अष्टमीको बोको र उत्तराधुनिक मान्छे

कविता

 वाक्सेली थापा

Nepal Live


छ्याप्प !

महाअष्टमीको एकाबिहानै

उदार भएर खुकुरीको धारसँगै

सम्झौता गर्छ बोकाको गर्दन

र, छाद्छ आँगनभरि रक्ताम्य

जीवनको भारी तिक्तता

मानौं निमेषबाहेक छैन उसलाई

कुनै अस्वीकृति वा प्रतिशोध।

 

निम्तो दिइरहेछ सहर्ष

दाम्चा वरिपरि छरपस्ट रगत

खित्का छोड्दै अनियन्त्रित

नजिकै र्‍याल काडिरहेको

पाँङ्ग्रे कुकुरको जिब्रोलाई
आफूँलाई चाट्न खै कुन खुसीमा?

यस्तो लागिरहेछ मानौं कि

बल्ल रगत आफैंमा ‘रगत’ भएको छ

र, गरिरहनु पर्ने छैन मोनोटोनस दौड

कसैको साँघुरो नसाभित्र

कैदीको मर्निङवाकजस्तो।

 

बाफिलो अट्टाहास गरिरहेछ

अत्याधुनिक एउटा खुसीमा

लडिरहेको बोकाको चिसो शरीर

र, अनुभव गरिरहेछ

जीवनको घृणित दु:खहरू आजै

खौरिएका छन् भुत्लासँगै

रगतसँगै गएकाछन् बगेर

उडेका छन् प्राणसँगै

र, धन्यावाद दिइरहेको छ

खुकुरीको धारलाई।

 

सम्पूर्ण विभक्त अङ्गहरू

मुक्तिको लामो उडान भरिहेछन् -

मुखले खानु नपर्ने कसैको जुठो

कानले गाली सुन्नु नपर्ने बारम्बार

आँखाहरूले हेर्नु नपर्ने

आफ्नै सन्ततिको बिनास

सिङ्ले जुध्नु नपर्ने अब

अरू सिङ्हरूसँग मच्चिई-मच्चिई

भुत्लाहरूले छेक्नु नपर्ने शिशिरको जाडो

पुच्छरले धपाउनु नपर्ने झिँगा

खुट्टाहरुले हिड्नु नपर्ने अक्करे भीर

आदि आदि......।

 

चरम उत्सवमय छन् आज

बोकाका सबै अङ्गहरू

मानौं कि -

कुनै निल आर्मष्ट्रङ्गले टेकेको छ

पहिलो पटक चन्द्रमा

र, खेलिरहेका छन् मैत्रीपूर्ण खेल

मान्छेका दाँतसँग माङ्सपेशीहरू

कुकुरका बङ्गरासँग हड्डीहरू

र, माटोसँग सिङ, खुर र भुत्लाहरू

झण्डै झण्डै पुनर्जन्म पाएझैं

हर्षोल्लासमा छन्

पूराका पूरा स्वतन्त्र अङ्गहरू

जस्तो कि -

ठीक यतिबेला

हत्केलामा मृत्युको नहर खन्दै

खुसीका रेखाहरू मेटिरहेको

एउटा उत्तराधुनिक मान्छे

हरदिन टुक्रिरहेछ केस्राकेस्रामा।

००

प्राप्त प्रतिकृयाहरू

आदित्य दाहाल
बाफ्रे क्या दमदार कविता । कविताको भेलमा नाराहरु बगिरहेको यो मौषममा एउटा पृथक र सशक्त कविताको स्वाद लिन पाइयो । अझै यस्तै कविताहरू पढ्न पाऊँ ।

प्रेम तामाङ।
मेरो तर्फबाट यो दसै भन्ने पर्व, नआए हुन्थ्यो। जस्तो लाग्छ। किनकी यो। पर्व सच्चीकै।हत्या हिङ्सा गराउने। राजपर्व हो।यसले मानिसलाइ हानी गराएको राकालमा नै मोर्नु पर्ने बध्यता निम्त्याएको। छ। यो सरासर गलत प्रथा हो। यो पर्वमा साग सब्जीको भेराटीहरु र दूध दही मोही घिउहरु खाने र रमाउने पर्व हुनुपर्ने थियो। यो हत्यहिङ्सा निम्त्याउने पर्वको रुपमा चलिआएको छ। यो पर्व हट्नुपर्छ। नहटेपनी हत्याहिङ्सा रहित हुनुपर्यो दसै। साच्चीकै दसै जस्तो होस। जति मर्ने खसी बोका भैंसी रागा कुखुरा सबैले रमाएर दसै मान्म पाओस दसै हत्यहिङ्सारहित होस।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार