काठमाडौं- सन् १९९२ देखि २००३ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय क्रिकेट टिमका सदस्य जोनाथन निल 'जोन्टी' रोड्सको आफ्नै विशेषता थियो। उनी आफ्नो समयका महान् फिल्डरको रुपमा चर्चित रहे। दाँया हाते ब्याट्सम्यान रोड्स मैदानमा तीव्र गतिमा दौडिएर फिल्डिङ गर्थे, त्यस्तै गतिमा बल फ्याँक्थे, जसले गर्दा ब्याट्सम्यानलाई रन लिन निकै गाह्रो पर्थ्यो।
_x000D__x000D_
दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २ सय ४५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका जोन्टी सन् २००३ को विश्वकप क्रिकेटका दौरान घाइते भए। त्यसपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए। संन्यासपछि प्रशिक्षणमा आवद्ध भएका रोड्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टिममा फिल्डिङ प्रशिक्षक भएर काम गरे।
_x000D__x000D_
उनै रोड्स अहिले नेपालमा छन्। रोड्ससँग अफगानिस्तान र वेस्ट इन्डिजका पूर्व फिल्डिङ प्रशिक्षक रायान मारोन पनि नेपाल आएका छन् । गत शनिबार नेपाल आएका रोड्स र रायानले नेपालका युवा खेलाडीलाई प्रशिक्षक दिनेछन्। बुधबारदेखि उनले प्रशिक्षण सुरु गर्नेछन्। त्यसअघि उनी मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका थिए। आगामी मंसिर ८ सम्म उनले यहि मैदानमा नेपाली युवा क्रिकेटरलाई क्रिकेट कला सिकाउनेछन्।
_x000D__x000D_
सोमबार उनले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटासहित १० नेपाली प्रशिक्षकसँग छलफल गरे। नेपाली प्रशिक्षकहरुले रोड्सलाई प्रशिक्षणमा सघाउनेछन्। छलफलमा २ महिला प्रशिक्षक निरा राजोपाध्याय र विनु मगर पनि सहभागी थिए। 'प्रशिक्षकहरुसँग १० दिनको प्रशिक्षक क्याम्प कसरी संचालन गर्ने विषयमा छलफल भयो,' रोड्ससँग अन्तरक्रिया गरेपछि प्रशिक्षक कलाम अलीले नेपाल लाइभसँग भने,'उनले आफ्नो आइडिया दिनेछन्। नेपाली प्रशिक्षकहरुले विभिन्न समूहमा सघाउनेछन्।'
_x000D__x000D_
_x000D__x000D_
रोड्सले विशेषगरी नेपालको यू-१९ र यू-१६ राष्ट्रिय टिमलाई प्रशिक्षण दिनेछन्। यसका अलावा उनले क्याम्पमा सहभागी हुन नाम दर्ता गराएका खेलाडीलाई पनि प्रशिक्षण दिनेछन्। टियू मैदान जानुअघि उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनलमा उनले नेपालको उमेर समूहका खेलाडी राम्रा भएका र नेपाली क्रिकेटलाई माथि उकास्न प्रशिक्षण दिन आएको बताएका थिए। उनले नेपालको युवा टिमले दक्षिण अफ्रिका र न्युजिल्यान्ड जस्ता बलिया टिमलाई पराजित गरेको इतिहास स्मरण गर्दै भविष्यको क्रिकेट बलियो बनाउन युवा क्रिकेट विकासमा जोड दिनु पर्नेमा केन्द्रित हुँदै धारणा राखेका थिए।
_x000D__x000D_
नेपाल क्रिकेट स्कुलको विशेष पहलमा काठमाडौं आएका रोड्सको प्रशिक्षणमा सहभागी हुन अहिलेसम्म ४७ जनाले नाम दर्ता गराएका छन्। ५० हजार रुपैयाँ तिरेर नाम दर्ता गराउनेको संख्या अझै बढ्ने नेपाल क्रिकेट स्कुलका अभिषेक केसीले बताए। प्रशिक्षणमा सहभागी हुन काठमाडौं बाहेक विरगन्ज, धनगढीका क्रिकेटर पनि आएका छन्। शूल्क तिर्न नसक्ने केहिलाई सेन्चुरी बैंकले प्रायोजन गरेको केसीले बताए।
_x000D__x000D_
रोड्सको प्रशिक्षणमा हुने क्याम्पबाट निकै फाइदा पुग्ने नेपाली प्रशिक्षकले विश्वास गरेका छन्। 'अन्य विदेशी प्रशिक्षक भन्दा रोड्स नेपालका लागि निकै उपयुक्त भएको पाएँ,' प्रशिक्षक अलीले भने, 'उनी समझदार भएका हुनाले पनि प्रशिक्षण राम्रो हुने अपेक्षा छ।'
_x000D__x000D_
_x000D__x000D_
रोड्सले पहिलो दिन टियू मैदानको बारेमा समेत चासो राखेका थिए। टियू मैदानको स्वरुपमा राम्रो बताएका उनी सुकेको घाँस देखेर छक्क परेका थिए। 'उनले टियू मैदान राम्रो स्थानमा भएको बताए। तर उनी मैदानको सुकेको घाँस देखेर छक्क परे। सायद उनलाई हाम्रो परिस्थिति थाहा नभएको हुन सक्छ,' प्रशिक्षक अलीले रोड्सको प्रतिक्रिया सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।