बागलुङ– विदेश पठाउने गतिलो कोसेली यहाँको दरमखोलाको असला माछा बनेको छ।
_x000D__x000D_
सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ। देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ। स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ।
_x000D__x000D_
गलकोट नगरपालिका–७ मल्मकी उषा पौडेलले अमेरिकामा बस्ने दिदीका लागि यसपालि सोही माछा कोसेलीका रुपमा छानिन्।
_x000D__x000D_
सुकाएको माछा किन्दा भाउ भने महँगो पर्न गएको उनको भनाइ छ। व्यवसायीले पनि विदेशमा कोसेली पठाउनेलाई लक्षित गरी माछाको सुकुटी बनाउने गर्छन्। 'बढीजसो कोसेलीकै रुपमा बिक्री हुन्छ,' स्थानीय व्यवसायी बाबुराम केसीले भने, 'पोखरा, काठमाडौं जस्ता ठाउँमा पनि जान्छ।'
_x000D_
_x000D_आलो माछालाई हप्तौँसम्म आगोमा सेकाएर सुकुटीको रुपमा बेच्ने गरिएको उनको भनाइ छ। आलो माछाको मूल्य भने प्रतिकिलो ८ सयदेखि १ हजारसम्म छ। आलोको भाउ बढेसँगै वर्षेनी ‘सुकुटी माछा’ को भाउ पनि बढ्दै गएको छ। अर्का व्यवसायी कृष्णकुमारी केसीका अनुसार दुई वर्षअघिसम्म ५ हजार पर्ने माछा अहिले ७ हजारसम्म पुगेको छ। ४ वर्षअघि जम्मा ३ हजार मूल्य थियो।
_x000D__x000D_
गाउँमा भन्दा विदेशमा लानेले माछालाई महँगो मूल्य तिर्न पनि तयार हुन्छन्। छुट्टिमा नेपाल आएकाले विदेश फर्कँदा माछा कोसेली लिएर जाने चलन नै बसेको छ। माग र रोजाइअनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई भ्याइनभ्याइ छ।
_x000D_
_x000D_गलकोट नगरपालिका–७, ८ र ९ मा दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन्। माछा मार्ने व्यक्ति केहीले आफैँ सोझै उपभोक्तालाई बेच्ने गर्छन् भने कसैले कम मुनाफा राखेर अर्को व्यवसायीलाई बेच्ने गरेका छन्।
_x000D__x000D_
माछा मार्ने जलारी, स्थानीय सरोकार भएका पक्षको निर्णयबाट खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासनले पनि अनाधिकृत रुपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ।
_x000D__x000D_
दरमखोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मारेर नै धानिएको छ। असला माछाका परिकार उपलब्ध गराउने स्थानीय होटल–रेष्टुराँले पनि यथेष्ट आम्दानी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।