सौराहा– माउसँग क्रमशः अलग गराएर छावा हात्तीको चुनौतीपूर्ण तालिम सुरु हुन्छ। तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा बाँधेर सुरु हुने यो तालिमबारे सुन्नेलाई रमाइलो लाग्न सक्छ तर तालिम दिने माउते र लिने छावालाई चाहिँ यो कष्टप्रद हुन्छ।
_x000D__x000D_
दाना, आहार र पानीसमेत कम दिई साँझ बिहान खवारीमा डोरीले छावाको घाँटीमा बाँधिन्छ। धेरै उपद्रो मच्याउन थाले नजिकै आगो बालेर छावाको रिस शान्त पारिन्छ। आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिन्छ।
_x000D__x000D_
छावाका गुरु तिनै हात्ती चलाउने माउते र उनका माउहरु हुन्। माउते अधिकांश थारु जातिका छन्। छावालाई तालिम दिने यो कठिन तर रोमाञ्चक काममा स्थानीय चौधरी वर्षाैँदेखि अभ्यस्त छन्।
_x000D__x000D_
उनीहरुले कुनै विश्वविद्यालय वा प्रशिक्षण केन्द्रमा पढेर हात्तीसँग खेल्न थालेका होइनन्। त्यसो त माउतेका गुरु पनि तिनै हात्ती नै हुन्, जसले एकापसका भाषा र हाउभाउ बुझेर आफ्ना जीवन चलाइहेका छन्।
_x000D__x000D_
जमिनमा पाइनेमध्ये सबैभन्दा ठूलो शरीर भएको जनावरलाई साक्षर मात्र भएका माउतेले कुशल प्रशिक्षक भई तालिम दिएर भनेअनुसार ठाउँमा डुलाउन सक्नु आफैँमा चुनौतीपूर्ण काम हाे।
_x000D__x000D_
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन एवम् तालिम केन्द्र, सौराहामा हात्तीलाई नियमित तालिम दिइन्छ। केन्द्रका प्रमुख बुधन चौधरीले आफ्नो ३० वर्षे जागिरे जीवनमा आठवटा हात्तीलाई तालिम दिइसकेका छन्। छावालाई काम लगाउन योग्य बनाउन र माउतेको भाषा बुझ्ने बनाउन तालिम दिइन्छ।
_x000D__x000D_
तालिम नपाएका छावाले हात्तीसारका कर्मचारी र आगन्तुकलाई हानेर घाइते बनाउने डर हुन्छ। तालिम नदिएको छावा बिरामी पर्न गएमा उपचार गराउन समेत अप्ठ्यारो पर्छ। छावाको उमेर दुईदेखि चार वर्ष पुगेपछि तालिम दिइन्छ। प्रमुख चौधरी भन्छन्,'छावालाई बाँधेपछि टाउको र सुँडको प्रयोग गरी तालिम दिनेलाई हमला गर्न सक्दैन।'
_x000D__x000D_
मौखिक तथा सांकेतिक आदेश
_x000D__x000D_
तालिमका क्रममा प्रायः छावाको अगाडिको दुवै खुट्टा डोरीले बाँधेर राखिन्छ। दिउँसोको समयमा तालीम दिइने छावाको घाँटीको डोरीमा दुवैतर्फ लामो डोरी जोडेर दुईटा अनुभवी र बलिया हात्तीलाई समात्न लगाइन्छ। पछाडि एक बलियो हात्तीलाई राखिन्छ। यसरी डोरी र तालिमप्राप्त हात्तीको सहायताले नियन्त्रणमा लिँदै अभ्यासका हिँडाइन्छ।
_x000D__x000D_
छावाको घाँटीमा एक माउते बसेर ठूलो चौरमा लगेर दायाँबायाँ हिँडाउने, बसाउने, उठाउने, गरिन्छ। यसका लागि मौखिक तथा सांकेतिक आदेश दिएर सिकाइन्छ।
