काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई सम्बोधन नगरी नेकपाको सचिवालय बैठक नयाँ एजेन्डामा प्रवेश गर्ने भएको छ।
_x000D__x000D_
आइतबार र सोमबार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता नेपालको एजेन्डाले प्रवेश नै पाएन। दुई दिनका बैठकमा नेताहरुले एक आपसमा आरोप प्रत्यारोप गरेर समय बिताएका थिए।
_x000D__x000D_
दसैंपछि डाकिएको पहिलो दिनको बैठकले काठमाडौं ७ बाट राजीनामा दिएका रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो। सोमबार बसेको बैठकले प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठलाई सोही पदमा निरन्तरता दिने निर्णय गरेको थियो।
_x000D__x000D_
पार्टी एकीकरणका लागि पद्धति, मापदण्ड र आधार तय गरी तल्लो तहको एकीकरण प्रक्रिया टुंग्याउनुपर्ने अडानमा रहेका नेता नेपालको मागलाई सम्बोधन गरिएन।
_x000D__x000D_
प्रदेश नेतृत्वको लागि सचिवालयले गरेको यस अघिको निर्णय यथावत् रहने भएको छ। प्रदेश नेतृत्वप्रति चरम आपत्ति जनाएका नेता नेपालको माग सुनुवाइ हुन सकेन। नेपालले नयाँ विधि तय गरी एकीकरण प्रक्रिया टुंग्याउनुपर्ने पक्षमा छन्।
_x000D__x000D_
बुधबारको बैठकमा प्रदेश र जिल्ला कमिटीलाई पूर्णता दिने विषयमा पनि थप छलफल हुने बताइएको छ। साथै पार्टीका विभाग गठन र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने विषयमा पनि छलफल हुनेछ।
_x000D__x000D_
बैठकमा पोलिटव्यूरो सदस्य र संख्याका विषयमा पनि छलफल हुने बताइएको छ। नेपाल समूहको माग सुनुवाइ हुनेगरी महासचिवले नयाँ मापदन्ड तय गरेको बताइएको छ। यद्यपि उक्त मापदन्डका कारण प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी पाएकाहरु परिवर्तन नहुने संकेत सचिवालयको गत बैठकले दिएको छ।
_x000D__x000D_
असोज ५ मा बसेको सचिवालयको बैठकले सातै प्रदेशमा पार्टी नेतृत्व तोकेपछि नेपाल असन्तुष्ट बनेका थिए। पार्टी पद्धतिअनुरुप सञ्चालन नभएको नेपालको गुनासो रहेको थियो। महासचिव विष्णु पौडेललाई लिखित असहमति बुझाएका नेपालको माग सम्बोधन हुनेगरी सचिवालयको बैठक डाकिने बताइएको थियो। विवाद र आन्तरिक तयारी नपुगेपछि यसअघि बोलाइएका दुई बैठक बस्दै नबसी सारिएको थियो।
_x000D__x000D_
निर्वाचनमा विजयी र सरकारी ओहोदामा रहेकालाई पार्टी कमिटीको मुख्य भूमिका नदिने यसअघिको निर्णय मिचिएको नेपाल समूहको भनाइ थियो। एकपक्षीय रुपमा पार्टी संस्थापन पक्षका नेतालाई पार्टी कमिटीको नेतृत्वमा ल्याइएको उक्त समूहको आरोप छ।
_x000D__x000D_
गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीलाई पार्टीको प्रदेश कमिटीमा पनि मुख्य भूमिका दिइएकोप्रति नेपाल समूह असन्तुष्ट छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दुवै प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्।
_x000D__x000D_
पार्टीका निर्णय प्रक्रियामा आफूलाई बेवास्ता गरेको भन्दै नेपालले गम्भीर असहमति प्रकट गर्दै आएका थिए। जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा देखिएको विवाद प्रदेश नेतृत्व छनोट गर्ने क्रममा थप सतहमा आएको थियो। प्रदेश ५ का जिल्लाहरुमा देखिएको असन्तुष्टि प्रदेश नेतृत्वमा आइपुग्दा थप झांगिएको थियो।
_x000D__x000D_
सचिवालयको निर्णय प्रक्रियाप्रति आपत्ति जनाउँदै नेपालले १२ असोजमा स्थायी समितिको भेला बोलाएका थिए। सरकारका काम कारबाहीप्रति सन्तुष्ट हुन नसकेका नेपालले संसद अधिवेशनको अन्तिम दिन सरकारको आलोचना गरेका थिए।
_x000D__x000D_
यसैबीच बुधबारको सचिवालय बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र रक्षामन्त्री ईश्वर पोखरेल अनुपस्थित हुने भएका छन्। । श्रेष्ठ बुधबार चीन जाने भएका छन् भने पोखरेल मंगलबार चीन भ्रमणमा निस्केका छन्।
_x000D__x000D_
पार्टीको सचिवालय बैठक बुधबार ३ बजे बस्नेछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।