निर्मलाहरु कोपिलामै चुँडिए, महिषासुर बलिया भए

Nepal Live

काठमाडौं– आँगन वरिपरि निर्मला पन्तले फूल रोपेकी थिइन्। दसैं, तिहार आउनै लाग्दा उनले लगाएका फूल आगँनमा फुल्न पनि थालिसके। फूलले सुगन्ध छर्न थालिसके तर आफूले रोपेको फुलमा कोपिला पनि बस्न नपाउँदै चुडिइन् निर्मला आफै। दसैंतिहारका लागि भनेर रोपेका फूल फुलेको हेर्न पाइनन् उनले। 

मन्दिर जान मन पराउने निर्मलालाई मन्दिरभित्रको ुदैवु कति खोजिरहेको होला। तर पूजा गर्नुपर्ने देवतालाई मन्दिर भित्र कैद गर्छ हाम्रो समाज अनि, दानवलाई चाँहि खुला आकाशमा निस्फिक्री हिँड्ने बाटो दिन्छ। करिब तीन महिनाअघि तिनै दानवको क्रुर पञ्जाबाट उम्कन सकिनन् निर्मला। सधैंका लागि बिलाएर गइन्।
–०००– 

निर्मलाले रोपेको तुलसी हरियो भइसक्यो, मञ्जरीका कोपिला बसिसके। तर, निर्मलाकै जीवनचाँहि उडिसक्यो। लाऊँलाखाऊँला भन्ने उमेरमा दानवले निर्मलाको प्राण हर्यो। हत्या हुनुभन्दा केही दिनपहिले मात्र तुलसी रोपेकी निर्मलालाई यतिबेला तुलसीले पनि खोजी गर्छ।

तुलसीको बोट पनि झारसँग संघर्षरत गरिरहेको छ। आफूमाथि झारको आक्रमण हुँदा सारथि बन्ने माली छैनन् अब। बलात्कारपछि भएको हत्या भएकी निर्मलालाई सम्झेर आमा दुर्गाका आँखामा आँसु सुकेको छैन। १३ वर्षे छोरीका हत्यारा तीन महिनासम्म पनि पत्ता नलाग्दा सरकारको पनि विश्वास लाग्न छोडेको छ उनलाई। 

सरकारसँग गुहार माग्दामाग्दै थाकेकी दुर्गादेवीलाई भगवानभन्दा पनि अपराधी शक्तिशाली हुँदै गएको लाग्न थालेको छ। ‘छोरीको सम्झनाले मनमा पैदा भएको व्यक्त गर्न नसकिने पीडाले बरु त्यति सताउदैन होला, जति हत्याराको चैनले पिरोलेको छ।’

दसैंतिहार बालबालिकाका लागि अझ बढी विशेष हुने गर्छ। निर्मलाका लागि पनि दसैंतिहार विशेष हुन्थ्यो। मामाघर जानु, मन्दिर जानु, पिङ खेल्नु दसैंको रौनक हो। अब उनका हातहरुले कहिल्यै फूल रोप्ने छैनन्। अब उनको ज्यान दसैँको पिङमा मच्चिने छैन। 

घरको आर्थिक अवस्थाबारे समेत निर्मला राम्रैसँग परिचित थिइन्। स्कुलबाट भ्रमण लैजादाँसमेत निर्मला कहिल्यै घुम्न गइनन्। न त आमासँग नै कहिल्यै जिद्दी गरिन्। 

‘पैसा कमाएर पछि घुमौंला। अहिले पैसा छैन्। आफूले कमाएर घुम्ने हो’ भन्दै निर्मलाले सम्झाउने गरेको अहिल्यै हो जस्तो लाग्छ दुर्गादेवीलाई। घुम्ने इच्छा भएको ठाउँमा निर्मला नघुमेरै नफर्किने गरी गइसकेकी छन्। 

‘चाडबाड होस् या अरु कुनै दिन होस् उसले जिद्दी कहिल्यै गरिन। जे दियो त्यही खाई, जे भन्यो त्यहि लगाई,’ दुर्गादेवी भन्छिन्, ‘ऊ पनि त केही चाहन्थी होली, उसलाई पनि त केही कुरामा जिद्दी गर्ने मन हुँदो हो। निर्मलाले आफ्ना सबै चाहाना नभनेरै गई।’ 

‘त्यही छोरीले पाल्ली भन्ने आशा थियो। तर उसैको यादले जिन्दगी पोल्ने भयो। आँगनमा फूल देखे पनि निर्मलाकै यादले चिमोट्नेछ। प्रत्येक दसैँ तिहार, प्रत्येक प्रहर निर्मलाकै अभावले लखेट्नेछ। अपराधी भेटिएन भने जिन्दगीभर मनले आफैंलाई धिक्कार्ने छ। उनले भनिन्। 

साउन ११ गते निर्मलाको शव नजिकैको उखुबारीमा भेटियो। तर, अपराधी अझै फेला परेको छैन। तर न्याय पाउने परिवारको आस मरेको छैन। ‘उसले कहिल्यै रिसाउन जानिन। रिसाउन नजानेरै गई मेरी,’ दुर्गादेवीले भनिन्, ‘उमेरले १३ वर्षकी मात्र थिई। तर, उसको व्यवहार निकै जेठो थियो उमेरभन्दा।’

दुर्गाका अनुसार मिलनसार स्वभावकी निर्मलाका धेरै बानी राम्रा थिए। कहिल्यै कसैसँग झगडा गर्दिनथिन्। घरको सम्पूर्ण काम समेत गर्न भ्याउथिन्। दिदी–बहिनीलाई हरेक कुरामा सजिलो बनाइदिन्थिन्। आफैंमा समझदार थिइन्। 

आफूलाई अलि बिसञ्चो वा तनाव हुँदा पनि निर्मलाले थाहा पाउने गरेको दुर्गादेवी बताउँछिन्। आमालाई उल्टै सम्झाउने गर्थिन् निर्मला। 

‘छर–छिमेकीले भन्थे, तेरी माइली छोरीका गुण राजसी छन्। तँलाई किन छोरो चाहियोरु’ दुर्गादेवी सम्झिन्छिन्, ‘अब त हाम्रो शरीर नै टुक्राटुक्रा भइसक्यो।’

–०००–

रौतहटमा भएको एसिड आक्रमणबाट मृत्यु भएकी सम्झना दास पनि अब सम्झना मात्र बाँकी छिन्। जन्मेदेखि नै छोरीजस्तै गरी काखमा खेलाएका ठूलोबुबाले नै दसैंको मुखमा सम्झनाको प्राण लियो। हुर्किसकेकी छोरी दसैंको मुखमा परिवारमा सम्झना मात्र बाँकी राखेर गइन्। 

सम्झनाकी आमा धनमाया तामाङ ९दास० भन्छिन्, ‘छोराछोरीसँग २०७३ सालको दसैँसँगै मनाएकी थिएँ। पोहोरको दसैं खाडीमै बित्यो।’ यसपटक पनि नेपाल फर्कने सक्ने अवस्थामा थिइनन्, धनमाया। तर, विपत्ति आइपर्यो। बत्तिँदै नेपाल फर्किइन्। जुन सन्तानको भविष्य बनाउन उनी विदेशिएकी थिइन्, उनै सन्तानमाथि सानैदेखि छोरी जसरी काखमा खेलाएको दानवीय प्रवृत्ति भएका गाउँले ठूलोबुबाले एसिड खन्याइदिए। एसिडकै कारण सम्झनाले संसार छाडेर गइन्, बहिनी सुस्मिता पनि घाइते भइन्। 

एक घन्टासम्म कुरा गर्दा धनमायाका आँखा रसाइरहे। सम्झनाकी कान्छी आमा सुत्केरी भएपछि बुबाले सम्झनालाई घरमै बोलाए। त्यसपछि उनी उतै बस्न थालिन्। तर, काठमाडौंबाट घर जानु सम्झनाका लागि काल बन्यो। धनमायाका एक छोरा र दुई छोरी थिए। विदेश गएकी धनमायाले छोरीसँग कुरा नगरेको चार–पाँच महिना भइसकेको थियो। सम्झनासँग मोबाइल नभएकाले कुराकानी हुन सकेको थिएन। 

पोहोरको दसैंताका सम्झना काठमाडौंमा थिइन्। सम्झनाले आमासँग कुरा गर्दा काठमाडौंमै बस्ने र यतै केही काम गर्ने बताएकी थिइन्। अघिल्लो दसैंमा सम्झना पर्सास्थित मामाघर गएकी थिइन्। 

‘दसैं आउँदा दिदीबहिनी खुबै खुसी हुन्थे। घरमा टीका लगाउने, जमरा राख्ने चलन नभए पनि नजिकैको मन्दिर जान्थे दिदीबहिनी,’ धनमाया भन्छिन्, ‘गाउँलेहरु मिलेर बनाएको दुर्गाको मन्दिरमा ठूली छोरी खुब रमाउँथी।’ 

दसैं आउँदा दुई दिदीबहिनी मिलेर आँगन पोत्ने गरेको धनमायासँग अझै पनि ताजै छ। तर, त्यो आँगनले एउटा मान्छे गुमाएको छ। अरु रमाएको देख्दा समेत सम्झना रमाएको यादले सताउँछ धनमायालाई। ९ दिनसम्म लाग्ने दसैं मेला टीकाको दिन भव्य हुने गर्छ। धनमायाका लागि यो दसैँ जिन्दगीभरको तितो दसैँ भएको छ। 

आमालाई देख्नेबित्तिकै अस्पतालको बेडबाट सम्झनाले सोधेकी थिइन्– ‘अब मलाई अस्पतालबाट कहिले निकाल्ने मम्मी?’ छोरीको ज्यान जोगिनेरनजोगिने थाहा थिएन। धनमायाले आफैंलाई सम्हाल्न खोज्दाखोज्दै आँसु रोक्न सकिनन्। तैपनि, छोरीलाई सान्त्वना दिईन्, छिट्टै निकाल्ने। पहिले पूरा ठिक होऊ।’

त्यसपछि सम्झनाले आमालाई अलग्गै आग्रह गरिन्, ‘ठिक भएपछि म पनि विदेश जान्छु।’ 

‘म आइसकेँ अब ठिक भइहाल्छ। अनि विदेश जाने। चिन्ता नगर,’ उनले छोरीलाई सम्झाइन्।

सम्झनालाई एसिड प्रहार गर्ने अपराधी पत्ता लागेको छ। रामबाबु पासवान, उनैको छिमेकी। सानैदेखि काखमा राख्दै खेलाएको ५५ वर्षीय मानिसले सम्झनालाई दानव नजर लगाएछ। गाउँले नातामा सम्झनाले पासवानलाई ठूलोबुबा भनेर सम्बोधन गर्थिन्। आखिर त्यही नाताको सामीप्यता नै पासो बन्यो सम्झनाका लागि। पासवानले सम्झनालाई बिहेको प्रस्ताव पनि राखेका रहेछन्। तर सम्झनाले नमानेपछि पासवानले एसिड आक्रमण गरेका हुन्। 

‘हत्यारा पत्ता लाग्यो। अब, हत्यारालाई कि जन्मकैद होस्। कि फाँसी होस्। अनि पो अरु अपराधी पनि डराउँछन् त। मेरी छोरीका जस्तो नियति अरुले भोग्नु नपरोस्।’ 

–०००–
निर्मला र धनमायाको घरमा यो पटक दियो बल्दैन। दसैंको मालश्री धुन गुन्जिने छैन। बरु चारैतिरको दसैंको माहोलले पोलिरहने छ। प्रत्येक अब जिन्दगीभरका प्रत्येक चाडपर्वमा छोरीको अभाव खड्किरहनेछ।

दसैं हिन्दुका लागि विशेष चाड हो। देवादिदेव महादेवले पनि वध गर्न नसकेको महिषासुरको वध नवदुर्गा देवीले गरिन्। दानवीय प्रवृत्तिमाथि दैविक शक्तिको जीत भएको उपलक्ष्यमा दसैं मनाउन थालिएको हो। सत्यको विजय उत्सव दसैंका बेला पनि भवानीरुपी बालिका र महिलाहरु महिषासुरजस्ता दानवको पन्जामा परेर मरिरहेका छन्। देवीभन्दा महिषासुर किन बलिया भएरु

बलात्कार, एसिड आक्रमण, हत्या लगायतका कारण समाजमा हिंसा फैलिरहेको छ। दानवीय प्रवृत्तिको वध गर्ने बेला फेरि आएको छ। आम मानिसमा भएको महिषासुरीय प्रवृत्ति दमन गर्ने शक्ति नवदुर्गाले प्रदान गरुन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार