किनमेल गर्दा बजारबाट ल्याइएको प्लास्टिक व्याग काटेर बर्गाकार टुक्रा बनाउँथ्यौं। थरीथरी रङ्का। भिन्नभिन्न आकारका। अनि बाँस वा निगालोका दुईवटा सिन्का बनाउँथ्यौं।
_x000D__x000D_
एउटा सिन्कालाई त्यो चारकुने टुक्राको विकर्ण बनाएर दुई विपरीत कुनामा धागोले बाँध्थ्यौं। अर्को सिन्काचाहिँ बाँकी दुई कुनामा बाँधेर यस्तरी खुम्च्याउँथ्यौं कि ‘सी’ आकार बनेर अर्को सिन्काको एकापट्टिको कुनाको नजिकनजिक पर्नेगरी बाँध्थ्यौं। त्यसरी दुईवटा सिन्का भेटिएको विन्दुमा र त्यसभन्दा अलिक तल छट्टाछुट्टै बाँधेर दुवै धागोलाई तनक्क तन्काउँदै ‘भी’ आकारमा फेरि बाँधेर लट्टाइको धागोसँग गाँस्थ्यौं। अनि तयार हुन्थ्यो चङ्गा।
_x000D__x000D_
त्यसो त लट्टाइ पनि हामी आफैं बनाउँथ्यौं। पुरानो चप्पल काटेर। बाँसका कप्टेरा हालेर।
_x000D__x000D_
हामीले त्यसरी बनाएको चङ्गा यदि उडेन भने वा राम्ररी नउडी घुम्न थाल्यो भने घुमेको विपरीत दिशापट्टि एक टुक्रा अर्को प्लास्टिकको फुर्का गाँसेर त्यसलाई नियन्त्रण गर्न हामी जान्दथ्यौं। अनि आकाशमा यसरी उड्थ्यो कि चङ्गा मानौं हामी नै सँगसँगै उडिरहेझैं आनन्द लाग्थ्यो। कहिले धागो नै पुग्दैनथ्यो। कहिले भने रुखमा अल्झेर फसाद पर्थ्याे। कहिले अरुको घरमा पुगेर अड्किन्थ्यो। कहिले भने अरु ठाउँबाट हाम्रो घरको आँगनमा आएर चङ्गाले अवतरण गर्थ्याे। पाहुना चङ्गा देखेर दंग पर्थ्याैं।
_x000D__x000D_
चङ्गा बनाइ माग्न गाउँका कनिष्ठ र अग्रज पनि हामीकहाँ आउँथे। म र मेरा माइला दाजु यस कार्यमा पोख्त थियौं। पैसा लिएरै चङ्गा बनाइदेको सम्झना यो मानसपटलमा ताजै छ। कुनैदिन हामी केटाकेटीको चङ्गा च्यातिदिएर पुरुषार्थ देखाउने अग्रज खलनायकले पनि यो लेख पढ्नुभयो भने पक्कै सम्झनुहुन्छ होला।
_x000D__x000D_
आजभोलि भने बजारमा चङ्गा पसलहरु छन्। थरीथरीका रेडिमेडट चङ्गाले आकाश ताकिरहेको देख्न पाइन्छ। तर, पहिलेपहिले जस्तो चङ्गा प्रेम देखिन्न । बरु चङ्गा उत्सव गरेर यसलाई जोगाउने प्रयत्न हुनेगरेको पाइन्छ।
_x000D__x000D_
अहिलेका बालबालिकाहरु आफैं चङ्गा बनाउन किन पाउँदैनन्? यो कुराले मलाई सुन्दर र सिर्जनात्मक विगत सम्झाउँछ। दसैंको प्रसंगमा चङ्गाको कुरा आएको हो। दसैं भन्नासाथ चङ्गामय मौसम सम्झिन्छु। स्कुल छुट्टी हुने र दिनभर जसो चङ्गा उडाएर उड्न पाउँदाको मज्जा बटुल्ने समय नै दसैं हुन्थ्यो।
_x000D__x000D_
चङ्गा चेट् गराउने, कसको चङ्गा कति टाढा पुग्यो भनेर अनुमान गरेर नाप्ने, साटीसाटी चङ्गा उडाउने, चङ्गा खस्लाखस्ला हुँदा वा हावा राम्ररी नचल्दा मुटुको गति बढ्ने जस्ता कुरा सम्झिंदा कल्पना हो कि जस्तो पनि लाग्छ।
_x000D__x000D_
दसैंको अर्को सौन्दर्य हो लिङ्गे पिङ। गाउँघरमै पाइने बाँसको लिङ्गो चारतिर गाडेर पिङ खेल्न मिल्ने बनाइन्छ । टोलटोलमै बनाइन्थे लिङ्गे पिङ। सबैजना मिली पैसा जुटाएर पिङ्को डोरी किनेको कुरा सुन्न पाउँथें म। घरछेउको लिङ्गे पिङ्मा चचहुई गर्थे गाउँका मानिसका लय। म पनि उनीहरुको लय समातेर डराइडराइ मच्चिन्थें।
_x000D__x000D_
घामले पूर्वी क्षितिजबाट चियाउनेबित्तिकै केटाकेटी पिङ खेल्न लाइन बसिसकेका हुन्थे। दिउँसो आमाहरु वर्षमा एकचोटि भुइँ छोड्नुपर्छ भनेर पिङ खेल्नुहुन्थ्यो । रातिरातिसम्म पनि युवाहरु पिङ्मै झुम्मेका हुन्थे। म पनि कहिलेकाहीँ त उनीहरुसँगै हुन्थें।
_x000D__x000D_
अचेल पिङ कम मानिस बढी हल्लिन्छन्। पिएरै हल्लिन्छन्। हल्लिँदै पिउँछन्। पिङ संस्कृतिको रौनक विस्तारै हराउँदै गएको भान हुन्छ। कुनै दिन पिङ एउटा मिथक साबित होला भन्ने सम्भावना पनि देखिन्छ।
_x000D__x000D_
हामी केटाकेटी छँदा मुस्किलको अर्को नाम जस्तो थियो दसैं मनाउनु। हाम्रो परिवार हुँदा खाने परिवार नै थियो। जडाउरी लगाएर हुरी झरी खेपेको जिन्दगी बाँचेका थियौं हामीले। दिनभर काम गरेर साँझ घर फर्किंदा बाआमाले सँगै बोकी ल्याउने खुसीले हामी छोराछोरी रमाउँथ्यौं। हामी पनि काम गर्थ्याैं।
_x000D__x000D_
मेलापात जाने, ज्याला मजदुरी गर्ने, फूलचोकी वनबाट घाँसको भारी बोकेर शनिबारको बिदा मनाउने जस्ता काम गर्थ्याैं। बिहानै काममा जाने र हतारहतार फर्केर आधा गाँस मुखमा च्याप्दै दगुर्दै स्कुल गएको हिजो जस्तै लाग्छ।
_x000D__x000D_
दसैं आउनु हाम्रा लागि ताजा चिउरा चपाउन पाउनु थियो। अँधियामा खेती गरेको खेतबाट उत्पादन भएको धानलाई उसिनेर चिउरा बनाउन लगेको याद छ। भिजेको धानलाई केले कसरी थिच्छ होला र चिउरा बन्छ होला भन्ने कुराले म अचम्मित हुन्थें। त्यसो त हामी पनि थिचिएर चिउरा जिन्दगी बाँचेका रहेछौं भन्नेबारे अहिले हिसाब गर्दैछु। मासुका विभिन्न परिकार र गेडागुडीका साथमा चिउरा खाइन्थ्यो।
_x000D__x000D_
राँगा र कुखुराको मासुले घर मांसाहारीको गुफाजस्तो प्रतीत हुन्थ्यो। मैले कहिल्यै हत्या गरिनँ तर सँगसँगै सबैलाई साथ भने दिएँ। आजको दिनमा म भेजिटेरिएन हुँदा मनमा शान्ति छाएको छ। मैले मासु खानुपर्ने कारण दसैंका नाममा या अरु कुनै नाममा कुनै प्राणीको हत्या गरिनु पर्दैन।
_x000D__x000D_
आज फूलपाती। फूलको मात्र होइन पातको पनि फूल बराबर मूल्य हुने कुराले मलाई खुसी लाग्छ। जस्तो कि केराको पातमा हरेक साँझको मधुरो प्रकाशमा सबैजना बसेर भोज खाने गरेको सम्झनाले मलाई आनन्द लाग्छ। दसैंका चार दिन भात नखाने भन्ने हुन्थ्यो। सबै चाँजोपाँजो बाले मिलाउनुहुन्थ्यो।
_x000D__x000D_
त्यो भोज तयार पारेर परिवारमा दसैंको स्वाद भर्ने मेरा बा यतिखेर सशरीर यस धरतीमा नभएको यथार्थले भने नमीठो गरि चिमोट्छ। यतिखेर यी अक्षरहरु कम्प्युटरका किबोर्डमा थिचिरहँदा उनकै मुहार झलझली याद आइरहेछ। बासँगै निस्प्राण भइगयो दसैं
_x000D__x000D_
बाले प्राण त्यागेको असार महिनामा थियो। दसैं असोज महिनामा। शोकको आलो घडीमा हामीले दसैं खल्लो न खल्लो अनुभूति गरेका थियौं। त्यसपछि हाम्रो घरमा कुनै पनि दसैंमा त्यस्तो न भोज नै आयोजना भए न दसैं भनेर पुजाआजाको परिपाठ नै। विजयादशमीको दिनमा आमाको हातबाट टिका जमरा थापेर दसैंमा मुस्कुराउने क्रम भने जारी छ। मुस्कुराउँदै घर जानेको लस्कर राजधानीबाट गाउँतिर लम्केको छ। गाउँमा सबै जनाको भेट हुनसक्ने भनेकै कि त चुनावमा हो कि त यही दसैंमा हो।
_x000D__x000D_
दसैं भन्नेबित्तिकै मेरो मनमा आउने कुराहरुमा नयाँ लुगा लगाउन पाइने प्रसंग पनि पर्छ। नयाँ लुगा र जुत्ता लगाउन पाउनु हाम्रा लागि उल्लासको विषय थियो। हरेक दसैंमा स्कूल ड्रेस खरीद गर्ने र दसैंका लागि लुगा किनेको भनेर चित्त बुझाउने हामी थियौं। दसैं नआउने भए वा दसैंमा नै नयाँ लुगा किन्ने भन्ने व्यापारिक संस्कार नभएको भए आमा बालाई त्यो बोझ खप्नुपर्थेन। तर, त्यतिबेला भने केही नयाँ पाउँदा नै रमाइन्थ्यो।
_x000D__x000D_
जिन्दगीका सबैसबै दसैं मामाघर जाने रहर बाँकी राखेरै बित्यो। सानैदेखि मामाघर भनेसि हुरुक्क हुने म। किन हो त्यो मलाई थाहा छैन। तर पनि मामाघर जान भनेर सधैं रोइकराइ गर्थें। आमा, बा र दाजुहरु जाने तर म सानो भएका कारण जान नपाउने। मामाघर टाढा भएको र धेरै हिंड्नुपर्ने कारण देखाउँदै मलाई लैजान रोकिएको थियो।
_x000D__x000D_
एकदिन, आमा मामाघर जानुभयो। म पनि जान्छु भनेको त घरको मुल ढोकाबाट कसैले निस्कनै दिएनन्। मेरो पालो झ्यालबाट फाल हालेर भए पनि जान्छु भनेर आँट गरें। घरको पछाडिपट्टि भएको झ्यालबाट बारीको डिलमा टेक्न सकिन्छ कि भनेर हाम फालेको थिएँ, म त करेसामा एउटै डल्लो।
_x000D__x000D_
धन्न मेरा सबै अंग सकुशल नै रहेछन्। जुरुक्क उठेर दगुरें, दुखेको कुनै अनुभूति थिएन। आमा टाढै पुगिसक्नुभएको थियो भन्ने अनुमानले म दगुरें आमालाई भेट्न। करीब एक किलोमिटर जति दगुरेपछि एकजना गाउँकी आमाले मेरो बाटो छेकेर बडो मधुर लवजमा सम्झाउँदै फकाउँदै मलाई फिर्ता ल्याउनुभयो। म पनि कसोकसो कन्भिन्स भएछु। मनमनै अठोट गरें, अब कहिल्यै मामाघर जान्नँ।
_x000D__x000D_
त्यसयता म कहिल्यै मामाघर गइनँ पनि।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।