विश्वकप फुटबल प्रतियोगिताको सुरुवातका पाँच वटै संस्करणमा भाग लिएको ब्राजिलका लागि नतिजा सहज हुन सकिरहेको थिएन। फुटबल भनेपछि हुरुक्कै हुने ब्राजिलले सन् १९५० को चौथौं विश्वकको आयोजना गर्यो। उसले प्रतियोगितालाई भव्य बनाउन २ लाख अट्ने रंगशालासमेत निर्माण गर्यो। त्यहीबेला ब्राजिल उपाधि जित्न चाहन्थ्यो। तर निर्णायक खेलमा उरुग्वेसँग पराजित भएपछि ब्राजिलको उपाधि जित्ने सपना पूरा हुन सकेन। सन् १९५४ मा स्विट्जरल्यान्डमा आयोजना भएको पाँचौ संस्करणमा त ब्राजिल क्वार्टरफाइनलबाटै आउट हुनुपर्यो।
_x000D__x000D_
सन् १९५७ जुल ७ मा अर्जेन्टिना विरुद्धको खेलमा पेले उपनाम गरेका खेलाडीले १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरे। डेब्यु खेलमै गोल गरेपछि पेलेले ब्राजिलियन फुटबलमा आशाको सञ्चार गराइदिए। डेब्यु खेलमै गोल गरेपछि पेलेले मात्र होइन ब्राजिलले पनि पछाडि फर्केर हेर्नुपरेन। ब्राजिललाई विश्व च्याम्पियन बनाउँदै तहल्का मच्चाएका पेले पछि शताब्दीका महान् फुटबलरको रुपमा पुकारिए।
_x000D__x000D_
—O—
_x000D__x000D_
पेलेको वास्तविक नाम एड्सन अरान्ते दो नासिमेन्तो हो। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४० मा भएको थियो। गरिब परिवारमा जन्मिएका पेलेको बाल्यकाल अभावै अभावमा बित्यो। उनी बाल्यकालमा नांगो खुट्टाले झुम्राको बल खेल्थे। सडकबाटै उनले फुटबलको कला सिकेका थिए। १६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बने।
_x000D__x000D_
सन् १९५८ को विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेलेबाटै चिनिए ।
_x000D__x000D_
_x000D__x000D_
ब्राजिलियन (पोर्चुगिज) भाषामा नांगो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ । उनको बचपन त्यसैगरी खेलेर बितेको थियो । तर, त्यसपछि भने पेलेको सम्बोधनमा कुनै नाम मात्र रहेन, आदर, माया र स्नेहसमेत गाँसिएर आयो। यो नाममा ती महान् खेलाडीको दुःख, कष्ट र दरिद्रताको कथा भरिएको छ । अनि छ, उनको संकल्प र निरन्तर साधनाको प्रेरणादायी प्रसंग।
_x000D__x000D_
फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन्। ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ। विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन।
_x000D__x000D_
सन् १९५८ को विश्वकपमा पेलेलाई खेलाइएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो। यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले ६ गोल गरे। उनले फ्रान्स विरुद्धको सेमिमफाइनलमा ह्याट्रिक गरेपछि ब्राजिल ५–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा पनि पेलले उत्कृष्ट खेल पस्के। स्विडेनविरुद्ध फाइनलमा पेलेले २ गोल गरेका थिए। उक्त खेलमा ब्राजिल ५–२ ले विजयी हुँदै पहिलो पटक विश्व च्याम्पियन बन्न सफल भयो। यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए।
_x000D__x000D_
सन् १९६२ मा चिलीमा आयोजना भएको सातौं संस्करणको विश्वकपमा पनि पेलेको फर्म उस्तै थियो। उनले समूह चरणमा मेक्सिकोविरुद्ध पहिलो खेलमा गोल गरे। अन्य खेलमा भने गोल गर्न सकेनन्। तर पनि उनको टिममा प्रभाव उस्तै थियो। फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो। १९६२ पछि कुनै पनि देशले लगातार दोस्रो पटक उपाधि जित्न सकेका छैनन्।
_x000D__x000D_
सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपमा भने पेले र ब्राजिलियन टिमको प्रदर्शन राम्रो हुन सकेन। ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो। यद्यपि पेले बुल्गेरियाविरुद्ध भने गोल गर्न सफल भए।
_x000D__x000D_
सन् १९६६ मा बिर्सनलायक प्रदर्शन गरेको ब्राजिल सन् १९७० को विश्वकपलाई यादगार बनाउन चाहन्थ्यो। भयो पनि त्यस्तै। मेक्सिकोमा आयोजना भएको विश्वकपको पहिलो खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई ४–१ गोलले हराउँदै शानदार सुरुवात गर्यो। पेलेले उक्त खेलमा गोल गर्न सफल भए। समूह विजेता बनेको ब्राजिलले क्वार्टरफाइनलमा पेरुलाई तथा सेमिफाइनलमा उरुग्वेलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। फाइनलमा इटालीलाई ४–१ गोलले हराउँदै ब्राजिल तेस्रो पटक उपाधि जित्न सफल भयो। फाइनलमा पेलेले सुरुवाती गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए। सो विश्वकपमा पेलेले ४ गोल गरे।
_x000D__x000D_
_x000D__x000D_
सन् १९५८, १९६२ र १९७० तीन पटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए। विश्पकपमा खेलेका १४ खेलमा पेलेको खुट्टाबाट १२ गोल निस्किएको थियो।
_x000D__x000D_
आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे। एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले। उनले ब्राजिलको जर्सी लगाएर खेलेका ९१ खेलमा ७७ गोल विपक्षी राष्ट्रको गोलपोस्टमा छिराएका छन्।
_x000D__x000D_
पेलेको संन्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्यो, सन् १९९४ को विश्वकपसम्म ।
_x000D__x000D_
पेलेका रोचक प्रसंग
_x000D__x000D_
सन् १९७० को विश्वकप फुटबलमा इंग्ल्यान्ड विरुद्धको खेलमा पेलेको एउटा प्रहार यति शक्तिशाली थियो कि त्यसलाई रोक्ने प्रयास गर्दा इंग्ल्यान्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात ९ ठाउँमा भाँचिएको थियो ।
_x000D__x000D_
पेले सन् १९६३ मा पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दै थिए। जर्मन खेलाडी शुल्जले उनलाई 'कभर' गररिहेका थिए। प्रतिद्वन्द्वीले आँखा झिम्क्याउन नपाई निमेषभरमै गोल गर्न खप्पिस पेलेलाई उनले कति पो कभर गररिाख्न सक्थे र? शुल्जले थोरै मात्र असावधानी के देखाएका थिए, पेलेले २० गज टाढाबाट हानेको प्रहार सोझै गोलपोस्टभित्र छिर्यो। 'बल पेलेको खुट्टाबाट कतिबेला बाहिर निस्क्यो भन्ने नै मैले देखिनँ,' जर्मन गोलकिपर फहराइनले उक्त गोलप्रति टिप्पणी गर्दै भनेका थिए।
_x000D__x000D_
यस्तै एकपटक सन् १९६१ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको खेलमा पेलेले ९ जना प्रतिद्वन्द्वीलाई छलाउँदै विपक्षी क्लबविरुद्ध चामत्कारिक गोल गरेका थिए।
_x000D__x000D_
पेलेको आत्मकथा 'माई लाइफ एन्ड द ब्युटिफुल गेम' सँग पनि अनौठो प्रसंग जोडिएको छ। त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भिड जम्मा भइसकेको थियो। उनलाई हेर्न झुम्मिएका सबै जना पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थे । ती प्रशंसकहरूले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे। लुगा नपाउनेले उनको कारको पाटपुर्जासमेत बाँकी राखेनन्। र, त्यस दिन पेले 'लगभग नांगै' हिँडेर घर पुगेका थिए।
