स्वरेक, स्याङजा- गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालन भइरहेको छ। विश्वकप प्याराग्लाइडिङले स्थानीयवासीमा आशा जगाएको छ।
_x000D__x000D_
वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने पहाडी क्षेत्र स्वरेकले अागन्तुकको मन लोभ्याउने गरेको छ। प्याराग्लाइडिङको विश्वकप सञ्चालन हुँदैगर्दा विभिन्न २१ देशका खेलाडी, प्रशिक्षक एवं निर्णयक टोली स्याङ्जा पुगेका छन्।
_x000D__x000D_
नेपालमा पहिलो पटक भएको विश्वकप प्रतियोगिताले स्थानीयवासीमा ठूलो आशा जगाएको नमूना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेले बताए।
_x000D__x000D_
'स्वरेक आफैंमा धेरै सम्भावना बोकेको ठाउँ हो,' उनले भने, 'नेपालमा पहिलोपटक भएको विश्वकप प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङले यतिखेर यस ठाउँले अन्तर्राष्ट्रिय रुपमा चासो पाएको छ।' विश्वकप सञ्चालनसँगै आगामी दिनमा यहाँको विकासमा राज्यको ध्यान पुग्ने विश्वास उनले व्यक्त गरे।
_x000D__x000D_
स्वरेकमा प्याराग्लाइडिङको पढाइ हुने बाबु एडभेन्चर स्कुल सञ्चालनमा आइसकेको छ। समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइको पर्यटकलाई लोभ्याउने झन्डै १० वटा रमणीय थुम्कायुक्त स्वरेक सिद्धार्थ राजमार्गको बयरघारीबाट सुन्दरबजार, स्वरेक भञ्ज्याङ, पाण्डे गाउँ, गुरुङसेनी डाँडा, गौंडा हुँदै लगभग नौ किलोमिटर दुरी पार गर्दै पुग्न सकिन्छ।
_x000D__x000D_
यहाँबाट माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण लगायतका हिमशृङ्खला अवलोकन गर्न पनि पर्यटक लोभिने गरेको स्वरेक कालिका टोल विकास संस्थाका सचिव शोभाकान्त पाण्डेले जानकारी दिए।
_x000D__x000D_
'प्याराग्लाइडिङको विश्वकप सञ्चालनसँगै स्वरेक स्याङजाको मात्र नभइ अन्तर्राष्ट्रियस्तरकै गन्तव्यमा सूचीकृत बनिसकेको छ,' टोल विकास संस्थाका सचिव पाण्डेले भने, 'आगामी दिनमा हुने पर्यटकको आगमनलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका साथै घरवास कार्यक्रमलगायतमा सहयोग गर्नु आवश्यक छ।'
_x000D__x000D_
नेपालका बाइसे चौबिसे राजाको पालादेखि नै अस्तित्वमा आएको विश्वास लिइने यहाँस्थित स्याङजा भैरवकालिका मन्दिर, भगवान रामचन्द्र आएर बसेको विश्वास गरिने राजेन्द्र भवानी मन्दिरजस्ता स्थल धार्मिक पर्यटकीय आकर्षण हुन्। स्वरेकको पर्यटकीय आकर्षणलाई लक्षित गरी यहाँको पूर्वाधार विकास गर्न नेपाल पर्यटन बोर्ड पोखरा कार्याालयले आर्थिक वर्ष २०७३/७४ मा र २०७४/७५ मा सात/सात लाख रुपैयाँ लगानी गरिसकेको कार्यक्रम अधिकृत प्रदीपराज गैरेले जानकारी दिए। 'स्वरेकमा प्याराग्लाइडिङको विश्वकप हुनुले यस ठाउँलाई खेल पर्यटनको पनि विशिष्ट गन्तव्यको पहिचान गराएको छ,' उनले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।