_x000D__x000D_
साँझमा आगोको लपेटोले तर्साउँदै छावाको शरीरमा चढ्ने, मालिस गर्नेजस्ता क्रियाकलाप गरिन्छ। ती छावालाई अन्य प्रकारका जनावर, मोटर र असामान्य आवाज तथा गन्धसँग नडराउन भनेर अभ्यस्त गराउन सडकतिर पनि लैजाने गरिन्छ।
_x000D__x000D_
हालसम्म चारवटा हात्तीलाई तालिम दिएका माउते चतुरलाल चौधरीका अनुसार तालिमका क्रममा छावा हात्ती घाइतेसमेत हुन पुग्छन्।
_x000D__x000D_
सामान्यतया एउटा छावालाई तालीम दिन २० दिनदेखि तीन महिनासम्म लाग्छ। यसपछि पनि छावाले माउतेबाट दिइने अन्य आदेश कामको सिलसिलामा सिक्दै जान्छन्। जुनसुकै जातिका माउते भए पनि हात्तीलाई स्थानीय थारु भाषामै तालिम दिइने र काममा लगाउने गरिन्छ।
_x000D__x000D_
थारू भाषामा ‘अगत’ भनेपछि हिँड्छन्
_x000D__x000D_
तीनवटा हात्तीलाई तालिम दिइसकेका केन्द्रका माउते सन्तलाल पाख्रिनले हात्तीलाई बसाउन ‘बैठ’, घुँडा खुम्च्याएर बसाउन ‘सरबैठ’, राम्रोसँग बाटो हेर भन्न ‘देख’, अगाडि हिँड्न ‘अगत’, टाउकोले धकेल्न ‘हिक’, उठाएर मुखमा च्याप्न ‘उठासकल’, टाउको झुकाइ अगाडिको खुट्टा खुम्च्याउन ‘झुक’ शब्द प्रयोग गरिन्छ।
_x000D__x000D_
यसैगरी, हात्तीलाई उठाउन ‘मैल’, सुताउन ‘सुत’, पानी पिउने ‘छोप’, समातेर दबाउन ‘घरदाव’, यता हिँड भन्न ‘फर्कि इभर’, छोड्नलाई ‘छि’, रोकिनलाई ‘र’, बोकी हिँड्नलाई ‘छेउ’, खानलाई ‘दहिर’ जस्ता भाषा प्रयोग हुन्छ।
_x000D__x000D_
तालिम पूरा गरेपछि छावालाई बोका, कुखुरा, परेवाको बलि दिई देवी देवताको पूजा गर्ने प्रचलन छ। केन्द्रमा यस वर्ष तीन वटा छावालाई तालिम दिने तयारी छ। गत वर्ष दुई वटालाई तालिम दिइएको थियो। एशियाली संस्कृतिमा हात्तीलाई ज्ञानको प्रतीक मानिन्छ। यिनीहरूको स्मरणशक्ति र वुद्धिको क्षमता प्रायः ऐतिहासिक मानव ह्वेल र डल्फिन बराबर हुने मानिन्छ।
_x000D__x000D_
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल हात्तीलाई दिइने यो परम्परागत तालिम प्रभावकारी भएको बताउँछन्। औपचारिक शिक्षा नलिए पनि माउतेले परम्परागत ज्ञानबाट हात्तीलाई तालिम दिने गरेको ढकालको भनाइ छ।
_x000D__x000D_
यही तालिम पाएका हात्तीले तिनै माउतेका भाषा र सङ्केत बुझेर निकुञ्ज संरक्षण गस्तीदेखि पर्यटक डुलाउनेसम्म काम गर्दै आएका छन्। नवलपुर, चितवन, पर्सा, मकवानपुरका क्षेत्र गरी ९५२ वर्गकिलोमिटरमा फैलिएको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो, जुन विश्व सम्पदा सूचीमा सूचीकृत छ।
_x000D__x000D_
शिक्षाविद् रमाकान्त सापकोटा हात्तीलाई पढाउने नभएर तालिम दिने भएकाले यसका लागि औपचारिक शिक्षा नचाहिने बताउँछन्। केही वर्षअघि जापानको एक विश्वविद्यालयका पशु विज्ञान विषयका विद्यार्थीसँग सौराहामा भेट हुँदा उनीहरुले अध्ययन गरेअनुसार नेपाल, जापान र थाइल्याण्डका हात्तीको संज्ञानात्मक विकास फरकफरक भएको पाइएको आफूलाई जानकारी दिएको उनले बताए।
_x000D__x000D_
औपचारिक शिक्षा नलिए पनि यहाँका माउते दक्ष रहेकाले उनीहरुको ज्ञान, सीप र अनुभवको अबमूल्यन गर्न नहुने सापकोटाले बताए। माउतेलाई थप शिक्षा दिएर हात्तीलाई परिस्कृत तालिम दिनुपर्ने संरक्षण क्षेत्रका जानकार बताउँछन्।
_x000D__x000D_
चौध वर्ष पुगेपछि प्रजजन प्रक्रिया
_x000D__x000D_
केन्द्रमा हाल दुई भाले, तीन पोथी र ६ वटा छावा छन्। निकुञ्जभरिमा कूल ६० वटा सरकारी स्वामित्वका हात्ती छन्। हाल विश्वमा अफ्रिकन झाडीमा पाइने हात्ती, अफ्रिकन जङ्गलमा पाइने हात्ती र एशियन हात्ती गरी तीन प्रकारका हात्ती अस्तित्वमा रहेको पाइन्छ। साधारणतया एउटा छावा जन्मदाकै अवस्थामा १ सय २० किलोग्राम (२६० पाउन्ड) तौलको हुन्छ।
_x000D__x000D_
एशियन हात्ती प्रौढ हात्ती अवस्थामा पाँच टन तौलका हुन्छन्। यिनीहरुको उचाइ तीन मिटर र लम्बाइ ६ दशमलव ४ मिटर हुन्छ। हात्तीको औषत आयु ५० देखि ७० वर्षको हुन्छ। अहिलेसम्मको अभिलेखअनुसार ८२ वर्षसम्म पनि बाँचेको छ। हात्ती १४ देखि १५ वर्षमा पुगेपछि उनीहरू प्रजनन (यौन) प्रक्रियामा संलग्न हुन्छन्। गर्भिणी हात्तीलाई केन्द्रमा ल्याउने गरिन्छ।
_x000D__x000D_
छावा हेर्न भिड
_x000D__x000D_
बाइसदेखि चौबीस महिनासम्म गर्भमा बसेर जन्मिने हात्तीको बच्चा हेर्न रत्ननगर नगरपालिकाको सौराहा खोरसोरस्थित उक्त केन्द्रमा यतिबेला स्वदेशी र विदेशी पर्यटकको भिड लाग्ने गरेको छ।
_x000D__x000D_
केन्द्रका प्रमुख चौधरीका अनुसार गत असोज २३ गते पूजाकली हात्ती र यही कात्तिक १६ गते गणेशकली हात्तीले बच्चा जन्माएका थिए। न्वारन गर्न तयारी गरिएको गणेशकलीको छावा बाँधेर राखिएको माउको वरिपरि खेलिरहेको हेर्न र परबाट तस्वीर लिएर पर्यटक रमाउँछन्।
_x000D__x000D_
केन्द्रमा यसअघिका ३० देखि ३५ महिनाका चार वटा बच्चा पनि छन्। छावा जन्मिएको दिन २ सय भन्दा बढी पर्यटक केन्द्र आउने गरेको चौधरीले बताए।
_x000D__x000D_
त्यसपछिका दिनमा पनि सय पर्यटक नघटेको उनको भनाइ छ। केन्द्र प्रवेशका नेपालीले रु १० र विदेशीले रु ५० तिरेर टिकट काट्नुपर्छ। बालबालिकादेखि वृद्धवृद्धासम्म छावा हेर्न आउने गरेका छन्। आउनेमध्ये विदेशीभन्दा नेपाली नै बढी हुन्छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।