_x000D__x000D_
सन् १९६१ मा ब्राजिलियन क्लब सान्तोसबाट मैत्रीपूर्ण खेल खेल्ने क्रममा पेले पेरूमा थिए। त्यहाँ पनि उनले असाधारण प्रदर्शन गर्दै मध्यान्तरअघि नै ४ गोल गरिसकेका थिए। 'आजलाई पुग्यो' भन्ने सोचेर उनी मध्यान्तरपछि मैदानमा प्रवेश गरेनन्। उनको स्थानमा अर्का खेलाडी गए। तर, दर्शकहले खेल नै सञ्चालन हुन दिएनन्, मैदानमै प्रवेश गरी विरोध गर्न थाले। अन्ततः रेफ्रीले बाध्य भएर सान्तोस क्लबसँग दर्शकहरूको उत्तेजना र विरोध शान्त पार्न र खेल अघि बढाउन पेलेलाई पुनः खेल्न मैदानमा पठाउन अनुरोध गर्नुपर्यो। मध्यान्तरपछिको खेल त्यतिबेलासम्म रोकिई नै रह्यो, जतिबेलासम्म नुहाउन गएका पेले बाहिर आई फुटबल पोसाकमा पूर्ण तयार भएर मैदानमा प्रवेश गरेनन्।
_x000D__x000D_
पेलेको यति लोकप्रिय थिए कि उनलाई भेट्दा बेलायतकी महारानी एलिजाबेथले आफ्नो मर्यादाक्रम नै भुलेकी थिइन। इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा ३ घन्टाभन्दा बढी समय प्रतीक्षा गरेका थिए।
_x000D__x000D_
_x000D__x000D_
राष्ट्रिय टिमबाट संन्यास लिएपछि पेले अमेरिकाको कसमस क्लबबाट खेल्न जाने क्रममा भारतको कोलकाता पुग्दा त्यहाँ ठूलै भिड जम्मा भएको थियो। उनलाई हेर्न र भेट्न मात्र पनि हजारौँ प्रशंसकले आधा रातभन्दा धेरै समय बिताएका थिए। त्यसका लागि प्रशंसकहरू कोलकाताको विमानस्थल र बाटोको दुवैतिर लामबद्ध भई घन्टौँ उभिएका थिए।
_x000D__x000D_
सर्वत्र स्वीकार गरिएका सुपरस्टार
_x000D__x000D_
फुटबलमा हात पात पारेको उपलब्धि र योगदानका कारण पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले पनि आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदूत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई शताब्दी-खेलाडी उपाधि दिएको छ।
_x000D__x000D_
गरिबहरूको सामाजिक अवस्था सुधार्ने नीतिप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरिब बालबालिकाका निम्ति समर्पित गरे।
_x000D__x000D_
'मानिसहरू भन्छन्, पेलेको कुनै धर्म, कुनै राष्ट्रियता वा कुनै वर्ण छैन,' पेलेले एकपटक आफ्नै बारेमा भनेका थिए, 'मलाई सर्वत्र स्वीकार गरिएको छ।'
_x000D__x000D_
दुनियाँका आँखामा उनी अहिले पनि फुटबल जादुगर हुन्, फुटबलका 'श्रीपेच बिनाका सम्राट' हुन् । विश्व फुटबलका हरेक ठूला आयोजनामा उनको उपस्थिति स्मरणीय र सम्मानित हुन्छ। अघोषित रूपमै उनी विश्व फुटबलका सर्वस्विकार्य आदर्श हुन्। त्यसैले उनलाई फुटबलको किंवदन्ती मानिन्छ र भनिन्छह– पेले, महान् पेले।
_x000D__x000D_
उनले एक दर्जनजति फिल्ममा समेत अभिनय गरेका छन्। ७७ वर्षीय पेले गएको वर्ष मिर्गौला र प्रोस्टेटमा आएको समस्याका कारण अस्पताल भर्ना भएका थिए। अहिले भने उनी स्वस्थ छन्।
_x000D__x000D_
_x000D__x000D_
पेलेसँग अचेल अर्बौं सम्पत्ति छ। अनेक राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीका उनी लगानीकर्ता वा साझेदार छन्। र, अनेक कम्पनीका 'ब्रान्ड एम्बेसडर' पनि। उनले आफ्नो देश ब्राजिलमा लाखौँको संख्यामा रहेका सडक बालबालिकाका लागि आत्मनिर्भरता उन्मुख कल्याणकारी कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्।(विभिन्न एजेन्सीहरुको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।