महिलाले लेखेको साहित्यमाथि विमर्श हुनु जरुरी छ : विमला तुम्खेवा [अन्तर्वार्ता]

Nepal Live

काठमाडाैं– विमला तुम्खेवा नेपाली कवितामा स्थापित नाम हो। कवितामा तुम्खेवाको संघर्ष बेग्लै छ। करिब २ दशकदेखि कवितामै साधनारत उनी नारी अस्तित्वको पक्षमा लेख्छिन्। सदियौंदेखि पुरुषप्रधान समाजबाट प्रताडित महिला हरेक क्षेत्रमा पेलिएका छन्। यो दुर्भाग्यपूर्ण अवस्थाबाट महिलालाई मुक्ति गराउनुपर्ने उनको मत छ। यही मतमा तुम्खेवाको कलम अडिएको छ। उनीसँग रहेर नेपाली साहित्य र विभिन्न क्षेत्रमा महिलाको अवस्थाबारे नेपाल लाइभका समर्पण श्रीले गरेको कुराकानी :

नेपाली साहित्यमा महिला लेखकको अवस्था कस्तो छ?
नेपाली समाजमा महिलाले ‘म पनि मान्छे हो’ भन्ने कुरामा विद्रोह गरिरहनुपरेको अवस्था छ। यो आफैंमा लज्जास्पद कुरा हो। साहित्यमा त महिला लेखककोे संघर्ष झनै कठिन छ। नेपाली साहित्यमा अहिलेसम्म खास महिलाको कुरा लेखिएकै छैन। महिलालाई सहपात्रको रुपमा मात्र उभ्याइएको अवस्था छ। 

तर, पछिल्लो समय महिलाको उपस्थिति संख्यात्मक रुपमा आशाजनक छ। यद्यपि, महिलाले लेखेको साहित्य र त्यसको वैचारिक पक्षमाथि गहन रुपमा विमर्श हुन सकेको छैन। यो हुनु जरुरी छ।

साहित्य र शास्त्रमा महिलाका कुराहरु कसरी उठाइएको छ?
अहिलेसम्म पुरुषले लेखिदिएको शास्त्र र साहित्य पढ्दै आयौँ। त्यसमा पनि हामीले बाँचेको समाज चाहिँ कस्तो छ भने सारा सृष्टि महिलाले धानिदिएपछि पुरुषहरु उनीहरू माथि जिन्दगीभर माया, प्रेम, सभ्यता र संस्कृतिको नाममा अत्याचार गरिरहने अनि त्यही अत्याचारको कथा चाहिँ पुरुष आफैंले लेख्ने?

यसरी हेर्दा शास्त्रभन्दा पनि हामीले बाँचेको समाजको प्रचलनले महिलालाई अझ बढी प्रताडित गरिरहेको छ। विद्रोह चाहिँ अब हिन्दु धर्मका शास्त्र पुनःलेखन हुनुपर्छ भन्नेबाटै उठाउन जरुरी छ। 

तीज पर्वको सुरुवात पार्वतीले शिवलाई पाऊँ भनेर बसेको व्रत हो। यो आस्थाले यसले आजको समयमा पनि नारीलाई शोषण गरेको छ। 

यसकारण जहिलेसम्म महिलामा आफू कसरी क्षमतावान हुने भन्ने कुरामा सोच्दैनन् र क्षमतावान् श्रीमान् पाउने चाहनामा रहन्छन्, महिलाको जीवनमा परिवर्तन र स्वातन्त्रता सम्भव नै छैन। महिलाले बुझ्न जरुरी छ। 

 तपाईं आफैं पनि लिम्बू समुदायमा हुर्केको। लिम्बू समुदायमा महिलाको  अवस्था कस्तो छ? 
अरु समुदायको तुलनामा लिम्बू सुदायमा सामाजिक, सांस्कृतिक र परम्परागत हिंसा कम छ। यो राम्रो पक्ष हो तर शिक्षामा महिलाको सहभागिता अत्यन्तै कमजोर छ। अन्य समुदायमा जस्तै सम्पत्ति माथिको कानुनी हक छैन।

यति हुँदाहुँदै पनि घरको मुली बूढीआमा हुन्छ। केटी माग्न जाँदा बाहुन समुदायमा ज्वाइँलाई राजा जस्तै मेजमान गरिन्छ तर हाम्रोमा पहिला डोको बुन्न दिने, सुँगुरको खोर छाउन लगाउने गरिन्छ।

केन्द्र प्रदेश र स्थानीय गरी ३ तहको सरकार हुँदा पनि हाम्रो देशका महिलाहरु निरीह छन्। महिलाले यो राज्य मेरै हो भनेर भन्न सकेको अवस्था छैन।

यसो गर्नुको कारण चाहिँ छोरी पाल्न सक्छ कि सक्दैन भन्ने हा। अर्को गज्जब के छ भने लिम्बू समुदायमा छोरीलाई विवाह गरेर ज्वाइँको घर  पठाएको ४० वर्षसम्म पनि साइमुन्द्री केटा पक्षलाई दिँदैन।

