युद्धकालको दसैंमा बिदा वा आराम हुँदैनथ्यो : ओनसरी घर्ती

नेपाल लाइभ

Nepal Live

दसैं भन्ने बित्तिकै मलाई मलाई सानाका कुरा सम्झना आउँछ। धेरैलाई जस्तै नयाँ लुगा लगाउने, मीठो खाने, साथीभाइसँग रमाइलो गर्ने जस्ता कुरा नै सम्झनामा आउँछन्।

म मगर समुदायको भएकाले मीठो खाने भन्ने कुरामा मासु खाने नै पर्थ्यो। किसान परिवारसँग अरु के नै हुन्थ्यो र? दसैंमा एकजोर नयाँ लुगा कसैगरी लगाइन्थ्यो।त्यसैले दसैं आउने बित्तिकै अब नयाँ लुगा फेर्न पाइन्छ भन्ने हुन्थ्यो। तर, त्यतिबेला हाम्रो जस्तो किसान परिवारसँग नगद हुँदैनथ्यो। आफ्नै बारीमा उब्जिने भन्दा बाहेक अन्य कुरा किन्ने र खाने कुरा भन्ने हुँदैनथ्यो। त्यो चलन पनि थिएन, पाइँदैनथ्यो पनि। 

तैपनि बच्चा बेलामा अन्य साथीहरुको भन्दा राम्रो लगाउने भन्ने त भइ नै हाल्थ्यो। घरमा पनि चाहियो भनेर दबाब दिन्थ्यौं।

हाम्रोमा टीका लगाउने चलन नभएको हुनाले हामीलाई चाहिँ दसैं भन्ने बित्तिकै खाने र लाउने कुरा नै बढी प्राथमिकतामा पर्थ्यो। त्यसैले अहिले पनि दसैं भन्ने बित्तिकै खाने र लाउने कुराकै बढी याद आउँछ।

अहिले त दसैंमा पनि विभिन्न कार्यक्रमहरु हुन्छन्। तैपनि, दसैंमा भने केहि दिन नियमित कामहरु नहुने भएकाले पनि आफ्ना व्यक्तिगत र पारिवारिक जीवनलाई अलि बढी ख्याल गरिन्छ। तैपनि जनताकै निम्ति राजनीति गरेकाले कतै न कतै जनता जोडिहाल्छन्।

युद्धकालमा हामीसँग बिदा वा आराम भन्ने हुँदैनथ्यो। योजना बनाएर एक दिन हामी जनताको काममा लाग्नुपर्थ्यो। दसैं तिहारमा जनताले पनि आफ्नो क्षमता अनुसार रमाइलो गर्ने भएकाले उहाँहरुकै बीचमा हामी पनि हुन्थ्यौं। तर यी सबैको बीचमा हामी हाम्रो संगठन कसरी बन्छ, कसरी दुस्मनलाई परास्त गर्न सकिन्छ भनेरै योजना बनाइरहेका हुन्थ्यौं। कहिलेकाहीँ जम्मा भएर अन्तर्क्रिया गर्थ्यौं। एक्लाएक्लै भएका बेला किताबहरु पढ्ने लेख्ने गर्थ्यौं। युद्धकालको दसैं यसैगरी बित्थ्यो।

अहिले भने दसैंको बेलामा पनि पढ्ने त्यति फुर्सद हुँदैन। विभिन्न कार्यक्रममा जानुपर्ने भएकाले समय निकाल्न कठिन हुन्छ।

(कुराकानीमा आधारित)

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने