई विभाजन गराएर नयाँ पार्टीको नेतृत्व गरेका पशुपति शमशेर जबरासँग भाँडिएको भनिएको राप्रपा समूहबीचको एकता, एकताको आवश्यकता बोधमा पूर्वराजा ज्ञानेन्द्रको चाहना, नेपालमा परम्परागत शक्तिको औचित्य लगायतका विषयमा नेपाल लाइभका दुर्गा दुलालकिशोर दहालले लामो कुराकानी गरेका छन्। प्रस्तुत छ, त्यसैको सम्पादित अंशः

धेरैलाई अचम्म लाग्छ। पूर्व राप्रपा समूहलाई मिल्न नपाउँदै फुट्ने र फुट्नेबित्तिकै मिल्ने हतारो किन पर्छ?
विभिन्न बेलामा विभिन्न कारणले फुटेका छौं। सबै कारण अहिले केलाएर सम्भव हुँदैन। अहिले हामीले इतिहासबाट पाठ सिकेका छौं। धेरैचोटी फुट्ने र मिल्ने काम भइसकेको हुनाले अबचाहिँ फुट्दै नफुट्ने गरी मिल्न खोजेको हो। सबै कुरा टुंगो लगाएर मात्रै मिल्ने प्रयास गरेका छौं।

तपाईंले भन्नुभएको सबै कुरामा केके कुरा पर्छन्?
सबै कुरामा सबै कुरा पर्छन् नि!

पछिल्लो पटक एकता प्रक्रियाको आवश्यकता बोध कसरी भयो?
त्यसका केही कारण छन्। पहिलो त चुनावको परिणाम नै हो। हामीले सोचेभन्दा धेरै खराब नतिजा आयो। त्यसले हामीलाई संयुक्त शक्ति बनाउनुपर्छ भन्ने पाठ दियो।

एक्लैएक्लै हिँड्दा त्यति सफल भइएन भन्ने कार्यकर्ताको तहसम्मै पनि बोध भयो। त्यसैले एक भएर अगाडि बढ्नुपर्छ भन्ने भयो। तर कार्यकर्ताको तहबाट पहिला जस्तो एकता नगर्न कडा दबाब पनि आएको छ। सबै कुरामा होसियार भएर अघि बढ्नुपर्छ भन्ने कार्यकर्ताको धारणा छ। 

२०७४ चैतमा पूर्वराजा ज्ञानेन्द्रले राप्रपा समूहका दोस्रो तहका नेताहरुलाई दमकमा भेटेर एकता प्रक्रिया सुरु गर्न आग्रह गरेपछि पछिल्लो प्रक्रिया सुरु भयो भनिन्छ। ज्ञानेन्द्रले के भनेका थिए?
जोजो त्यहाँ गए उनीहरुलाई के प्रभाव पर्‍यो मलाई थाहा छैन। तर हामीले एकताबारे सोचेको त्यसभन्दा अगाडि नै हो।

जो नेताले ज्ञानेन्द्रलाई भेटे, उनीहरुले पार्टीमा ब्रिफिङ गरे होलान् नि?
जसले भेटे, उनीहरुका अनुसार, मिल्नु उचित हुन्छ, मिलेर जाँदा शक्ति आउँछ भने रे!

कमलजीको भने 'तातै खाऊँ, जली मरौं' भन्ने प्रवृत्ति देखियो। ४/५ दिन पछि गरौं भन्दा त्यही कारणले वार्तै स्थगन गर्नुमा के रहस्य होला खै! मैलेचाहिँ बुझेको छैन।

अरु पार्टीका नेताहरुलाई ज्ञानेन्द्रले केही भनेको सुनिँदैन। तपाईंहरुलाई मात्रै किन मिल्न भन्दा रहेछन्?
त्यो कुनै अचम्मको कुरा नै होइन। हाम्रो पृष्ठभूमि पञ्चायतबाट हो। हामी राजासित सम्बन्धित छौं। हाम्रोबारे केही चासो लिनु र कुरा गर्नु उहाँलाई अचम्म भएन। सम्बन्ध छ नि त। तर एकता प्रक्रियामा त्यो मात्रै कारण होइन। मैले अघि भनेको जस्तो चुनावको परिणाम मुख्य कारण हो। मिल्नुपर्छ भन्ने कार्यकर्ताको भावना दोस्रो कारण हो।

पूर्वराजाको कुरा पनि जजसले उहाँसँग कुरा गरे, उनीहरुका निम्ति मात्रै हो।

केही दिनअघि राप्रपा समूहहरुको एकता हुने निश्चित जस्तै भइसकेको थियो। तर अन्तिममा नहुने भयो। के मिलेन? 
त्यो भ्रम मात्रै हो। किनभने, के गरिएको छ मैले राम्ररी बुझेको छैन। पहिले एकथरि मान्छेले हामी घटस्थापनामै मिल्छौं भनेका थिए। तर मिलिएन। फेरि, तिहार अगाडि नै मिल्ने भने। त्यो पनि भएन। २६ गतेको कुरा पनि त्यस्तै हो। त्यो दिन एकता गर्नैपर्छ भन्ने केही थिएन।

मैले अघि पनि भनेको छु, यो पटक मिल्दा सबै कुरा मिलाएर मात्रै मिल्नुपर्छ। चोचोमोचो बाँकी राख्नु हुँदैन। फेरि फुट्ने अवस्था आयो भने मिलेको केही अर्थ भएन। बरु अलि समय लिए पनि केहि बर्बादी हुँदैन भन्ने हाम्रो दृष्टिकोण रह्यो। हाम्रा साथीहरुसँग केही सल्लाह मिलाउनुपर्ने पनि थियो। त्यसका लागि ४/५ दिन बढी लिFदैमा आकाश खस्दैन भन्ने हाम्रो तर्क रह्यो।

तर कमलजीको भने 'तातै खाऊँ, जली मरौं' भन्ने प्रवृत्ति देखियो। ४/५ दिन पछि गरौं भन्दा त्यही कारणले वार्तै स्थगन गर्नुमा के रहस्य होला खै! मैलेचाहिँ बुझेको छैन।

तपाईंले ४/५ दिन स्थगन गरौं भन्ने प्रस्ताव किन राख्नुभएको थियो?
साथीभाइसँग कुरा मिलाउनुपर्छ नि! एकता भनेको ठूलो कुरा हो, तीन वटा पार्टी मिल्ने भनेको झन् ठूलो कुरा हो।  हामीले त वार्ता सुरु गरेकै दसैं अगाडिबाट त हो। धेरै समय त बितेको छैन। तीनटा पार्टीको कुरा मिल्न अलि समय लागिहाल्छ नि। अचम्मको कुरा होइन। तर सिद्धान्तमा कुरा मिलेन भनेर जसरी बाहिर आयो, त्यस्तो होइन। सिद्धान्तमा सूत्र निस्किसकेको अवस्था थियो।

चुनाव चिह्नको कुरा पनि छ। दुई वटा पार्टीको चुनाव चिह्न हलो छ। एउटै पार्टीको नाम, झन्डा, चुनाव चिह्न राखेपछि तीन वटा पार्टी कसरी मिल्छ? त्यो बेमनासिव कुरा हो। जसरी चुनाव चिह्न गाई भन्ने कुरा आइरहेको छ, त्यो बेमनासिव कुरा हो।

तपाईंले एकताको लागि केही दिन बढी समय माग्नुभएको रहेछ। एकतापछि बन्ने पार्टीमा आफ्ना कार्यकर्ताको व्यवस्थापन सुनिश्चित गर्न वा थामथुम पार्न माग्नुभएको हो?
अध्यक्षताको विषयमा कुनै समस्या थिएन। चोचोमोचो नमिलेको चाहिँ निर्देशन समिति कत्रो बनाउने? चिह्न के बनाउने भन्ने कुरा नमिलेका होला। अन्तिम बैठकमा यस्ता कुरा छलफल नै भएको होइन।

कमल थापा र तपाईंबीच अन्तिम बैठकमा के भयो?
त्यो बैठकमा ४/५ दिन अलि बढी लिऔं, छलफल गरौं, साथीभाइसँग कुरा मिलाउन समय चाहियो भन्ने कुरा मैले राखेँ। कमलजीले धेरै कुरा मिलिसक्यो, अब किन समय चाहियो भन्नुभयो।

कमलजीलाई चाहिँ 'तातै खाऊँ, जली मरुँ' किन गर्नुपरेको रहेछ? केही थाहा पाउनुभयो?
मलाई थाहा छैन। मैले उहाँको रहस्य नै बुझिनँ।

मानौं न, कमल थापाले ४/५ दिन समय दिनुभएको भए तपाईंले आफ्नो पार्टीमा के कुरा मिलाउनुहुन्थ्यो?
धेरै साथीसँग सल्लाह गर्नुपर्ने थियो। मेरो पनि सल्लाह गर्नुपर्ने थियो, प्रकाश जी (प्रकाशचन्द्र लोहनी, एकीकृत राप्रपा राष्ट्रवादी) को पनि सल्लाह मिलाउनुपर्ने थियो। पार्टी एकता नै गर्दाखेरी प्रमुख साथीहरुसँग सबै कुरा राख्नुपर्छ, उहाँहरुको पनि चित्त बुझ्नुपर्छ।

सिद्धान्तका कुराहरुचाहिँ मिलिसकेको थियो?
हो। मिलिसकेको थियो।

नेपालमा अहिले तीन वटा राजनीतिक स्पेस अकुपाई भएको छ। नेपाल कम्युनिस्ट पार्टीले अकुपाई गरेको साम्यवादी, नेपाली कांग्रेसले अकुपाई गरेको समाजवादी र तेस्रो मधेसवादी दलहरुले अकुपाई गरेको मधेसवादी। तर उदारवादी स्पेस सबै संसारमा छ। हामीले अकुपाई गर्ने भनेको उदारवादी स्पेस हो।

तपाईंहरुको एकता प्रक्रियामा जोडिएका केही कुराहरु छन्। जस्तो कि, चुनाव चिह्न। तपाईंहरु अडान केही थियो?
हलो हुनुपर्छ भन्ने हाम्रो अडान हो। कमल थापाको अडान भने महाधिवेशनबाट मात्रै छिनोफानो गरौं भन्ने थियो। तर यस्ता कुरा बाँकी राखेर एकता गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ थियो।

राजसंस्थाबारे?
त्यसमा सूत्र निस्किसकेको थियो। यसमा फरक मत आएर एकता स्थगित भएको होइन।

सूत्र भनेको, २०७३ को एकता महाधिवेशनमा जे कुरा लेखिएको थियो, त्यही मानेर अगाडि बढ्ने भनेको हो?
त्यो पनि होइन।

आगामी महाधिवेशनमा जे हुन्छ, त्यसलाई मानेर अघि बढ्ने?
त्यस्तो पनि होइन। एउटा सूत्र निस्किसकेको थियो। त्यसलाई धेरै नकोट्याऊँ। हामी पार्टी मिलाउन खोजिरहेका छौं। यस्तो अवस्थामा सबै कुरा तपाईंलाई बताएर काम गर्न सकिँदैन। 

राप्रपा समूहका निर्णय, कार्यदिशा तय गर्ने तथा एकता प्रक्रियामा पूर्व राजसंस्था कति बलियो र प्रभावी रहन्छ?
केही चासो राख्नेसम्मको कुरा हो। केही साथीहरुले भेटघाट गर्नेसम्मको कुरा हो। निर्णय त हाम्रै हुन्छ। पार्टीको निर्णय पार्टी नै गर्छ।

तपाईंहरु जस्ता परम्परागत शक्तिलाई बलियो बनाउन पाए आफू राजाकै रुपमा फर्किन सकिन्थ्यो भन्ने ज्ञानेन्द्रले रणनीति बनाएका छन् भन्ने चर्चा हुने गर्छ। तपाईंले उनको त्यस्तो रणनीति रहेको महसुस गर्नुभएको छ?
त्यो त मैले कसरी बताउन सक्छु र? मैले त्यतातिर विचार गरेको छैन।

विगतमा प्रमुख स्थानको जिम्मेवारी दिँदा मान्छेको व्यवस्थापन क्षमतालाई त्यति हेरिएन। कमजोर मान्छेलाई धेरै ठूलो जिम्मेवारी दिइयो।

पछिल्लो पटक राप्रपा समूहको एकताका लागि भारतीय भूमिका पनि रहेको अनुमान भइरहेका छन्। त्यस्तो हो?
होइन। नेपालमा राप्रपाले के गर्छ भन्ने कुरामा भारतलाई के चासो?

तपाईंहरु हिन्दु राज्य भन्नुहुन्छ। भारतीय सत्ताधारी दल पनि हिन्दु राज्यको पक्षमा छ। एजेन्डा मिल्ने भएकाले तपाईंहरुलाई बलियो बनाउने रणनीति छ कि उसको?
हिन्दु राज्य होस् भन्ने उनीहरुको चाहना हुन सक्छ। तर राप्रपा कसरी चल्ने भन्ने कुरा राप्रपा आफैंले निर्णय गर्छ। कसैले भनेर हामीले हिन्दु धर्मको एजेन्डा बोकेका त होइनौं नि! हाम्रो विश्वास र पत्यारका कारण बोकेका हौं। नेपालको परिचय हिन्दु धर्मबिना हुँदैन।

OOO

मुलुकमा अहिले नयाँ शक्ति र वैकल्पिक शक्तिका विषयमा विमर्श चलिरहेको छ। राप्रपा जस्ता परम्परागत शक्तिको औचित्य किन?
नेपालमा अहिले तीन वटा राजनीतिक स्पेस अकुपाई भएको छ। नेपाल कम्युनिस्ट पार्टीले अकुपाई गरेको साम्यवादी, नेपाली कांग्रेसले अकुपाई गरेको समाजवादी र तेस्रो मधेसवादी दलहरुले अकुपाई गरेको मधेसवादी। तर उदारवादी स्पेस सबै संसारमा छ। हामीले अकुपाई गर्ने भनेको उदारवादी स्पेस हो। राष्ट्रियता, प्रजातन्त्र र उदारवाद त हामीले २०४७ सालदेखि भन्दै आएका हौं। 

तपाईंहरुले भनेको उदारवादबाट जनताले के नयाँ कुरा पाउँछन्?
मुख्यतः उदारवादले व्यक्तिको स्वतन्त्रतालाई संरक्षण गर्छ। दोस्रो, यो मुलुकमा आधुनिक र संगठित क्षेत्रमा पूरा उदार अर्थतन्त्र हुनुपर्छ भन्ने सोच हो। जसद्वारा निजी र वैदेशिक लगानी व्यापक रुपबाट यो मुलुकमा आउन सक्छ। त्यस्तै, असंगठित र पिछडिएको क्षेत्रमा त्यहाँ राज्यले जनतालाई संरक्षण गरेर अगाडि बढ्नुपर्छ भन्ने सोच उदारवादले राख्छ। यस्तै कारणले गर्दा नेपालमा उदारवाद आवश्यक छ।

तपाईंहरुको संगठन शैली पुरानै र पार्टी सञ्चालन शैली भद्रगोल ढाँचाको देखिन्छ। कार्यकर्ताहरुलाई जुझारु बनाउने केही सोच्नुभएको छ?
हामीले अहिले संगठन सुदृढीकरणको योजना अगाडि बढाइरहेका छौं। संगठनलाई वडासम्मै जुझारु रुपले अगाडि सार्नेछौं। युवा पिँढीलाई पनि समेट्ने योजना छ। यी सबै कुरा अगाडि बढाउन हरेक प्रदेशमा हाम्रा टोलीहरु पठाएका छौं।

त्यो बखतमा आन्दोलनकारीलाई संवैधानिक राजतन्त्र मान, राजालाई बहुदलीय प्रणाली मानिबक्सियोस् भन्ने कुरा मिलाउने काम त गरेँ नि!

तपाईंहरुसँग नयाँ पुस्ताको आकर्षण देखिँदैन। कसरी आकर्षित गर्नुहुन्छ? उनीहरुलाई तपाईंको पार्टीसँग जोड्ने सूत्र के हो? के देखाउनुहुन्छ उनीहरुलाई?
पहिलो त उदारवाद नै हो। दोस्रो, हिन्दु धर्म। तेस्रो यो मुलुकलाई सञ्चालन गर्दाखेरि जान्ने मान्छे पनि चाहिन्छ के! अहिले हेर्नुस् न, नेपाल कम्युनिस्ट पार्टीले दुई तिहाइको सरकार बनाएको छ। तर नौ महिनासम्म अस्तित्व बोध भएको छैन। त्यो किन भएन? किनकि, सरकार चलाउन सकेनन्। व्यवस्थापन र मुलुक चलाउने ढंग रहेनछ।

मुलुक चलाउने ढंग तपाईंहरुसँग छ भन्न खोज्नु'भा?
हामीले त धेरै अगाडिदेखि गरेर आएका हौं।

तपाईंहरुले केही गर्न नसकेर व्यवस्था नै परिवर्तन भएको होइन?
होइन। म एउटा दृष्टान्त दिन्छु। म पछिल्लो पटक जलस्रोतमन्त्री हुँदा वार्तालाप गरेर महाकाली सन्धि सम्पन्न गरेँ। हामीसरह अरुले जान्ने भएको भए त्यो अगाडि सर्नुपर्दैनथ्यो? मपछि कति वटा जलस्रोत मन्त्री भए? त्यत्रो ४/५ हजार मेगावाटको कुरा छ। त्यो बनाउन सकेको भए यत्रो व्यापार घाटा हामीले सहिरहनुपर्थ्यो?

महाकाली सन्धिबाट पनि भारतले पो फाइदा लियो। नेपालले त के नै पायो र? तपाईंले के नै राम्रो काम गर्नुभएछ र?
महाकाली सन्धि नै भारतसँग गरिएको त्यस्तो पहिलो सन्धि हो, जहाँ नेपालको हित र स्वार्थलाई जोगाइयो। त्यो बेला मलाई याद छ, जलस्रोत मन्त्रालयमा एउटा बडो राम्रो टिम थियो। कर्मचारी पनि असाध्यै राम्रा थिए। हामीले हरेक बुँदामा ६ वटा फरब्याक प्रिन्सिपल बनाएका थियौं। तर हामी दोस्रो प्रिन्सिपलबाट झर्नुपरेन। तर अचम्मको कुरा छ, मुलुकको हित हुने, त्यत्रो बिजुली आउने प्रोजेक्टको सन्धि सम्पन्न गर्‍यौं। तर त्यसलाई २० वर्षसम्म कार्यान्वयन गर्न सकेनौं। सक्ने मान्छे भएको भए कार्यान्वयन हुन्थ्यो नि।

यो सरकारले समृद्धि–समृद्धि भनिरहेको छ। के लाग्छ तपाईंलाई? आऊला?
अस्तित्व नै बोध गराउन सकेको छैन, समृद्धि कहिले आउने हो! मलाई अचम्म लागेको छ। २०४७ पछिको सबैभन्दा शक्तिशाली सरकार हो। तर सरकारबाट काम भएको छैन। भारतमा अहिले ४ प्रतिशत पनि मूल्यवृद्धि भएको छैन। तर नेपालमा तिहारमै अचाक्ली मूल्यवृद्धि भयो। यस्ता काम गर्न विशेष प्रतिभा चाहिन्छ।  बिगार्नमा पनि प्रतिभा चाहिन्छ।

तपाईंसँग मन्त्री भएको अनुभव पनि छ। यो सरकारले कामचाहिँ किन गर्न सकेन जस्तो लाग्छ?
सरकारले 'ड्राइभ' नै दिन सकेन। मुलुक चलाउन हाँक्नुपर्छ। सरकार चलाउनेले ब्युरोक्रेसीलाई हाँक्नुपर्छ। तर सकेका छैनन्।

अहिले प्रधानमन्त्रीले मिल्नेसम्मका निकायहरु आफू मातहत ल्याएर काम गर्न खोज्नुभएको छ। मन्त्री भइसकेको अनुभवका आधारमा के भन्नुहुन्छ?
त्यसरी चल्दैन। उहाँसँग तीन-चार वटा असाध्यै राम्रा मन्त्रीहरु पनि छन्। उनीहरुले गर्न सक्ने काम उनीहरुलाई नै गर्न दिनुपर्छ। सबै काम म गर्छु भन्यो भने त कुनै पनि काम हुँदैन।

OOO

राजतन्त्र गएको मलाईं चाहिँ ठिक लागेन। यो मुलुकमा कुनै न कुनै किसिमको राजसंस्था रहँदाखेरी उचित हुन्थ्यो भन्ने मलाई लागेको थियो। 

तपाईं २०३१ सालमा एनजिओको जागिर छाडेर राजनीतिमा आउनुभयो। किन?
मुलुक बनाऊँ भनेर राजनीतिमा आएको हो।

तर मुलुक त बनेन, होइन?
मैले आफूले सम्हालेको मन्त्रालय राम्ररी चलाएको छु। जुन बेला चलाएँ, ठोस योगदान पुर्‍याउने काम गरेको छु। तर प्रमुख स्थानमा पुग्ने अवसर मैले पाउन सकिनँ। मुलुक बनाउन त प्रमुख स्थानमै पुग्नुपर्छ। नत्र, जुन फाँट पाइन्छ, त्यसैलाई राम्रो बनाउने त हो।

हाम्रो शासन सञ्चालन शैलीमा कहाँचाहिँ कमजोरी रहेछ, जसका कारण जो आउँछ, उही खाल्डोमा खस्ने परिस्थिति बन्छ? पञ्चायतकालदेखि अहिलेसम्मको शासन शैलीलाई नजिकबाट नियालिरहनुभएको आधारमा भनिदिनुस् न?
विगतमा प्रमुख स्थानको जिम्मेवारी दिँदा मान्छेको व्यवस्थापन क्षमतालाई त्यति हेरिएन। कमजोर मान्छेलाई धेरै ठूलो जिम्मेवारी दिइयो। २०४७ सालपछि नेपाली कांग्रेसको सरकारले केही काम गरेको हो। मनमोहनको सरकार र हामीहरु समेत सहभागी देउवाको सरकारले पनि केही काम गरेका हुन्। त्यसपछि चाहिँ मुलुक ओरालो लाग्यो।

अहिले फर्केर सोच्दा, पञ्चायतकालमा विकास नहुनुको कारण के रहेछ जस्तो लाग्छ?
विकास नभएको होइन। कोदारी र पूर्व–पश्चिम राजमार्ग बन्यो। महत्त्वपूर्ण कामहरु भएका छन। त्यो कालमा एउटा गल्तीचाहिँ के गरियो भने 'फेविन सोसोलिजम (Fabian socialism)' नीति अपनाइयो। राजाले समाजवादी नीति अपनाउने कारणै थिएन। दक्षिण कोरिया, ताइवान र सिंगापुर जस्तो उदार अर्थतन्त्र अपनाएको भए त्यो बेलामा धेरै बढी प्रगति हुन्थ्यो। हामी त्यो कालमा बिना कारण फेविन सोसोलिजमबाट प्रभावित भयौं।

प्रजातान्त्रिककालमा किन काम भएन?
मैले अघि भने जस्तो तीन अवधिमा काम भयो। त्यसपछि ओरालो लाग्यो। त्यसको मुख्य कारण भने अस्थिरता नै थियो।

बीचमा ज्ञानेन्द्रको कालमा चाहिँ किन काम भएन?
त्यो अवधिमा धेरै झगडा–सगडा भए। काम हुने मौकै भएन।

तपाईंले ज्ञानेन्द्रको कदमको विरोध पनि गर्नुभयो। किन?
गरेको हो। मैले केन्द्रीय समितिको बैठकबाटै यो ठिक भएन भनेर पारित गराएको हो।

तपाईंका साथीहरु सबै ज्ञानेन्द्रलाई सघाउन जाँदा तपाईंलाई चाहिँ किन विरोध गर्नुपरेको?
मान्छेको विरोध होइन। जुन कार्य भयो, त्यसको विरोध गरेको हो। त्यो बेलामा आएर एकतन्त्रीय शासनतिर जानु उचित थिएन। त्यो कुरामा मेरो सहमति भएन।

तर तपाईंले उस्तै खालको पञ्चायती व्यवस्थालाई भने लामो समय साथ दिनुभएको थियो नि?
पञ्चायत कालमा एउटा सिस्टमको अभ्यास भइरहेकै थियो। मसँग अरु विकल्प थिएन। काम गर्ने भए मैले त्यही सिस्टममा बसेर काम गर्नुपर्थ्यो। जब २०४७ सालमा आन्दोलन भयो। आन्दोलनकारीसँग वार्ता गर्ने कामचाहिँ लोकेन्द्रजीको मातहत मैले पनि गर्न पाएँ। त्यो बखतमा आन्दोलनकारीलाई संवैधानिक राजतन्त्र मान, राजालाई बहुदलीय प्रणाली मानिबक्सियोस् भन्ने कुरा मिलाउने काम त गरेँ नि!

प्रधानमन्त्री हुन नसकेकोमा भन्दा पनि मुलुक बनाउन नसकेकोमा, नपाएकोमा। मलाई तह चाहिएको थिएन। मुलुक बनाउने मौका नपाउँदा मलाई विस्मात् छ।

तर तपाईंले राख्न जोड गर्नुभएको राजतन्त्र नै गयो। कस्तो लागेको थियो त्यतिबेला?
राजतन्त्र गएको मलाईं चाहिँ ठिक लागेन।

किन?
यो मुलुकमा कुनै न कुनै किसिमको राजसंस्था रहँदाखेरी उचित हुन्थ्यो भन्ने मलाई लागेको थियो। मैले वार्तालाप गर्दा जुन कुरा भनेको थिएँ। त्यो कुरा टिकोस् भन्ने मेरो धारणा थियो।

अहिले पनि राजतन्त्र हुने हो भने देश सहज रुपमा अघि बढ्थ्यो भन्ने लाग्छ तपाईंलाई?
यो प्रश्नको तुरुन्तै जवाफ नदिऊँ भन्ने मलाई लाग्छ।

वृद्ध भइसक्नुभयो। सरकारको नेतृत्व गर्ने वा अन्य लाभको पदमा पुग्ने सम्भावना पनि देखिँदैन। जनतालाई केचाहिँ दिऊँला भनेर राजनीतिमै सक्रिय भइराख्नुभएको?
नेपालमा उदारवादी सोच अगाडि बढ्नुपर्छ। त्यसैले मुलुकको कल्याण गर्छ। त्यही एउटा विश्वासको आधारमा म राजनीति गरिरहेको छु।

राजनीतिमा कतिन्जेल सक्रिय हुने भन्ने केही योजना बनाउनुभएको छ?
जहिलेसम्म सक्छु, हुन्छु। अहिलेसम्म केही बाधा अड्चन आएको छैन।

राजनीतिमा लागेर के पाएँ, के गुमाए, पाउन सक्ने कुनै पद पाइनँ भन्ने लागेको छ?
केही फाँटको जिम्मा मैले पाएँ। त्यसलाई राम्ररी सम्हालेँ भन्ने आत्मसन्तुष्टि छ। तर मुख्य काम, जुन मैले गर्छु भनेर सोचेको थिएँ,  यो मुलुकलाई बनाउने प्रमुख स्थानमा भने पुग्न पाइनँ। जुन ध्येय मैले राखेको थिएँ, त्यो मैले पूरा गर्न सकिनँ।

प्रधानमन्त्री हुने तपाईंको इच्छा थियो, त्यो भएन भन्ने गुनासो हो?
प्रधानमन्त्री हुने इच्छा भन्दा पनि मुलुक बनाउने इच्छा।

प्रधानमन्त्री बन्न सकेको भए केही गर्न सक्थेँ भन्ने लागेको छ?
हो। त्यो मैले पूरा गर्न पाइनँ।

विस्मात् लाग्छ, त्यसमा?
लाग्छ। विस्मात् लाग्छ। प्रधानमन्त्री हुन नसकेकोमा भन्दा पनि मुलुक बनाउन नसकेकोमा, नपाएकोमा। मलाई तह चाहिएको थिएन। मुलुक बनाउने मौका नपाउँदा मलाई विस्मात् छ।

केके कुरा हासिल गर्नुभएको भए सहजै मुलुक बनाउँथे भन्ने लाग्छ?
मुलुक बनाउन चाहिने स्थान त प्रधानमन्त्री नै हो नि!

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने