ad

उदाउन बाँकी तिम्बु पोखरी, जहाँ पुग्न भारतीय बाटो हिँड्नुपर्छ

रमेश भारती

Nepal Live

पाँचथर- ताप्लेजुङको पाथिभरा मन्दिरपछि पाँचथरको तिम्बु पोखरी सुदूरपूर्वको आकर्षक पर्यटकीय तथा धार्मिक गन्तव्य स्थल हो। पाँचथरको याङ्बरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको तिम्बु पोखरीको सीमा भारतको सिक्किम तथा दार्जिलिङसँग पनि जोडिएको छ। तिम्बु पोखरीमा विदेशी पर्यटक बढिइरहँदा यहाँ जान भने प्रायः सिक्किम र दार्जिलिङकै रुट प्रयोग गर्नुपर्ने बाध्यता छ।

पदयात्राका लागि यो क्षेत्र उपयुक्त गन्तव्यका रुपमा मानिएको छ। सडक यातायतको विकास भइनसकेकाले यस ठाउँसम्म पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। तिम्बु पोखरी पुग्न पाँचथरको च्याङ्थापुदेखि पदयात्रा गर्नुपर्छ। लेकका आकर्षक डाँडा चहार्दै तीन दिनको यात्रापछि तिम्बु पोखरी पुग्न सकिन्छ। यहाँ प्रशस्त मात्रामा लेकाली जडीबुटीसमेत पाइन्छ। ठाउँठाउँमा चौरी गोठहरु छन्। चौरी, उराङ र याकसँग रमाउन पाउनु पनि यस क्षेत्रको अर्को विशेषता हो।

सिक्किम र दार्जिलिङको बाटो भएर वार्षिक २ हजारभन्दा धेरै पर्यटक तिम्बु पोखरी घुम्न आउने गरेको याङ्बरक गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल बताउँछन्। 

समुद्री सतहबाट ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको पोखरी प्रकृतिको अनुपम सौन्दर्यले भरिएको धार्मिक स्थल पनि हो। पोखरी करीब ४ सय मिटर लम्बाइ र २ सय मिटर चौडाइमा फैलिएको छ। पोखरीभित्र थरिथरिका फूल र इन्द्रेणीको दृष्य दख्न सकिन्छ।

सरकारले तिम्बु पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरे पनि यसको प्रचारप्रसार र संरक्षण गर्नेतर्फ भने ध्यान दिएको छैन। सरकारले संरक्षण नगर्दा पोखरी क्षेत्रमा पाइने जडीबुटी, जीवजन्तु तथा फलफूलको उपयोग हुन सकेको छैन। अर्कातर्फ सरकारले यस क्षेत्रमा आउने पदमार्ग व्यवस्थित नगर्दा बर्सेनि सयौं विदेशी पर्यटकले भारतीय बाटोको प्रयोग गर्नुपरेको छ।

चट्टानी संरचनाका बीचमा रहेको पोखरीले सबै पदयात्रीको मन तान्ने गरेको छ। पोखरी क्षेत्रमा देखिने बादल, कुहिरो र घामको लुकामारीको दृश्यले पहिलोपल्ट तिम्बु पोखरी पुग्ने पर्यटक र तीर्थालुलाई रोमाञ्चित बनाउने गर्दछ।

तिम्बु पोखरीमा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएकाले यसको संरक्षण र पर्यटन क्षेत्रका रुपमा विकास गर्नका लागि सरकारसँग माग गरिरहेको पाँचथरका संसद वसन्तकुमार नेवाङले बताए। ‘पछिल्ला वर्षमा तिम्बु पोखरी र यहाँको दृश्यले धेरै पर्यटकको मन लोभ्याएको पाएको छु। जसका कारण यो क्षेत्र विकास गर्ने आवश्यक पूर्वाधार निर्माणका लागि सरकारसँग माग गरेको छु’, नेवाङले भने।

मनसुनमा पर्यटकको भिड   
मनसुनी मौसममा यहाँ पर्यटकको भिड लाग्ने गर्दछ। सो समय तिम्बु पोखरी क्षेत्रमा धार्मिक, जैविक र प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकहरु जाने गरेका छन्। साउन र भदौ महिनापछि सिजन सकिए पनि पर्यटक टुट्दैनन्।

लेकाली क्षेत्र भएकोले पनि जाडो मौससमा पर्यटकको आवागमन कम हुने गरेको बताउँछन्, सांसद नेम्वाङ। पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, तराईका जिल्ला र भारतको सिक्किम, पश्चिम बंगाल राज्यका पर्यटक कठिन बाटो छिचोल्दै तिम्बु पोखरी घुम्न आउने गर्दछन्। 

फूल र जडिबुटीका लागि आकर्षक गन्तव्य
हिमालको काखमा रहेको सुन्दर पोखरी, विभिन्न प्रजातिका लेकाली जडीबुटी र फूलहरुले सजिएको छ।

केन्जो, माइकोपिला, बिख्मा, कुटी, खोकिम जस्ता फूलहरु यो क्षेत्रमा पाइन्छन्। पोखरीको छेउछाउमा फुल्ने क्यान्जो नामक जडिबुटीले पोखरीदेखि धेरै टाढासम्मको वातावरण सुगन्धित र मनमोहक बनाउने गर्दछ।

तिम्बु पोखरी आसपासका क्षेत्रमा यार्सागुम्बा, पाँचऔंले, माइकोपिला, हडचुर, पदमचाल, कालो तथा सेतो बिख्मा, कुड्की, पाखनवेत, बुढोओखती, चिराइतो जातका औषधि र किटनाशक औषधिको रूपमा प्रयोग गर्न सकिने विषका बोटहरू पाइन्छन्। विभिन्न प्रकारका सुगन्धित धुपको रूपमा प्रयोग गर्न सकिने भैरुङ्पाती, सुनपाती, सक्पा जस्ता वनस्पतिहरू पनि यस क्षेत्रका आकर्षण हुन्।

पर्यटकलाई अर्को आकर्षण– जीवजन्तु
पोखरी आसपासमा भालु, कस्तुरी, वनभेडा, एकसिंगे भेडा, बँदेल रातो पान्डा र हिउँ चितुवाजस्ता जीवजन्तुहरु पाइन्छन्। 


तर, पछिल्लो समय यस्ता वन्यजन्तुको चोरीसिकारी बढ्दै गाएको स्थानीयको गुनासो छ। सरकारले यस क्षेत्रमा पाइने संकटापन्न तथा लोप हुन लागेका जीवजन्तुको संरक्षण गर्नेतर्फ पनि ध्यान दिएको छैन। 

पोखरीको पानी प्रसादका रुपमा प्रयोग
तिम्बु पोखरीको पानीमा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ। तिम्बु आसपासमा अन्य स–साना पोखरी र कुम्भकर्ण हिमाल आसपासमा १ सय ७८ कुण्ड रहेका छन्। 

तिम्बु पोखरीको पानी बिरामीलाई खुवाएमा रोग निको हुन्छ भन्ने जनविश्वास परम्परादेखि नै चल्दै आएकाले यहाँ आउने पर्यटक र तीर्थालुले पोखरीको पानीलाई प्रसाद तथा औषधिका रुपमा समेत प्रयोग गर्ने गर्दछन्। 

तिम्बु क्षेत्रबाट दुई दिनको यात्रामा कञ्जनजंघा आधार शिविर पुग्न सकिने त्यहाँका चौंरी गोठालाहरु बताउँछन्।

सिक्किम, दार्जिलिङ र तराईको दृश्यावलोकन 
तिम्बु पोखरीबाट मौसमले साथ दिएको खण्डमा कञ्चनजङ्घा र कुम्भकर्णलगायत विभिन्न हिमशृृखंलाहरू अवलोकन गर्न सकिन्छ। तराईका फाँटहरू, अग्ला होचा पहाड र भारतको सिक्किम, दार्जिलिङ जस्ता सहरहरू समेत यस क्षेत्रबाट सजिलै देख्न सकिन्छ। यहाँबाट देखिने घाम झुल्किएको दृष्यले पनि पर्यटकको मन तान्ने गरेको छ।

सडक, होटल र लजको अभाव 
पहाडी क्षेत्रमा पर्ने तिम्बु पोखरीमा अहिलेसम्म सडक पुगेको छैन। यातायातको सुविधा नहुँदा यस क्षेत्रमा लज र होटलको सुविधा छैन। यस क्षेत्रमा आउने पर्यटकले यहाँ आउँदा खाना र खाजा आफूसँगै लिएर जानुपर्ने बाध्यता छ।

दुर्गम तथा विकट भौगोलिक स्थान भएका कारण सडक पुर्‍याउन समस्या भएको याङ्बरक गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल बताउँछन्। अधिकांश क्षेत्रमा चट्टानी संरचना भएका कारण तिम्बु पोखरी क्षेत्रसम्म सडक पुर्‍याउन तत्काल सम्भव नभए पनि सडक खन्नका लागि योजना भने अघि सारेको उनको भनाइ छ। 

तिम्बु पोखरी जाने पर्यटक र तीर्थयात्रीले हालसम्मले गोठालाले बनाएको गोठलाई आवासको रुपमा प्रयोग गर्दै आएका छन्। साँघुरो गोठमा गोठालाले सकेसम्मको सुत्ने तथा बस्ने प्रबन्ध मिलाउँछन्। गोठमै भए पनि छुट्टै किसिमको आतिथ्यता पाइन्छ भने चौँरीको दूध, दही र छुर्पी स्वाद लिएर फर्कने मौका मिल्छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने