घुर्की गाउँस्थित एक परिवारको दारुण चित्र : चाडपर्व आउँदा न काम पाइन्छ न खान

तिहारमा जहाँ घर लिपिएन, दियो जलेन

Nepal Live

इटहरी– इटहरी चोकको ३ किलोमिरभित्र पर्छ घुर्की गाउँ। विकसित र व्यस्थित सहर निर्माण अभियानमा छ इटहरी। सो गाउँ पनि व्यवस्थित सहर बन्ने तरखरमा देखिन्छ। जसको फलस्वरूप भित्री बाटाहरू पिच गरिएका छन्। सडकबत्ती जडान भएको छ। प्राय: सबैका घरमा खानेपानीको पाइप पुगेको छ। 

तिहारको पूर्वसन्ध्यामा सबैका घरमा झिलिमिली बत्ती बलिरहेका छन्। तिहारको रौनकले पूरै बजार रङ्गीन देखिन्छ। गाउँतिर पनि तिहार भित्रिइसकेको छ। मिठो मसिनो खाने र रमाइलो गर्ने योजना हरेक घरमा बनिरहेको छ। 

सोही गाउँको एकातिर छ, लालचन ऋषिदेवको छाप्रो। उनको छाप्रोमा भने न दसैँ नै आयो न तिहार आउनेवाला छ। अरूकोमा भन्दा बढी त उनकोमा जाडो आएको छ। 

इटहरी उपमहानगरभित्रको विकसित वडा मानिएको वडा नं ८ मा बस्छन् लालचन। तिहारको आगमनमा वरिपरिका घर सिँगारिएका छन्। उनी भने माटो किन्ने पैसा नभएको कारण घर लिप्न नसकेको सुनाउँछन्। 

बाहिर बसेरै भित्रसम्म देख्न सकिने पारदर्शी छाप्रो। अरूको भन्दा फरक आँगन छ उनको। सामान्यतः कालो देख्नेबित्तिकै कालोपत्रे जस्तो देखिन्छ। 'माटो महँगो पर्ने भएकाले खरानीले आँगन पुरेको हो। बर्खामा बारम्बार डुबान भएपछि १२ सयको खरानी किनेर आँगन पुर्नुपर्‍यो,' उनी सुनाउँछन्।

भर्खर २५ वर्ष पुगेको बताउने उनी ४० का जस्ता देखिन्छन्। दुई वर्षअगाडि कुष्ठरोगले च्यापेपछि उनी घरमै थलिएर बसेका छन्। साइडमा काम गर्दागर्दै कुष्ठरोग निस्केपछि गीता ऋषिदेवको भरमा परिवार चलिरहेको छ। गाह्रो काम गर्दा घाउबाट पानी बग्ने भएकोले गीताकै कमाइमा निर्भर छन् लालचन। उनको हातका औंला पाक्न थालेका छन्। खुट्टाको कुर्कुच्चामा आएको घाउले उनलाई हिँडडुल गर्न असहज बनाएको छ।

इटहरीमा औषधी नपाएपछि विराटनगर पुगेर औषधी ल्याउनुपर्ने बाध्यतामा छन् उनी। 

मागीविवाह भए पनि उनीहरू बीचमा गहिरो प्रेम देखिन्छ। खानलाउन पुग्ने परिवारमा हुर्किएकी गीता लालचनको भरपर्दो सारथि बनेकी छिन्।

गीतालाई आफ्नो उमेरसमेत थाहा छैन। लालचनका अनुसार उनी २३ वर्ष पुगिन्। २ छोरा र १ छोरीकी आमा उनले साइडमा ढुङ्गा गिट्टी बोकेरै उनले ५ जनाको परिवार पालिरहेकी छिन्। दसैँ लागेर काम ठप्प भएकोले केही दिन समस्या परेको उनी सुनाउँछिन्। ‘अहिले तिहार लागिरहेको छ। त्यसैले सबै काम ठप्प छ,’ उनी भन्छिन्, ‘चाडपर्व आएपछि काम पाइँदैन अनि भोकै बस्नुपर्छ बरु हाम्रो लागि त अरू दिन नै राम्रो।’ 

हरेक बुधबार पाइने हप्तावारी पैसाले घर चलाउँदै आएकी गीता केही दिनेदेखि समस्यामा छिन्। हप्ता पाउने नभएपछि तिहार कहिले बित्ला जतिकै भएको छ उनलाई। बाँकी दिनमा कसैले घरको काम गर्न बोलाए भने जाने गरेको उनको भनाइ छ। ‘हप्ताको १५ किलो चामल लाग्छ,’ उनी भन्छिन् , ‘चामल किनेर बाँकी रहेको पैसाबाट सागसब्जी, दाउरा, मट्टितेल ल्याउँछु।’

घरअगाडि नै बिजुलीको लाइन पुगेको छ। सबैका घरमा बत्ती बल्छ। बिजुलीको पोल राति झिलिमिली हुन्थ्यो। तर, अहिले बत्ती बिग्रिएर उनको घरसम्म आउने उज्यालोको स्रोत बन्द भएको छ। केही महिना अगाडि उनले पनि हुकले तानेर बत्ती बालेका थिए। तर बिजुली अफिसले बत्ती काटिदियो र दुई वर्ष बिजुली बाल्न नपाउने गरी प्रतिबन्ध लगायो। पोलको बिग्रिएपछि उनी टुकीकै भरमा छन्। 

एउटा उदीयमान सहरभित्र अझै पनि टुकी बल्नु आफैमा आश्चर्यको कुरा हो। तर उनको यो प्रक्रिया अझै दुई वर्ष चलिरहने देखिन्छ। यसको दोष उनी आफैलाई दिन्छन्। ‘यदि म गरिब नभएको भए यस्तो हुन्थेन होला,’ उनी भन्छन्।  

गाउँभरिमा उनीहरुमात्रै यस्ता छन्, जो अरूकै घरको पानी प्रयोग गर्छन्। उनीहरूसँग आफ्नो पानीको स्रोत छैन। नगरपालिकाले वितरण गर्ने पानी जोड्न सक्ने अवस्था छैन। दैनिक गुजारा नै सकस भइरहेको बेला आफ्नै कल गाड्नु त कल्पनाबाहिरकै कुरा।

जेठानले दिएको ४ धुर ऐलानी जग्गामा लालचनले छाप्रो हालेका छन्। साइडमा काम गर्दा भेटिएको चुहिने जस्तापाता ल्याएर छानो छाएका छन्। घर बनाउने बास किन्न ऋण गरेको पैसा तिर्न नसकेर ७ दिन काम गरेको उनी सुनाउँछन्। उनी आफ्नोभन्दा पनि छोराछोरीको भविष्यप्रति बढी चिन्तित देखिन्छन्। ‘राम्ररी पढाउन नसक्दा, स्कुल ड्रेस लगायत कापी कलम किन्दिन नसक्दा धेरै दु:ख लाग्छ,’ उनको मलिन आवाज सुनिन्छ।

दुई हजारमा किनेको पुरानो साइकलमा साइडको काममा जान्थिन् गीता। तर केही दिनदेखि साइकलको चेन बिग्रिएर बनाउने पैसा नभएपछि साइकलले विश्राम पाएको छ। 

गरिबीको फाइदा उठाउँदै धर्म परिवर्तन गराउनेहरू धेरै आए उनको छाप्रोमा। धर्म परिवर्तन गर्दा रोग निको हुने भन्दै आएको गीता सुनाउँछिन्। लालचनलाई त्यो कुरा ठिकै लागेको थियो। तर गीताले मानिनन्। खाने बस्नेदेखि छोराछोरीको विवाह सम्मको व्यवस्था गरिदिने 'अफर' आएको तर आफूले नमानेको उनी बताउँछिन्। 

सबैको घरमा मिष्टान्न पकाउने तयारी भइरहेको बेला उनी चाँडै चाडपर्व सकियोस् भन्ने कामना गरिरहेकी छिन्। धर्मले हिन्दु नै भए पनि वर्गले गरिब बनाएपछि हरेक चाडपर्व उनको वैरी बन्ने गरेका छन्। 

यसपालि उनको छाप्रोमा दु:ख मात्र देखियो। अर्को वर्षको तिहारमा गीताको घरमा दीपावली होला कl नहोला? एक वर्ष कुर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार