बाँके– राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। पहिले पनि घरायसी प्रयोजनका लागि तरकारी खेती गर्दै आएका उनीहरुले दुई वर्षदेखि तरकारी खेती गरेर आर्थिकस्तरलाई उकास्ने प्रयास गरिरहेका छन्।
_x000D__x000D_
विभिन्न सङ्घसंस्थाले कृषि तथा तरकारी खेतीसम्बन्धी तालिम तथा योजना ल्याएसँगै उनीहरु जीविकोपार्जनतर्फ उन्मुख भएका हुन्। ‘पहिले घरमा खानलाई मात्र लगाउँथ्यौं, अहिले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छौँ’, स्थानीय सुकमानी थारुले भनिन्। स्थानीयवासी सुमित्रा चौधरीले आफूले उत्पादन गरेको तरकारी बिक्री नहुँदा समस्या भएको गुनासो गरिन्।
_x000D__x000D_
उनले भनिन्, ‘पहिलेको तुलनामा यहाँका महिला बढी मात्रामा तरकारी खेतीतर्फ उन्मुख भएका छन्, तर बिक्रीका लागि बजारको समस्या छ।’ भगवतीपुरका महिलाले अहिले व्यावसायिक रुपमा लौका, करेला, खुर्सानी, भिन्डी, गोलभेँडालगायत तरकारी उत्पादन गर्दै आएका छन्। उनीहरुले महिला समूह निर्माण गरी प्रतिमहिना २० रुपैयाँका दरले बचतसमेत गर्दै आएका छन्।
_x000D__x000D_
बचत गरिएको रकम तरकारी खेती गर्न चाहने महिलाका लागि सस्तो ब्याजमा ऋण लगानी भएको छ। तर, ऋण लिनका लागि समूहमा आबद्ध हुनुपर्छ। तरकारी खेती गर्न थालेपछि विगतको तुलनामा महिला आत्मनिर्भर बन्दै गएको सोही स्थान बस्ने मीना चौधरीले बताइन्। उनले भनिन्, ‘मासिक रुपमा बचत गर्दै आएका महिलाहरु तरकारी खेती गर्न थालेपछि घरखर्च चलाउने समस्याबाट मुक्तसमेत भएका छन्।’
_x000D__x000D_
भगवतीपुरमा उत्पादित तरकारी बिक्रीका लागि अगैया र बिनौनाका स्थानीय बजारमा लैजानुपर्छ। स्थानीय बजारमा २० देखि ३० रुपैयाँ प्रतिकिलोका दरले तरकारी बिक्री हुँदै आएको छ। स्थानीय छवि चौधरीका अनुसार एक डेढ घण्टा हिँडेर बजार पुर्याइएको तरकारी बिक्री नहुँदा कहिलेकाहीं फिर्ता ल्याउनुपर्ने हुन्छ। ‘हामीले उत्पादन गरेको तरकारी स्थानीय बजारमा भनेअनुसार बिक्री हुँदैन। कहिलेकाहीं तरकारीसमेत फिर्ता ल्याउनुपर्छ। त्यस्तो बेला दिनभर दुःख गरेर पनि रित्तो हात फर्किनुपर्ने बाध्यता हुन्छ’, उनले भने।
_x000D__x000D_
‘तरकारी खेती गर्न थालेपछि घरखर्च चलाउन निकै सहज भएको छ। पहिले छोराछोरीलाई कापी कलम किन्नै समस्या हुन्थ्यो, अहिले त्यस्तो समस्या छैन।’, अमृता चौधरीले भनिन्, ‘पहिले नून तेल किन्नका लागि पनि श्रीमानकै आश गर्नुपर्थ्यो, अहिले भने कसैलाई भन्नुपर्दैन।’
_x000D__x000D_
बजारको राम्रो सम्भावना भए यहाँका महिला आर्थिक रुपमा अझ बलियो हुने उनले दाबी गरिन्।
_x000D__x000D_
वार्षिक ८ लाख आम्दानी
_x000D__x000D_
‘बाजेले तरकारी खेती गर्दै आउनुभएको थियो, बुबाले पनि यही खेती नै गर्नुभयो’, ३० वर्षीय सिराज राईले भने, ‘बुबा र बाजेले गरेको त्यही पेसा मैले पनि गरिरहेको छु।’ दस वर्षदेखि तरकारी खेती गर्दै आएको उनको परिवार हाल आर्थिक रुपमा आत्मनिर्भर बनेको छ।
_x000D__x000D_
‘मैले तालिम पनि लिएको छैन। मेरा बाजेले सुरु गर्नुभएको खेती हामीले पनि सिक्दै गयौँ।’, उनले भने। उनले खुर्सानी, भन्टा, गोलभेँडा, बन्दा, काँक्रो, भाजीलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका छन्। तरकारीबाटै वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको भनाइ छ।
_x000D__x000D_
‘बारीको तरकारीले मेरो गरीबी हट्यो’, उनले भने, ‘तरकारीबाटै वार्षिक ८ लाखजति कमाइ हुन्छ।’ तरकारी खेती थालेपछि अहिले बिहानदेखि बेलुका अबेरसम्म बारीमै व्यस्त हुने गरेको उनी बताउँछन्। राई मात्रै होइन, उनका २८ वर्षीय भाइ आजादको दैनिकी पनि उसैगरी बित्ने गरेको छ। आजाद भन्छन्, ‘बाजेकै प्रेरणा पाएर तरकारी खेती गर्न सुरु गरेका हौँ, यसैबाट हाम्रो परिवार चलेको छ।’
_x000D__x000D_
तरकारी खेतीमा किटनाशक औषधिबाहेक मलका रुपमा रासायनिक मल प्रयोग नगरेरै उत्पादन गरिएको उनीहरु बताउँछन्। आजादले भने, ‘हामीले घोडाको मललाई एक वर्षसम्म कुहाएर प्रयोग गरिरहेका छौँ।’
_x000D__x000D_
अहिलेसम्म कहीँकतैबाट सहयोग नलिइएको सिराजले बताए। भने, ‘हामीले आफ्नै बलबुतामा खेती गरिरहेका छौँ। कृषि कार्यालयमा गयो भने सहयोग गर्छन् भन्ने सुने पनि आफ्नो पहुँच नभएकाले गएका छैनौँ। त्यहाँ गएर पाइने आश नभएकाले किन समय खेर फाल्ने भनेर हामी अहिलेसम्म सहयोग माग्न कतै गएका छैनौँ।’
_x000D__x000D_
उनीहरुले उत्पादन गरेको तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ। तरकारी मन्डीका थोक बिक्रेताले उत्पादन भएको तरकारी टिप्ने बेलामा ठेक्कामा लिने गरेका छन्। ‘तरकारी मन्डीहरुले थोकमा लैजान्छन्’, आजादले भने, ‘बिक्री गर्ने समयमा तरकारी किन्नेहरु आफैँ बारीमै पुग्नुहुन्छ, ठेक्कामा लैजानुहुन्छ।’
_x000D__x000D_
(काशीराम शर्मा/रासस)
_x000D__x000D_
(फाेटाे : निम्बस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।