यो नदिँदा अनाचक छोरीको मृत्युु भयो भने ज्वाइँले किरिया गर्न पाउँदैन। त्यो छोरा र छोरीबीच समानताको ठूलो उदाहरण हो। तर, हिन्दु समुदायमा त्यही दिन कन्यादान दिइन्छ अनि दानमा पाएको वस्तुको महत्व के हुन्छ हामी अनुमान लगाउन सक्छौँ।  सायाद यस्तै यस्तै कारणले लिम्बू समुदायको महिला हिंसाको सिकार हुनबाट अलिक जोगिएका छन्। 

नेपाली राजनितिमा चाहिँ महिलाको प्रतिनिधित्व पछिल्लो समय बढेको पाइन्छ। तर यतिमै चित्त बुझाउने अवस्था छ त?
विश्वकै इतिहासलाई मूल्यांकन गरेर हेर्दा नेपाली राजनितिमा महिलाको अवस्था राम्रो छ। हामीकहाँ प्रधानन्यायाधीश, राष्ट्रपति, पराराष्ट्र, सभामुख जस्तो महत्वपूर्ण स्थानमा महिलाको प्रतिनिधित्व भइसकेको छ।

पहिलो संविधानसभाले त ३३ प्रतिशत महिला संसदमा पाइसकेको छ र अहले २९.७ प्रतिशत महिला संसदमा छन्। हामीसँग महत्वपूर्ण संसदीय ९ मध्ये ७ समितिमा महिला नै छन्। तर पनि महिलामाथिको ज्यादती भने बढ्दो छ।

अब हामीसँगको चुनौती भनेको नै कानुनको कार्यान्वय हुन नसक्नु हो। समाजको तल्लो तहसम्म कानुनको कार्यान्वयन गर्नमा यी प्रतिनिधिको भूमिका हुनु जरुरी छ। केन्द्र प्रदेश र स्थानीय गरी ३ तहको सरकार हुँदा पनि हाम्रो देशका महिलाहरु निरीह छन्। महिलाले यो राज्य मेरै हो भनेर भन्न सकेको अवस्था छैन।

त्यसैले प्रतिनिधित्वसँगै महिला महिलाले अधिकार प्राप्तिको महसुस गर्न पाउनुपर्‍यो। 

अब प्रसंग अलि बदलौँ। कुनै समय तपाईं कवि बन्नकै लागि काठमाडौं आउनुभयो। लामो समय काठमाडौंमा संघर्ष गरेर गुजार्नुभयो। त्यतिबेला कवि बन्ने हुटहुटीले देखेको सपना अहिले कतिसम्म साकार भएजस्तो लाग्छ?
म हुर्केको पथरीबजार। त्यतिबेला त्यो गाउँ नै थियो। बजारको वरिपरि ठूलो जगंल  थियो। तर दक्षिणतिर भने घनाबस्ती। बुबाले घरमा बम देवान, लक्ष्मीप्रसाद देवकोटाको जीवनका बारेमा कुरा गरिरहनुहुन्थ्यो। यिनै कुराले पनि म कविता लेखनतर्फ नजिकिन थालेँ।

सानोमा मलाई ‘आमा’ उपन्यासको पात्र पाभेलले पनि साहित्यमा आउन उत्साह थप्यो। मलाई अहिले के लाग्छ भने लेखकीय क्षमता कति गहिरो हुँदो रहेछ भन्ने अनुभूति गोर्की र पारिजातले दिए। अहिले पनि पाभेल र सकम्बरी मेरो दिमागमा ताजा बनेर बस्छ। 

काठमान्डू नजिकका डाँडा एक्लै चहार्दै हिँड्नु मैले बाँचेको समयमध्ये सबभन्दा अविश्लामरणीय लाग्छ। ती घमाइला दिन थिए। तर अब त्यसरी हिँड्ने समय छैन मेरो। समय बद्लियो।

हाम्रो घरछेउमा पथरी खोला छ। त्यसबेला बेलुका घाम डुब्नेबेला खोलाको किनारमा खुट्टा डुबाएर पहेँलो घाम हेर्थेँ र सोच्थेँ काठमाडौं घाम डुबेतिर छ। उतिबेला पानी पनि कति सङ्लो भने पहेँलो घाम पानिमा ठोक्किएको दृश्य साह्रै सुन्दर देखिन्थो। म त्यही पानी र घाम हेर्दै सोच्थँ। म पनि काठमान्डू जान्छु र कवि बन्छु।

र अहिलेसम्म म कवि नै छु। यो मिठो संयोग। कवि बन्नको निम्ति गरिएको संघर्ष अनेक छन्। स्मृति २०५५ सालतिरको हो। साथी अस्मिता भण्डारीले मलाई इटहरीमा बसबाट ओरालेर कोठामा लगेर रातभरि नै गाली गरेकी छन्।

उसबेला उनी उम्दा कवि गजलकार। उनकै मुखबाट पहिलोपल्ट सुनेँ, ‘काठमान्डू यहाँजस्तो हो र! त्यहाँ त ढोका थुनेर भात खान्छन्। म कति मूर्ख केटी भने- काठमाडौंमा जाडो हुन्छ भनेर इटहरीबाटै टोपी लगाएर बस चढेकी थिएँ र चर्चित कवि बन्न हान्निएकी थिएँ। 

अहिले त विमला तुम्खेवालाई अराजकको ट्याग पनि लाग्ने गरेको छ नि?
हा हा.. हो र! उहाँहरूले कुन रुपमा हेर्नुहुन्छ त्यो मलाई थाहा भएन। तर, यति हो जीवन छोटो र सुन्दर छ। हरेक दिन राम्रै मात्र काम गर्छु भन्दा पनि एकबारकाे जुनीमा। मेरो स्वाभाव नै हो मध्यरातमा काठमान्डूको सडक गल्लीमा रमाउँदै हिँड्नु।

फकिर जस्तो एक्लैएक्लै। काठमान्डू नजिकका डाँडा एक्लै चहार्दै हिँड्नु मैले बाँचेको समयमध्ये सबभन्दा अविष्मरणीय लाग्छ। ती घमाइला दिन थिए। तर अब त्यसरी हिँड्ने समय छैन मेरो। समय बद्लियो। अब त साथमा सानी छोरी छ, श्रीमान् छ र परिवारको दायित्व छ। त्यसरी अराजक हुन त कहाँ पाइन्छ र!

सत्य चाहिँ के हो भने महिलाको लेखकीय क्षमतालाई खुलेर प्रशंसा गर्ने हृदय, मस्तिष्क र साहस पुरुषसँग छैन।

 कविताको साधनासँगै पत्रकारितामा पनि भिज्नुभयो। अहिले सञ्चारिका समूहको महासचिव हुनुहुन्छ। यस समूहबाट महिला पत्रकारको अधिकारका निम्ति कस्ता प्रयास भएका छन्? 

पत्रकारिताको क्षेत्रमा भएका महिला यही पेसामा टिक्न नसक्नु चुनौतीको विषय छ। त्यसैले सञ्चारिका समूहले यही विषयलाई प्राथमिकतामा राख्दै काम गरेको छ। यस समूहमा देशभरका सबै महिला पत्रकार आबद्ध छन्। महिला पत्रकारको क्षमता अभिवृद्धि लगायतका काम पनि भइरहन्छन्। यस समूहले महिलामाथि हुने हिंसा र विभेदको विरुद्धमा पैरवी र बहस गर्दै आइरहेको छ। महिला हिंसा विरुद्ध र न्यायका निम्ति  वकालत गर्दै आएको छ।  मलाई लाग्छ २०औं वर्षदेखि यही मुद्दामा लागिरहनु यही यसको मुख्य कारण हो। 

अब लेखनकै विषयतर्फ प्रवेश गरौँ। नेपाली साहित्यमा पारिजातभन्दा पछिल्ला पुस्ताका महिला लेखकको उपस्थिति कमजोर भयो भनिन्छ, पारिजातलाई जसरी मानक बनाइएको थियो। त्यसरी मानक बनाउने किसिमको सशक्त उपस्थिति भएन भन्ने गरिन्छ नि, यसमा तपाईं सहमत हुनुहुन्छ?

यो सरासर गलत सोचाइ हो। प्रत्येक लेखकले आफू बाँचेको समाज र आफूले महसुस गरेको अनुभूतिलाई लेख्ने हो। भनेपछि कसरी पारिजातलाई केन्द्रमा राखेर अरु महिला लेखकलाई दाँज्न मिल्छ। जहाँसम्म मलाई लाग्छ, पुरुष लेखक पनि पारिजात जस्तो प्रसिद्धि कमाउन वा प्राप्त चाहान्छ।

 यसो भनिरहँदा मैले गलत बोलेँ भन्ने मलाई पटक्कै लाग्दैन। अहिलेका महिला लेखक तपार्इंले भनेजस्तो कमजोर छैनन्। हामीलाई थाहा छ हाम्रो लेखकीय मुद्दा के हो? हाम्रो लेखनमा हामी कसरी आउनुपर्छ? बरु समस्या चाहिँ अहिले पनि त्यही बिन्दुमा छ, जुन समय त्रिपुरा सुन्दरी, पारिजात र त्यसपछिका महिलाले संघर्ष गर्नुपर्‍यो।

परिवार, समाज, धर्म, संस्कृति, कानुन, राज्य सबै प्रतिकूल हुँदा पनि महिलाले यति गर्नु भनेको चानचुने उपलब्धि होइन। समाज, कानुन, देश सबै उसको पुरुषको दाहिने छ। यति भएर पनि अहिलेको समयमा महिला लेखन कुनै पुरुष लेखकको भन्दा कम छैन। बरु सत्य चाहिँ के हो भने महिलाको लेखकीय क्षमतालाई खुलेर प्रशंसा गर्ने हृदय, मस्तिष्क र साहस पुरुषसँग छैन। कि त बात लाग्ने डरले चुप छन् उनीहरु। यो नेपाली साहित्यको लागि दुर्भाग्य हो।

समर्पण श्री

साहित्य/फिचरमा कलम चलाउने समर्पण श्री नेपाल लाइभका सहकर्मी हुन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार