पद्मरत्नलाई गणेशमानले ठान्थे आफूसरहको नेता

Nepal Live

पद्मरत्न तुलाधरसँग मेरो पारिवारिक र घनिष्ट सम्बन्ध थियो। यो सम्बन्ध ०४३ सालको चुनावपछि सुरु भएको हो। चुनावताका उहाँले बसन्तपुरमा एउटा भाषण दिनुभएको थियो, त्यो देशभरि भाइरल भएको थियो। त्यही भाषणको क्यासेट सुनेर म उहाँको व्यक्तित्वप्रति आकर्षित भएको थिएँ। मैले उहाँको फोन नम्बर खोजेर काभ्रेबाट फोन गरें। फोनमै लामो कुरा भयो। त्यसपछि हामी भेट्यौं। त्यसपछि नै हामी घनिष्ट हुँदै गएका हौं।

उहाँको भाषणको सार नेपालमा बहुदल चाहियो भन्ने थियो। पञ्चायती व्यवस्था मिल्काउनुपर्‍यो, बहुदल ल्याउनुपर्‍यो भन्नुभएको थियो। जनतामा बोल्ने, लेख्ने अधिकार हुनुपर्‍यो, पार्टी र संगठन खोल्ने स्वतन्त्रता हुनुपर्‍यो। एकतन्त्रीय पञ्चायती व्यवस्था नेपाल राष्ट्र र जनताको हितमा छैन। उहाँले यस्तै कुरा गर्नुभएको थियो।

त्यसले त्यतिबेला उथलपुथल ल्याएको थियो। मानिसहरुले आफैंआफैं भाषणलाई क्यासेटमा कपी गर्दै र बाँड्दै देशभर फैलाएका थिए। मलाई लाग्छ, त्यो भाषण लाखौं कपी वितरण भयो।

भेट भयो। भेटमा मैले राष्ट्रिय पञ्चायतमा निर्वाचित त हुनुभयो, अब के गर्ने योजना छ भनेर सोधेको थिएँ। आफ्ना केही योजनाबारे उहाँले मलाई बताउनुभयो। म व्यक्ति होइन, राष्ट्रिय पञ्चायतमा गएर बहुदलको आन्दोलन छेड्ने हो। जनताको आवाज उठाउने हो। जनताको अधिकारको लागि त्यहाँ गएर बोल्ने हो। यस्तै कुरा गर्नुभयो उहाँले।

पहिलो भेटमा नै उहाँले वर्षौं पुरानो साथीजस्तो व्यवहार गर्नुभयो। ठूलो मानिस हुनुनपर्ने, सरल र अहंकाररहित नेता हुनुहुन्थ्यो। सबैभन्दा बढी भोट पाएको 'मस्ट पपुलर' नेता हुनुहुन्थ्यो। उहाँको सबैभन्दा बढी भोट आए पनि हेमबहादुर मल्लले निर्वाचन आयोगलाई भनेर आफ्नो भोट बढी बनाए। त्यसैले पनि तुलाधर दोस्रो बढी भोट पाउने नेता बनाइए। त्यतिबेलै ८३ हजार भोट ल्याउनु भनेको 'रेकर्ड ब्रेकिङ' थियो।

उहाँ राष्ट्रिय पञ्चायतमा गए पनि भेटघाट भइरहन्थ्यो। तर मैले त्यही पहिलो भेट नै बढीजसो सम्झिन्छु। उहाँको सरल व्यक्तित्व देखेर म छक्कै परेको थिएँ।

उहाँ निकै भावुक मान्छे हुनुहुन्थ्यो। सानासाना कुराले पनि निकै प्रभावित हुनुहुन्थ्यो। सानै कुराले पनि दुखी बन्नुहुन्थ्यो। साह्रै नै कोमल हृदयको मानिस हुनुहुन्थ्यो। रुञ्चे नेता भनिए पनि नचाहिने कुरामा पनि रोइहाल्ने स्वभावचाहिँ थिएन। जनताको समस्या आयो, सम्बन्धित ठाउँमा गएर राख्यो, तर सुनुवाइ भएन भने यत्रो परिवर्तन हुँदा पनि मानिसमा परिवर्तन भएन भनेर आँसु आइहाल्थ्यो। सबै कुरामा रुनुहुन्नथियो, खासखास कुरामा मात्रै रुनुहुन्थ्यो।

म दोस्रो संविधानसभामा जाने कि नजाने भन्ने कुरामा उहाँसँग पनि सल्लाह लिएको थिएँ। 'म जाउँ कि नजाउँ, मलाई यस्तो खालको प्रस्ताव आएको छ, केही गर्न सकिएला जस्तो छैन' भन्ने कुरा उहाँसँग गरेको थिएँ। तर उहाँले 'जानुस्, जानुपर्छ' भन्नुभयो।  उहाँले जिद्दी नै गरेपछि मैले नागरिक आन्दोलनका साथीहरुको एउटा मिटिङ नै राखें। त्यो मिटिङमा उहाँ पनि आउनुभएको थियो। 'तपाईं व्यक्ति जाने होइन। नागरिक जाने कुरा हो। नागरिक आन्दोलनको आवाज पठाउने त्यहाँ कोही छैन। त्यहाँ गएर नबिके भइहाल्यो नि। नजानु झनै गलत हुन्छ', उहाँले यस्तै भन्नुभएको थियो।

मानव अधिकारवादी नेताहरुमा पहिलो पुस्ताका तीनजना नेताहरुमध्ये तुलाधर एकजना हो। अरु दुईमा मधुराप्रसाद श्रेष्ठ र ऋषिकेश शाह हुनुहुन्थ्यो। उहाँहरुलाई मानवअधिकारको श्रष्टा भने पनि हुन्छ।

०४६ सालको आन्दोलनमा वामपन्थी र कांग्रेसलाई जोड्न उहाँले निर्णायक भूमिका खेल्नुभएको थियो। वामपन्थीलाई एक ठाउँमा ल्याउन पनि उहाँको भूमिका उल्लेखनीय थियो। गणेशमानको उहाँप्रति निकै पत्यार थियो। कुनै बेलामा गणेशमान त आफूसरहको नेता कोही छ भने पद्मरत्न तुलाधर नै हो भन्नुहुन्थ्यो।

वाममोर्चाका पार्टीहरुसँग पद्मरत्नको असाध्यै राम्रो सम्बन्ध थियो। म त्यतिबेला नेकपा (चौथो महाधिवेशन)सँग आवद्ध थिएँ। निर्मल लामा पछिको दोस्रो नेता थिएँ। उहाँले सबैलाई एकै ठाउँमा राख्न भूमिका खेल्नुभएको म अहिले पनि सम्झिन्छु।

एमालेको सूर्य चिह्न उहाँको थियो, खासमा। ०४३ सालमा उहाँले व्यक्तिगत रुपमा सूर्य चिह्नमा चुनाव लड्नुभएको थियो। त्यो निकै लोकप्रिय भयो। सूर्य चिह्नमा कतिपय मान्छेले आँखा चिम्लेर भोट हाल्ने अवस्था थियो। त्यही लोभले एमालेले त्यही चिह्न लियो। बहुदलमा पनि उहाँले चुनाव जित्नुभयो। श्रम तथा स्वास्थ्यमन्त्री पनि हुनुभयो।

मन्त्री भएर पनि चोखै निस्कने नेतामा पर्नुहुन्थ्यो, तुलाधर। उहाँले मजदुरहरुको अधिकार, ट्रेड युनियनको अधिकारको लागि काम गर्नुभयो। स्वास्थ्य क्षेत्रमा पनि राम्रो काम गर्नुभयो।
उहाँले गाइ खान पाउनुपर्छ भने भनेर हल्ला भयो। तर, भाषणमा त्यस्तो भन्नुभएको थिएन। भाषण नै मैले सुनेको छु। गौरमा एउटा कार्यक्रम थियो, मानवअधिकार संगठनको। ऋषिकेश शाह पनि सँगै हुनुहुन्थ्यो। मैले शाहलाई पनि सोधेको थिएँ। उहाँले भाषण नै सुनाउनुभयो।

उहाँको भाषणको सार थियो– जसरी हिन्दूहरुलाई गाई प्यारो छ, उनीहरुले गाइको मासु खाँदैनन्। यहाँ अरु धर्मालम्बीहरु पनि छन्, जो गाईको मासु खान्छन्। नेपाल बहुधार्मिक देश हो त्यसैले सबैलाई आफ्नो धर्म अनुसार गतिविधि गर्ने छुट छ। जसरी हिन्दू धर्मालम्बीलाई छ।

उहाँले त धार्मिक स्वतन्त्रताको कुरा उठाउनुभएको थियो। उहाँले गाई खान पाउनुपर्छ भनेर बोल्नुभएको थिएन। तर गाइ खान पाउनुहपर्छ भनेर बोल्यो भनेर प्रचार गरियो। योगी नरहरिनाथले टाउको काट्नुपर्छ भन्नुभयो। कसैले छाला काढ्नुपर्छ समेत भने।

उहाँमाथि संगठित प्रहार भने 'पोलटिकल इन्ट्रेस्ट'ले भएको थियो। उहाँलाई नहराई काठमाडौंमा अरुले जित्ने स्थिति थिएन। उहाँलाई खुइल्याएपछि चुनाव जितिन्छ भन्ने कुराले त्यतिखेर रोल खेलेको थियो। तर त्यो हाबी हुन पाएन। किनकि, उहाँले बोलेको कुरा देशान्तरले छापिदियो। जे बोलेको हो, त्यही छापिदियो। ऋषिकेश शाहहरुले पनि वक्तव्य दिनुभयो। तुलाधरले धार्मिक स्वतन्त्रताको कुरा गरेको उहाँले बताउनुभयो। हामीले पनि बोल्यौं।

माओवादी विद्रोहलाई मूलधारमा ल्याउने शान्ति प्रक्रियाको एक अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो उहाँ। पहिलो र दोस्रो शान्ति वार्तामा उहाँ र दमननाथ ढुंगानाको भूमिका प्रमुख थियो। माओवादी र सरकारलाई जोड्नेमा उहाँको 'प्राइमरी' भूमिका थियो। खासमा उहाँको पहल नभएको भए शान्ति प्रक्रिया त्यसरी जाने नै थिएन।

वार्ता कहिले जोडिन्थ्यो, कहिले चल्थ्यो। तर उहाँले कहिल्यै निराशा वा दिक्दारी व्यक्त गर्नुभएन। पहिलो शान्ति वार्ताको दोस्रो चरणपछि वार्ता टुंगियो। त्यतिबेला उहाँले मलाई भन्नुभयो– वार्ता टुट्न लाग्यो। जोडेर नजोडिएला जस्तो छ। एक पटक तपाईंले पहल गरिदिने हो कि!

'तपाईंले गरेको नहुने, मैले गरेर कसरी होला', मैले उहाँलाई भनेको थिएँ।

'हुनसक्छ, पहल गरौं' भनेर उहाँले जोड गर्नुभयो। चिरञ्जीवी वाग्ले, जो वार्ता टोलीका अगुवा हुनुहुन्थ्यो, उहाँले पनि वार्ता टुट्नै लाग्यो भने अनुरोध गर्नुभयो। मैले प्रधानमन्त्रीको अनुरोध हुन्छ भने गर्छु भनें। प्रधानमन्त्रीको अनुरोध भयो। मैले तेस्रो चरणको वार्ता गराएँ। त्यसपछि कांग्रेसले संविधानमा कमा र फुलस्टप पनि परिवर्तन गर्ने काम हुँदैन भनेपछि वार्ता अघि बढ्ने कुरै भएन।

वार्ता त टुट्यो तर उहाँ टुट्नभएन। थाक्नुभएन। फेरि पनि निरन्तर लागिरहनुभयो। अब गर्दिनँ, हार खाएँ जस्तो कुरा कहिल्यै गर्नुभएन।

अहिलेका नेताहरुले तुलाधरका केही गुणहरु सिक्नुपर्छ। पहिलो, स्वच्छ छबि नै हो। मन्त्री हुँदा पनि स्वच्छ छबि जोगाउनुभयो। भ्रष्टाचार गर्दै नगर्ने।

दोस्रो, सरल जीवन। उहाँमा अहंकारको नामोनिशाना थिएन। सधैं उपलब्ध हुनसक्नुहुन्थ्यो। अहिलेका हाम्रा नेता मन्त्री हुनेबित्तिकै भेट्न मुस्किल पर्छ। तर तुलाधर मन्त्री हुँदा पनि सजिलो, नहुँदा पनि सजिलो हुनुहुन्थ्यो। सधैं जनताको पहुँचमा बस्नुहुन्थ्यो।

त्यस्तै, उहाँले व्यक्तिगत फाइदाको लागि केही पनि गर्नुभएन। घरमा आर्थिक हाहाकार थियो, बच्चा हुर्किसकेका थिए, भाउजुलाई गाह्रो थियो। तर कसैसँग पैसा माग्नुभएन। स्वभिमानी स्वभाव थियो। अहिलेका नेतामा पैसा भनेपछि तीन नेत्र बल्छ। उहाँले दुःख पाउनुभयो तर कहिल्यै पनि पैसा र पदको लालच गर्नुभएन। बारम्बार हार्नुभयो, तर हार खाएर बस्नुभएन। यस्ता कुरा हरेकले उहाँबाट सिक्नसक्छन्।

(विश्लेषक श्रेष्ठसँग किशोर दहालले गरेको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार