अमेरिका जाने लोभमा धर्म परिवर्तन गर्छन् भुटानी शरणार्थी

विनय बाह्रकोटी

Nepal Live

मोरङ– मोरङको पथरी शनिश्चरे शिविरकी ७२ वर्षीया भुटानी शरणर्थी जानुका खत्रीका छोरा हाल अमेरिकामा छन्। हिन्दुबाट इसाई (क्रिस्चियन) धर्म परिवर्तन गरी उनका छोरा अमेरिका पुगेका हुन्। तर, अहिले छोराले अमेरिकामा पाएको दुःख सुनेर उनी जीवनभर अमेरिका नजाने सोच बनाएकी छिन्। बरु विदेशी संस्थाले उपलब्ध गराएको मासिक ६ सय ५० रुपैयाँको भरमा जीवन पाल्ने उनी बताउँछिन्।

जानुकाले अमेरिकाप्रति बनाएको धारणा सबै भुटानी शरणार्थीहरुका लागि भने लागू नहुन सक्छ। सोही शिविरका सयौं युवाहरू भने अमेरिका जान पाए हुन्थ्यो भन्ने आशमा छन्। जसका लागि उनीहरु भरमजदुर प्रयास पनि गरिरहेका छन्।

सोही शिविरका दीपक लिम्बु अमेरिका जाने अन्तिम तयारीमा छन्। उनका दाजुभाउजु अमेरिका पुगेको ६ महिना पुरा भयो। उनले नेपाली मूलकी युवतीसँग विवाह गरेका छन्।  दीपकले आफूलगायत सालासालीलाई पनि अमेरिका लैजाने तयारीमा छन्। त्यसैको तयारीस्वरूप हिजोआज उनका सालासाली पनि चर्च धाउन थालेका छन्।

क्रिस्चिएन भएपछि अमेरिका जाने पक्का हुने आशासहित धर्म परिवर्तन गरेको दीपक स्विकार्छन्। अमेरिका जान धेरै सङ्घर्ष गर्नुनपर्ने भएकोले धर्म परिवर्तन गरेको उनको भनाइ छ।

उनीजस्तै अहिले धेरै भुटानी युवकले नेपाली युवतीसँग विवाह गरेका छन्। अमेरिका जाने सुन्दर सपना सजाएका छन्। केही युवतीको परिवारले ज्वाइँलाई छोरा बनाएर नागरिकता समेत दिलाइसकेको बताइन्छ। छोरीलाई अमेरिका पुर्‍याउने भएपछि धर्म परिवर्तन गर्ने र नागरिकता दिनेहरूको कमी छैन।

स्कुलमा विद्यार्थीलाई शिक्षकमार्फत नै धर्म परिवर्तन

हाल करिब ३ हजार घर परिवारको बसोबास रहेको उक्त शिविरका बालबालिका स्थानीय स्कुलमा पढ्छन्। तर, स्कुलका शिक्षकमार्फत नै धर्म परिवर्तनको सफल अभ्यास भइरहेकोे छ।

कक्षा ७ मा अध्ययनरत केशव गौतमले धर्म परिवर्तन गरेको धेरै भएको छैन। उनी पढ्ने विद्यालयका शिक्षक डानियन तामाङ नजिकैको चर्चका पास्चर पनि हुन्। तामाङ आफ्नो कक्षाकोठामा पनि परमेश्वरकै विषयमा कुरा गर्छन्। तामाङले कहिलेकाहीँ परमेरश्वरको बारेमा बुझ्न बाइबल अध्ययन गर्न लगाउने गरेको गौतम बताउँछन्।

‘तिमीहरू सँगैका साथी अमेरिका गइसके, तिमीहरू चाहिँ यतै बस्ने हौ? हैन भने बाबाआमालाई भनेर भोलिदेखि चर्च आउन सुरु गर्नु भन्दै सरले भन्नु हुन्थ्यो।’, गौतमले इसाई धर्म अगाल्नुअघिको दिन सम्झिँदै भने, ‘मेरा धेरै साथीहरू अमेरिका पुगेका छन्, डानियल सरले हामीलाई पनि पठाइदिने भन्नु भएको छ।’

गौतम मात्र होइन उनका साथी सारांश लिम्बु पनि केही दिनयता चर्च जान थालेका छन्। उनीसँगै उनका बाआमा पनि चर्च जान थालेका छन्। सरले धेरै कर गरेपछि आफूले घरमा भनेको उनी बताउँछन्। ‘पापाआमा चर्च नगइन्जेल सरले मलाई सधैँ कराउनु हुन्थ्यो।,’ उनी भन्छन् , ‘सरले गाली गर्न थालेपछि म घरमा रुन थालें, अनी पापाआमा पनि चर्च जान थाल्नुभएको हो।’

धर्म परिवर्तन गरी छोराहरू विदेशीए पनि पथरी शनिश्चरे शिविरमा वृद्ध श्रीमानसँगै बस्दै आएकी छिन् माया राई। धेरैपटक ‘धर्म परिवर्तन गर्नु हामी तपाईँको सम्पूर्ण जिम्मा लिन्छौं’ भन्दै आएको उनी सुनाउँछिन्। तर, आफूले जीवनभर नगरेको काम गरेर शान्ति नमिल्ने उनको विश्वास छ। नेपाली चाडपर्वमै आफू रमाउने र खुसी हुने उनी बताउँछिन्।

अावाज उठाइयाे, सुनुवाइ भएन

स्थानीय रणबहादुर राईका अनुसार हरेक स्कुलका शिक्षकहरू धर्म परिवर्तनका लागि खटिन्छन्। आफूहरूले शिक्षकले त्यस्तो काम गर्न नपाइने भनेर आवाज उठाएको तर कुनै सुनुवाइ नभएको उनको भनाइ छ। अधिकांश राई समुदाय, मतवालीहरू र दलित परिवारमा बढी मात्रमा धर्म परिवर्तनको प्रभाव परेको उनको बुझाई छ। ‘पहिला यो गाउँमा बुढापाकाको संख्या पनि उल्लेख्य थियो। तर, अहिले सबै अमेरिका गइसके।,’ उनी भन्छन्, ‘धर्म परिवर्तन गर्यो भने अमेरिका लैजान्छौं भनेपछि रातारात धर्म परिवर्तन गर्नेहरूको संख्या ह्वात्तै बढेको हो।’

मोरङको पथरी शनिश्चरे शरणार्थी शिविर


भुटानबाट धपाइएपछि राईसँगै नेपाल आएका उनका एक छिमेकीले केही समयअघि मात्रै अमेरिका पुगेपछि आत्महत्या गरेको खबर आयो। त्यस दिनदेखि उनले अमेरिका जाने इच्छा मेटाइदिएका छन्। अमेरिकामा गएपछि सुख पाइन्छ भन्दै लैजाने र गएपछि धेरै मान्छे विचलित हुने गरेको उनको दाबी छ।

शरणार्थीलाई दिइँदै अाएकाे सहयोगमा कटाैती

हाल भुटानी शरणार्थीको लागि रेडक्रसलगायत संस्थाले दिँदै आएको सहयोगमा कटौती भएको छ। ‘द लुथ्रेन वर्ड फेडेरेसन’ (एलडव्ल्युएफ) को सहयोगमा ‘युनाइटेड नेसन हाई कमिस्नर फर रिफ्युजी’ (युएनएचसिआर)ले हरेक महिना प्रतिव्यक्ति ६ सय ५० रुपैयाँ दिँदै आएको छ। पहिले हरेक १५ दिनमा ५ केजी चामल र अन्य खाद्य पदार्थ उपलब्ध गराउने गरेको ‘युनएनएचसिआर’ले हाल नगद मात्र उपलब्ध गराउँदै छ।

विदेशीदाताले दिने पैसाले दैनिक जीवनयापन धान्न असहज हुनु र अमेरिकामा पुग्न पाउने ‘अफर’ एकै पटक बाहिरिएपछि धर्म परिवर्तनको दर आकासिएको छ। चर्चको तर्फबाट विभिन्न पर्वको अवसर पारेर क्रिस्चियन परिवारलाई चामल, दाललगायत नगदसमेत दिने गरेको पाइएको छ। जसका कारण पनि धेरै शरणार्थीहरु लोभमा पर्ने र धर्म परिवर्तन गर्ने गरेको पाइन्छ।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने