कविता : सफेद कागज र जिन्दगी

 विनय सरगम

Nepal Live

यतिबेला ठिक मेरोअघि
राखिएको छ एउटा सफेद कागज
जहाँ लेखिएको छ जिन्दगी

पहिले त मलाई लाग्यो
यो पत्र कुनै प्रेमीको होला
जहाँबाट उसको अस्तित्वमा 
प्रेमिकाको नाम मात्रै रह्यो

फेरि लाग्यो कुनै आमाको होला
जसको छोरा हरायो युद्धमा
लाग्यो कुनै नारीको होला
जसको सिउँदो पुछियो विदेशमा
जसको अस्मिता लुटियो यो देशमा
र बाँकिरहन गयो यती शब्द

फेरि मैले आफैँलाई देख्न थालेँ
आमा रोइरहेको बाउ बिदेशिएको
एकजोर मात्र लुगा बहिनीको
र म बेरोजगारीमा पिल्सिएको

फेरि मैले साथीहरूलाई देख्न थालें
पल्लाघरे वल्लाघरेलाई देख्न थालें

मैले सबैसबैलाई देखें
मायाले हेरेँ– छामे आत्मीयताले
र पाएँ ऋतुहरू जस्तै जिन्दगी

लाग्यो केहि बाटोहरू–
वर्षाले मेटिदिनसक्छ
बगाइदिन सक्छ भेलले
ढाकिदिनसक्छ तुसारोले

हिँड्दाहिँड्दै
काँडाले जिस्काइदिन सक्छ पैताला
सिरेटोले जिस्काइदिन सक्छ यो आङ
जिन्दगी सधैं वसन्त नहुने रै‘छ
झर्न सक्छ रहरका सबैसबै पातहरू
काटिन सक्छ सपनाका सबैसबै जराहरू
तर पनि
बोलाइरह्यौँ उसलाई कोमलताले सुसेलेर 

हर साँझ झर्नसक्छ
आकाशबाट ताराहरू
तर हर बिहान उदाउनेछ
एउटा मृदुल किरण
त्यतिबेलै रंग्याइदिनू मुस्कान
जिन्दगीको सम्पूर्णता घोप्टाएर अनुहारभरि

जिन्दगीको हरेक मोडमा
भेटिनेछ एउटा ईश्वरीय बाटो
भेटिनेछ समयको लयात्मक झंकार
र केहि कविताको अंश

मैले कागजको पछिल्लोतिर हेरेँ....

००

प्राप्त प्रतिकृयाहरू

जनक
Sundar kavita....

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार