गोपालबहादुर श्रेष्ठको दसैं अनुभूति : हाकिमले अबदेखि टीका लाउन नआउनू भन्दै फर्काए

Nepal Live

काठमाडौं– पाटनस्थित कृष्ण मन्दिरको डबलीमा लुखुरलुखुर हिँडिरहेका एक वृद्ध तीन जना साथीको बीचमै आएर बसे। हेर्दा ७० वर्ष जस्तो देखिने ती वृद्धको उमेर ९१ वर्ष पुगिसकेको रहेछ। झिसमिसे साँझमा सानैदेखि चिनेजानेका साथीहरुसँग जमघट गर्ने थलो नै रहेछ, कृष्ण मन्दिर प्रांगणको मन्डला। यो जमघटमा भेला भएका तीनैजना उनीभन्दा कान्छा, ६५ देखि ७९ वर्ष उमेरका थिए

गोपालबहादुर श्रेष्ठलाई देख्दा उनको उमेर जति अपत्यारिलो लाग्छ, कुराकानी गर्दा अपत्यारिलो मात्रा झनै बढ्छ। श्रेष्ठ एकादशीका दिनदेखि ९२औं वसन्तमा प्रवेश गरेका छन्। श्रेष्ठ देख्दा जति फुर्तिला देखिन्छन् कुराकानी गर्ने शैली पनि उत्तिकै मजाकिलो छ। 

भेटको सुरुवातमै श्रेष्ठ सोध्छन्, ‘पहिलो कुरा बूढो मान्छेको शुद्धिबुद्धि हुँदैन भन्ने थाहा छ तपाईंलाई?’ साथीहरु सबै हाँस्छन्। त्यसमा मेरो पनि हाँसो मिसिन्छ।

हाँसोकै बीच गोपालबहादुरका साथी भन्छन्, ‘चिसोचिसो लाग्यो दसैं आइसकेछ।’ गोपालबहादुर भन्छन्, ‘अहिले त दसैंको जस्तो मौसम फेरिन पनि एक हप्ता जति ढिला भयो।’ 

दसैंको प्रसंग आएसँगै गोपालबहादुर बाल्यकालको दसैंहुँदै वृद्ध अवस्थाको दसैं स्मृतिमा आउजाउ गरिरहे। दसैंको माहोल बाल्यकालमा बेग्लै हुने गरेको अनुभूति स्मरणमा ताजै रहेछ श्रेष्ठसँग। एक रुपैयाँमा एक गज कपडा आउने गरेको विगतलाई पनि श्रेष्ठ उसैगरी सम्झन्छन्। अभाव भनौं वा सामाजिक प्रभावरु नयाँ कपडा लगाउन पनि दसैं पर्खनुपरेको अविस्मरणीय क्षणले श्रेष्ठको मुहारमा अहिले बाल्यकालको चञ्चलता झल्कन्छ। नयाँ कपडा लगाउन र मासु खान पनि दसैं पर्खनुपरेको अनुभव श्रेष्ठसँग अहिले पनि ताजै छ। 

दसैं नजिकिँदै गर्दा श्रेष्ठले विगतको दसैं उस्तै ताजा गरी सम्झिए। ‘हामी सानो छदाँ नयाँ कपडा लगाउन, मासु खान दसैं कुर्नुपर्थ्यो।’ श्रेष्ठ सम्झन्छन्, ‘आजभोलि त हुनेहरुका लागि जहिले पनि दसैं जस्तो लाग्छ। मासु खान, नयाँ कपडा लगाउन दसैं पर्खनु पर्दैन। पैसा हुनेहरुले दिनहुँ मासु खान्छन्। आवश्यकता अनुसार नयाँ कपडा पनि किन्छन्।’

पैसा हुनेहरुका लागि कसरी सधैं दसैं आउँछ भन्ने विषयलाई सायद पुष्टि गर्न मन लागेरै हुनुपर्छ, ‘केही दिनअघि मात्रै एउटा दृश्य देखें। मेरो घर नजिकै एउटा रेडिमेड पसल छ। त्यहाँ दुई जना केटी आए। म त्यही पसल अगाडि घरधनी भेट्न गएको थिएँ। दुई जना केटीले जिन्सको पाइन्ट किनेर ल्याए,’ श्रेष्ठले भने, ‘त्यहीँ नजिकै सूचिकार छ। नयाँ पाइन्ट दुई ठाउँमा काट्न लगाए। काटेर लगेपछि एक सय रुपैयाँ दिएर गए। हामी १० र १२ रुपैयाँ दिन्थ्यौं। धेरै पछिसम्म पनि। म त वाल्ल परें। अहिले जहिले पनि दसैं।’  

श्रेष्ठले नयाँ कपडा किन्ने बजार घरकै आँगन अगाडि रहेको मंगलबजार नै थियो। तर, उनले नयाँ कपडा लगाउन दसैं नै पर्खनु पर्दथ्यो। ‘त्यतिबेला अहिलेको जस्तो रेडिमेड कपडा पनि कहाँ पाइन्थ्यो ??’ श्रेष्ठ भन्छन्, ‘एक रुपैयाँमा एक गज कपडा पाइन्थ्यो। त्यही सिलाएको कपडा लगाउँथ्यौं।’ ललितपुरकै स्थानीय भए पनि त्यतिबेला यस्तो विस्तारित बजार नभएको श्रेष्ठ बताउँछन्। 

मंगलबजारको पुरानो बजार अहिले लगनखेलतिर सरेको छ। पहिले कपडा पसल भएका घरहरुमा अहिले चिया पसल मात्रै छन्। ढलाचाँमा पुराना पसलमध्ये अहिले दुई वटा पसल मात्रै बाँकी रहेको श्रेष्ठले जनाए। तर, अहिले बाँकी रहेका पुराना पसलमा कपडा किन्न आउने ग्राहकको संख्या धेरै कम भइसकेको श्रेष्ठ बताउँछन्। 

कृष्ण मन्दिर नजिकैको कोटमा पहिले धेरै बलि चढाउने गरिन्थ्यो। अहिले बलि चढाउने प्रचलन निकै कम भइसकेको छ। केही दशकअघि हाकिमदेखि डिठ्ठासम्म सबैले कोटमा बलि चढाउने गरेको श्रेष्ठ बताउँछन्। 

भोटो देखाउँदा जस्तै अहिले जतिबेला पनि पाटन कृष्ण मन्दिर आसपासमा मानिसहरुको ओहोर दोहोर भइरहन्छ । कृष्ण मन्दिर आसपासमा साँझपख गयो भने जहिले पनि दसैं आएको जस्तो लागिरहन्छ श्रेष्ठलाई। 

दसैं नजिकिँदै गर्दा उडाउने चंगा अहिले पनि गोपालबहादुरको स्मरणमा उस्तैगरी उडिरहन्छ। ‘चंगा अत्यधिक थिए। मेरो साथी छ हेमन्तलाल भन्ने। आफ्नो नाम एचएल लेखेर ठूलाठूला चंगा उडाउँथे।’ श्रेष्ठ सम्झन्छन्, ‘आफैं  बनाएर होइन, किनेर उडाउँथे उतिबेला पनि। किन्न पाइन्थ्यो । अहिले पो चंगा उडाएको देखिंदैन।’

तर, बाल्यकालमा चंगा किन्ने पैसा नभएकै कारण श्रेष्ठ आफैंले चङ्गा बनाएर उडाउने गरेको बताउँछन्। ‘सानोमा पैसा नभएकाले आफैं टालटुल पारेर बनाउँथें अनि उडाउँथें।’ श्रेष्ठ भन्छन्, ‘हाई च्याट् भन्दै चंगा उडाउन प्रतिस्पर्धा नै हुन्थ्यो साथीहरुबीच। म सानो छँदाको तुलनामा अहिले ५ प्रतिशत पनि चंगा उडाउने गरेको देखिंदैन।’ प्रविधिको विकास र बढ्दो सहरीकरणले गर्दा पनि दसैंमा चंगा उडाउने चलन कम हुँदै गएको देखिन्छ। 

अहिले जस्तो ढलानसहित कौशी भएका घर नभएकै कारण कति बालबालिका चंगा उडाउँदा घरको छानाबाट खसेर मर्ने गरेको तितो यथार्थ पनि श्रेष्ठसँग छ। 

श्रेष्ठको मामाघर पनि मंगलबजारमै थियो। सबै परिवार टीका लगाउन मामाघर जाने गर्दथे। अरु समुदायमा दसैंको टीका लगाउन आफैं जाने चलन भए पनि नेवार समुदायमा भने दसैंको टीका लगाउन बोलाएपछि मात्र जाने चलन छ। 

श्रेष्ठसँग दसैंको टीकाका रमाइला किस्सा पनि छन्। पहिले आफ्नो हाकिमको घरमा टीका लगाउन जाने चलन थियो। श्रेष्ठका पनि एक जना हाकिम थिए, सरदार विष्णुध्वज। श्रेष्ठ विष्णुध्वजको घरमा दसैंको टीका लगाउन गएछन्। तर, उनै सरदारले, ‘अबदेखि मसँग टीका लगाउन नआउनु’ भन्दै फर्काएपछि टीका लगाउन फेरि श्रेष्ठ कहिल्यै त्यहाँ गएनन्। 

मौसमले पनि दसैं आएको संकेत गर्छ। सायद, सबैलाई यसको अनुभूति हुँदो हो, श्रेष्ठलाई जस्तै। दसैं नजिकिंदै गर्दा चल्ने चिसो हावा पनि वातावरणीय प्रभावका कारण प्रभावित भएको श्रेष्ठको अनुभव छ। 

नयाँ कपडा लगाउनु, मासु खानु र मान्यजनका हातबाट टीका थाप्नुको महत्व अहिले घटे पनि महँगी बढ्न कम नभएको श्रेष्ठको गुनासो छ। दसैं आउँदा मन्दिर र टोलटोलमा बाजा निकै बज्ने गर्दथ्यो। तर, अहिले मंगलबजारका गल्लीमा त्यति बाजाको आवाज सुनिंदैन। अहिले आएर प्रायजसो पहिलेको समय धेरै पछाडि छोडेर अगाडि आइएछ भन्ने अनुभूतिले श्रेष्ठलाई सताइरहन्छ। 

९१ वर्षको जीवन यात्रामा श्रेष्ठ केही दुःखी पनि देखिन्छन्। ‘पहिले मान्छे निकै कम हुन्थे। सिंगो गाउँ र टोलका मान्छे एक अर्कासँग परिचित हुन्थे।’ श्रेष्ठ सम्झिन्छन्,‘अहिले त यता आयो भने पनि दुईचार जना चिनेकासमेत भेटिंदैनन्।’ अहिले समाज व्यक्तिवादमा केन्द्रित भएको श्रेष्ठको ठहर छ। 

२००४ सालमा मुखिया पदमा गोरखापत्रमा जागिर सुरु गरेका श्रेष्ठले २०१४ मा गोरखापत्रबाट राजीनामा दिएका थिए। लगत्तै, कलेज एसोसिएसनमा आवद्ध भए। कलेज एसोसिएसन छुट्टिएपछि श्रेष्ठ जनक शिक्षा सामग्री केन्द्रमा ३५ वर्ष कार्यरत रहे।

‘नयाँ विचार, नयाँ काम, नयाँ व्यवहार गर्न जमरा राखिन्छ,’ श्रेष्ठले दसैंको शुभकामना दिँदै भने, ‘तर, विचार पुरानै बोक्ने गरिएको छ। सबैलाई यो दसैंले नयाँ, सकारात्मक विचार र व्यवहार प्रदान गरोस्। शुभकामना।’
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार