निर्भीक वकिल, जसले पञ्चायतकालमा पनि प्रजातन्त्रका लागि वकालत गरे

जसलाई फाँसीको सजायबाट बचाउन सकेनन्

Nepal Live

काठमाडौं– नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८२ वर्षको उमेरमा बुधबार निधन भएको छ। श्रेष्ठ निर्भीक कानुन व्यवसायीको रुपमा परिचित थिए। एक कानुन व्यवसायीको रुपमा सफल उनले न्यायाधीश र अन्य सरकारी पद सधैं अस्वीकार गरे। 

न्याय परिषदको सदस्य र सर्वोच्च अदालतको न्यायाधीशसमेत अस्विसकार गरेर उनले वकालतबाटै आफूलाई स्थापित गराएका थिए। उनी लामो समयदेखि श्वासप्रश्वासको समस्याले ग्रसित थिए। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलले बताए। 

चर्चित दुई मुद्दा 
श्रेष्ठले वकालतकालमा धेरै बन्दीका मुद्दाहरुमा पञ्चायतविरुद्ध बहस गरे। देशमा प्रजातन्त्र हुनुपर्ने र वाक स्वतन्त्रतामा अंकुश लगाउन नमिल्ने उनको एकमात्र सिद्धान्त थियो। 

पञ्चायतकालमा वकालत सुरू गरेका उनले विभिन्न राजबन्दीहरूका मुद्दा लडेका थिए। त्यसमध्ये कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालासहित अन्य बन्दीको मुद्दा एक थियो। 

निर्वासनमा रहेका कोइराला स्वदेश फर्केपछि सरकारले उनलाई पक्राउ गरी ज्यान मुद्दा लगायत विभिन्न ८ वटा मुद्दा लगाएको थियो। वरिष्ठ अधिवक्ता श्रेष्ठले बिपीको कानुन व्यवसायीका रूपमा अदालतमा बहस गरेका थिए।

फाँसीको सजायबाट बचाउन सकेनन् 
श्रेष्ठले बहस गरेमध्ये उनलाई जीवनभर खल्लो लागेको मुद्दा पञ्चायतकालमा प्रजातन्त्रका लागि लडेका दुई राजबन्दीहरुको मुद्दा थियो। विराटनगर बम काण्डमा राजबन्दी भीमनारायण श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर थापाको मुद्दामा अदालतले फाँसीको सजाय सुनाएको थियो। 

नेपालको इतिहासमा यो मात्रै यस्तो फैसला थियो, जसले दुई जना प्रजातन्त्रका लागि लडेका व्यक्ति राज्यद्रोहको मुद्दामा फाँसीमा चढ्न बाध्य भएका थिए।

श्रेष्ठ दुई बन्दीहरुका लागि धनकुटामा रहेको पूर्वाञ्चल अदालतदेखि सर्वोच्चसम्म आफै बहसमा पुगेका थिए। सुनुवाइ क्रममा उनले सेनाको बर्दीसहित इजलासमा बहस नहुने भन्दै उतार्न लगाएर मुद्दा अघि बढ्न दिएका थिए। तर अदालतले उनीहरुलाई सफाइ भने दिएन। उनीहरु हतियार निर्माणदेखि सैनिक तालिम सञ्चालन गर्ने व्यक्ति भन्दै फाँसीको सजाय सुनाएको थियो। 

२०३० चैत ३ मा विराटनगरस्थित राजा त्रिभुवनको सालिकमा बम हानेको आरोपमा दायर मुद्दामा वासुदेव शर्मा र झपटसिंह रावलको इजलासले मृत्युदण्डको फैसला गरेको थियो। राजगद्दी ताकेको र श्री ५ माथि आक्रमण गरेको भन्दै पञ्चायती कानुनको राजकाज अपराध र सजाय ऐन तथा राजगद्दी ऐनविपरीत कार्य गरेको भन्दै २०३३ फागुन ६ गते उनीहरुमाथि मृत्युदण्डको फैसला सुनाइयो। सोही आदेशअनुसार २०३५ माघ २६ गते श्रेष्ठलाई कोसी किनारमा र थापालाई कमला नदी किनारमा फाँसीमा चढाइ गोली हानिएको थियो।

जीवनको अन्तिम समयसम्म पनि उनले त्यसलाई आफ्नो मनमा पीडाको रुपमा लिएका थिए। उक्त फैसला गर्ने न्यायाधीशले उनीसँग कुनै समय आफ्नो ठूलो भुल भएको भनी पश्चात्ताप गरेका थिए। तर मरेका मानिस फिर्ता नहुने भन्दै उनले गलत फैसलापछि पश्चात्तापको अर्थ नहुने जवाफ दिएका थिए।

नेपालको इतिहासमा यो मात्रै यस्तो फैसला थियो, जसले दुई जना प्रजातन्त्रका लागि लडेका व्यक्ति राज्यद्रोहको मुद्दामा फाँसीमा चढ्न बाध्य भएका थिए। 

श्रेष्ठले लडेको दोस्रो मुद्दा मनमोहन अधिकारीको संसद विघटन सम्बन्धी थियो। उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षबाट लडेका थिए। अधिकारीको संसद् विघटनले संविधानलाई समाप्त गर्ने र कार्यकारी हाबी हुने उनको तर्क थियो। तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहित बहुमत न्यायाधीश त्यसमा सहमत हुँदा मनमोहन अधिकारीको संसद विघटन उल्ट्याउने फैसला सर्वोच्चले गरेको थियो। 

बिपी कोइराला उनको आदर्श र मित्र थिए। बिपी जेलमा रहँदा कानुन व्यवसायीको रुपमा उनले सहयोग गरे। 

अंग्रेजीका धुरन्धर 
श्रेष्ठसँगै कानुनी वकालत गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी आज पनि उनलाई अंग्रेजीका धुरन्धर वकिलको रुपमा सम्झन्छन्। उक्त समयमा कम मात्र कानुन व्यवसायी श्रेष्ठ बराबरको भएको उनको सम्झना छ। उनको त्यो खुबीका कारण न्यायलयमा वैदेशिक सहयोग सुरुवात भएको भण्डारी सम्झन्छन्।

बारलाई समेत उनले अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन सफल भएका थिए। श्रेष्ठले नै नेपाल बारलाई नर्वेजियन बारसँग सम्झौता गराई असहायहरुलाई कानुन सहायता दिने अभियान सुरु गराए।

महँगा र स्मार्ट कानुन व्यवसायी 
श्रेष्ठ सधैं 'कानुन व्यवसायी भनेको विद्यानको उपमा पाएकाले आफूलाई त्यही अनुरुप देखाउनुपर्ने' तर्क गर्दथे। सधैं टाईसुट लगाएर वकिल स्मार्ट देखिनुपर्ने उनको भनाइ थियो। श्रेष्ठ सहज पहुँचमा भएका कानुन व्यवसायी थिएनन्। महँगा कानुन व्यवसायीको रुपमा श्रेष्ठले आफ्नो परिचय बनाएका थिए। बिपी कोइराला उनको आदर्श र मित्र थिए। बिपी जेलमा रहँदा कानुन व्यवसायीको रुपमा उनले सहयोग गरे। 

देशमा प्रजातन्त्र हुनुपर्ने र वाक स्वतन्त्रतामा अंकुश लगाउन नमिल्ने उनको एकमात्र सिद्धान्त थियो। 

उनी नेपाल ल क्याम्पसका प्राध्यापक पनि भएका थिए। नलाई निडर र सक्षम कानुन व्यवसायीका रूपमा चिनिन्छ। उनी पञ्चायतकालीन अवस्थामा पनि सत्तासँग पौंठेजोरी खेल्दै आफ्नो कानुन व्यवसायलाई कायम राखेका थिए।

बार स्तब्ध 
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले उनको निधनबाट आफू स्तब्ध भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। 

‘लक्ष्मीपूजाका दिन प्रात:कालमा उनको स्वर्गारोहण भएको खबरबाट नेपाल बार एसोसिएसन स्तब्ध भएको छ,’ बारले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘वरिष्ठ अधिवक्ता श्रेष्ठलाई नेपालको कानुन व्यवसायको कहिल्यै नअस्ताउने उज्ज्वल नक्षत्रका रूपमा स्मरण गर्न चाहन्छौं।’ पार्थिव शरीर हामीमाझ नरहे पनि आफ्नो अमूल्य योगदानमार्फत उनी सधैँ हाम्रामाझ रहनुहुनेछ, उनीप्रति श्रद्धाञ्जली।’

श्रेष्ठलाई श्रद्धाञ्जली दिन बिहीबार दिउँसो २ देखि ४ बजेसम्म बार एसोसिएसनको केन्द्रीय कार्यलयमा उनको शव राखिनेछ। आजै साँझ ५ बजे उनको अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको बारका पूर्वमहासचिव सुनिल पोखरेलले बताए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार