शिक्षक सरुवाकाे विवादमा गरिएकाे वडा कार्यालयको तालाबन्दी खुला

Nepal Live

फाइल तस्बिर


कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ को कार्यालयमा नगरस्तरीय दलित जनजाति संयुक्त संघर्ष समितिले एक साताअघि गरेको तालाबन्दी अाइतबार खोलिएको छ। 

नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐर, वडा अध्यक्ष, सुरक्षा नियकायका प्रतिनिधि र संघर्ष समितिका पदाधिकारीबीच दुई बुँदे सहमतिपश्चात् ताला खोलिएको हो।राष्ट्रिय माध्यमिक विद्यालयमा रिक्त दरबन्दीमा शिक्षक सरुवाका विषयमा विवाद हुँदा दलित संघर्ष समितिले वडा कार्यालयमा तालाबन्दी गरेको थियो।

'शिक्षक सरुवाका लागि नगरपालिकाको कार्यपालिका र नगरशिक्षा समितिले कार्य अगाडि बढाउने र सहजरुपमा सेवा उपलबध गराउनका लागि ताला खोल्ने निर्णय गरेको छ', वडा अध्यक्ष ज्ञानबहादुर विष्टले भने। 

'नपाका विषयगत कार्यालयमा संविधानमै व्यवस्था भएको समानुपातिक समावेशीताको कुरा लागू नभएपछि तालाबन्दी गरेका हौँ', संघर्ष समितिका सदस्य सिवी लुहारले भने। नगरपालिकाका नगर प्रमुखले समावेशीताको कुरा लागू गर्ने प्रतिबद्धता जनाएपछि तालाबन्दी खोलिएको उनले बताए। 

छलफलपश्चात् वडा कार्यालयमा लगाइएको ताला संघर्ष समितिका अध्यक्ष गोविन्द नेपाली आफैँले तोडेका छन्। वडा नं ४ मा रहेको दलित शिक्षकको सरुवाको विषयलाई लिएर गत असोज २८ गते संघर्ष समितिले दोस्रो पटक तालाबन्दी गरेको हो। त्यसअघि लगाइएको ताला जनप्रतिनिधिको रोहवरमा तोडिएको थियो। रासस
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार